बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण
बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या

सोमबार हत्या गरिएका कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)

बारामा ३५ दिनमा एक भारतीयसहित तीनजनाको हत्या भएको छ । सोमबार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)को हत्या भएको छ । त्यसअघि ९ असोजमा भारतीय नागरिक अजितकुमार सिंह र त्यसको अघिल्लो दिन ८ असोजमा पचरौता नगरपालिका– १ पिपरपातीका ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या भएको थियो ।

रूपेश र अजितको गोली प्रहारबाट तथा अमरेशको धारिलो हतियार प्रहारबाट हत्या भएको हो । ९ असोजमा बारा पुगेका भारतको मोतीहारी, दर्पा थाना– १ सुक्लहिया गाउँका अजितको पचरौता नगरपालिका– ६ लक्ष्मीनियास्थित पोखरीनजिक हत्या भएको थियो । उनको हत्यामा भारतको मोतीहारी जिल्ला, दर्पा थाना– १ सुक्लहियाका सुजितकुमार सिंह, चञ्चल पाँडे, मनीषकुमार सहनी र कामेश्वर सहनी संलग्न रहेको पाइएपछि पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोकासमेत बरामद गरेको थियो ।

अजितको हत्याको अघिल्लो दिन पूर्वसशस्त्र प्रहरी जवान अमरेशकुमार सिंहको हत्या भएको थियो । उनको शव फेला परेपछि प्रहरीले दुई भारतीय नागरिक राहुल साह र रामलाल महतोसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनको शव नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा फेला परेको थियो । 

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार एक महिनामा भएका तीन हत्या घटनामको मुख्य कारण व्यक्तिगत रिसइबी रहेको पाइएको छ । भारत र नेपालमा आउजाउ सहज रहेको र त्यही बाटो अपनाउँदै घटना भएको पाइएको उनले बताए । 

स्वर्णकारको हत्या आरोपमा १० जना पक्राउ

शिक्षक रूपेश स्वर्णकारको हत्या आरोपमा बारा प्रहरीले एक महिलासहित १० जनालाई पक्राउ गरेको छ । ती महिला बाल एकता विद्यालयकी पूर्वलेखापाल हुन् । उनले नै हत्याको योजना बनाएको हुन सक्ने प्रहरीको आकलन छ । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले पक्राउ पर्नेमा पाँच नेपाली र पाँच भारतीय रहेका छन् ।

‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हत्याको योजना ती महिला (पक्राउ परेकी)ले बनाएको हुन सक्ने देखिएको छ ।’ प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा आएका चारजनाको समूहको गोली प्रहारबाट स्वर्णकारको हत्या भएको थियो । नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेका थिए । तर, मोटरसाइकलको नम्बर खुलेको छैन ।

See More On

सुझावित समाचार