भूकम्प क्षेत्रमा राष्ट्रसंघीय निकायहरूको सहयोग

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले जाजरकोट र पश्चिम रुकुममा तीन दिनअघि आएको शक्तिशाली भूकम्प र सोमबारको शक्तिशाली परकम्पबाट भएको क्षतिप्रति चासो व्यक्त गरेको छ । नेपालस्थित राष्ट्रसंघीय एजेन्सीहरू राहतका लागि सक्रिय भएको पनि कार्यालयले जनाएको छ ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गर हाम्डीले राष्ट्रसंघीय एजेन्सीहरू सरकारी प्रयासलाई सहयोग गर्न पीडितकहाँ पुगेको बताइन् । ‘सरकारले भूकम्पपछि तत्कालै प्रभावकारी रूपमा  खोजी र उद्धार कार्य सुरु गरेको छ,’ उनले भनिन्, ‘कठिन भूगोल र परिस्थितिमा राष्ट्रसंघीय एजेन्सीहरू तथा मानवीय सहायता साझेदारहरू सरकारी प्रयासलाई सहयोग गर्न घटनास्थलमा छन् । उनका अनुसार राष्ट्रसंघीय एजेन्सीहरू खाद्यान्न, सेल्टर तथा स्वास्थ्य सामग्रीसहित प्रभावित ३ हजार घरमा पुगेका छन् । 

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले तत्कालै खान मिल्ने ६ मेट्रिक टन खाद्य पदार्थ पठाएको जनाएको छ । कुल ७५ सय व्यक्तिलाई तीन दिन खान पुग्ने खाद्य पदार्थ पु¥याइएको कार्यक्रमले जानकारी दिएको छ ।विश्व स्वास्थ्य संगठनले आपतकालीन स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जनाएको छ । युनिसेफले पनि आपतकालीन सामग्रीहरूको आपूर्ति गरेको जनाएको छ । विशेष गरी बालबालिका र परिवारका लागि सामग्री पठाएको युनिसेफको भनाइ छ । युनिसेफले आइतबारसम्म १०६७ सेट त्रिपाल, १३ सय थान कम्बल वितरण गरेको छ । थप तीन हजार सेट कम्बल वितरण गर्न लागेको छ । युनिसेफले पानी शुद्ध गर्ने पीयूष, हाइजिन किट, बाल्टी तथा वाटर स्यानिटेसन तथा अस्थायी शौचालयसमेत पठाएको जनाएको छ । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)ले महिलाहरूका लागि स्वास्थ्य सामग्री पठाएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले पनि थप स्रोत परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । क्षतिग्रस्त संरचनाको यकिन अध्ययनका लागि इन्जिनियरसहितको जनशक्ति जाजरकोट र पश्चिम रुकुम पठाउन लागिएको जनाएको छ । 

भूकम्पमा परी हालसम्म १५३ जनाको 
निधन भएको छ । घटनामा ७० जना पुरुष, ८३ जना महिलाको ज्यान गएको छ भने १३८ जना पुरुष तथा २०० जना महिला गरी ३३८ जना घाइते भएका छन् । सरकारी आँकडाअनुसार हालसम्म चार हजारभन्दा बढी घरहरूमा क्षति पुगेको छ ।

भारतबाट प्राप्त ११ टन राहत सामग्री प्रभावित जिल्ला पठाउन सुरु
 भारत सरकारले दिएको आपत्कालीन राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउन थालिएको छ । भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगन्ज विमानस्थलमा ल्याएको राहत सामग्री सोमबार बिहान–राति गरी दुई खेप जाजरकोट र रुकुम पश्चिम पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

पहिलो खेप पठाएको राहत सामग्री जाजरकोट र रुकुममा पुगिसकेको छ । भारतबाट आएको सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप पठाएको भारतीय राजदूतावासले जनाएको छ । राहत सामग्रीमा ६ सय २५ थान प्लास्टिक टारपोलिन र त्रिपाल छन् । त्यसैगरी, एक हजार थान स्लिपिङ ब्याग, एक हजार थान कम्बल, ठूलो साइजको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा ४८ प्रकारका अन्य सामग्री रहेको भारतीय दूतावासले जनाएको छ ।

१० करोडको चिनियाँ सामग्री रसुवा आइपुग्यो
चीनले घोषणा गरेअनुसार १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री रसुवा आइपुगेको छ । केरुङ नाकाबाट सोमबार राहत सामग्री आइपुगेको चिनियाँ राजदूतावासले जनाएको छ । राहत सामग्रीहरूमा २३सय पाल, २ हजार कम्बल, सात सय त्रिपाललगायत छन् । थप चिनियाँ सहायता आउने क्रममा रहेको दूतावासले जनाएको छ ।

सुझावित समाचार