सुनसरीको बराहक्षेत्र– ११ स्थित पटवारा टोल शोकमा

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

छोरा इजरायल गएको २७ दिनमै मृत्युको खबर सुनेपछि आमा कैलाशदेवी अर्धचेत

इजरायलस्थित गाजा क्षेत्रमा हमास हमलामा २५ वर्षीय राजेशकुमार स्वर्णकारको ज्यान गएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ स्थित पटवारा टोल शोकमा छ । छोरा इजरायल गएको २७ दिनमै मृत्युको खबर सुनेपछि आमा कैलाशदेवी अर्धचेत छिन् । आफन्त र छिमेकीले उनलाई सम्झाइरहेका छन् । दाजु मुकेश घरिघरि भक्कानिन्छन् । बुबा पनि बोल्न सकेका छैनन् ।

राजेशले गाउँनजिकैको माउन्ट भ्यु स्कुलमा कक्षा ८ र इनरुवाको नवयुग एकडेमीबाट एसएलसी उत्तीर्ण गरेका थिए ।  विराटनगरस्थित शिक्षादीपबाट प्लस टु सकेका उनले उच्च शिक्षामा कृषि विज्ञानका लागि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर बहुमुखी क्याम्पसलाई रोजे । स्नातकको ४ वर्षमा आठाैँ सेमेस्टर सकेर इन्टर्नअन्तर्गत ‘लर्न एन्ड अर्न’ मार्फत अन्य विद्यार्थीसँगै उनी पनि इजरायल गए । 

जानुअघि घरमा पनि निकै छलफल भएको थियो । तर, ११ महिनाका लागि मात्र भएको र सिकाइसँगै केही कमाइ पनि हुने भएकाले परिवारले पनि स्वीकृति दियो । दाजु मुकेशले भने, ‘पासपोर्ट बुझाऊँ कि नबुझाऊँ भनेर पनि सोधेको थियो । कलेजले पठाएको इन्टर्न भएकाले बुझाउन भन्यौँ ।’ 

बुबा राजकुमार स्वर्णकार कोशी गाउँपालिकाको खानेपानीमा काम गर्छन् । यसबाहेक सामान्य खेतीपाती छ । चारैजना छोरालाई उनले दुःखसुख पढाए । चारमध्ये जेठो दाइ मुकेश बराहक्षेत्र नगरपालिकाका सबओभरसियर छन् । माइला दाजुले पनि इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गरेका छन् भने कान्छो भाइ भारतमा इन्जिनियरिङ अध्ययन गरिरहेका छन् ।

दुई दाजु र एक भाइले इन्जिनियरिङ पढ्दै गर्दा राजेशले भने अलि फरक सपना बोकेर कृषि विज्ञान रोजे । उनको चाहना थियो, कृषि विज्ञान सकेर नेपालमै कृषि पेसामा केही गरौंँ । कृषि क्षेत्रभित्रका विविध पाटामा केही सिक्नलाई २८ दिनअघि निस्किएका राजेशको सपना इजरायलमा हमासको हमलाले पूरा हुन दिएन । साइलो छोरोको मृत्युको खबरपछि बुबा एकोहोरो टोलाइरहेका छन् । दाजु मुकेश सहानुभूति दिन आउनेसँग वेलावेला भक्कानिन्छन् ।  

बाल्यकालमा राजेशसँगै अध्ययन गरेका उनका साथी कलामुद्दिन अन्सारीले टोलकै इमानदार, सहयोगी र मिहिनेती साथीको मृत्युको खबरपछि दु:खी भएको बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी निरीक्षक विपिन रेग्मी, जनप्रतिनिधिलगायतको टोलीसमेत सोमबार दिउँसो परिवारको अवस्था बुझ्न र सहानुभूति दिन पुगे  । प्रजिअ पाण्डेले शव नेपाल ल्याउन पहल गर्ने बताइन् ।

See More On

सुझावित समाचार