बच्चाको बढ्दो उमेरमा पर्याप्त निद्रा पुग्नुपर्छ । उमेरअनुसार बच्चाहरू सुत्ने समय पनि फरक हुन्छ । भर्खर जन्मिएका बच्चा धेरै समय सुत्ने गर्छन् । उनीहरू २४ घन्टामा २० घन्टै सुत्ने गर्छन् । बिस्तारै उमेर बढ्दै गएपछि सुत्ने समय पनि घट्दै जान्छ । पाँच वर्षको उमेरमा आइपुग्दा बच्चाहरू १० घन्टा सुत्छन् ।
बालबालिका कम्तीमा आठ घन्टाचाहिँ सुत्नैपर्छ । तर, कतिपय बच्चा पर्याप्त सुत्न सक्दैनन् । दिउँसोको समय धेरै सुत्ने पनि हुन्छन् । रातको समयमा निदाउन सक्दैनन् । अर्काे, रातको समय पटक–पटक उठ्ने पनि गर्छन् । सुत्ने–उठ्ने समय एउटै हुनुपर्छ । यो राम्रो संकेत होइन ।
बच्चामा निद्राका विभिन्न चरण हुन्छन् । हामी सुत्दा दिमागका विभिन्न कुराको प्रोसेसिङ भइरहेको हुन्छ । त्यो प्रोसेसिङले बालबालिकामा स्मरणशक्ति बढाउने काम गर्छ । इन्टेलिजेन्स बढाउने पनि आफ्नो ठाउँमा छ । सुतेको वेला बालबालिकालाई ‘स्ट्रेस’ कम हुन्छ । विभिन्न कारणले बच्चालाई अनिद्रा हुन्छ । राति सुत्दा घुर्ने समस्या देखियो भने पनि राम्रो संकेत होइन । बच्चालाई निद्रा परेन भनेर बुझ्नुपर्छ । बच्चामा यस्ता समस्या देखियो भने चिकित्ससँग सल्लाह लिन जरुरी हुन्छ ।
अनिद्राका लक्षण
- सुत्ने वेला झगडा गर्ने, झिजो मान्ने, निद्रा पर्न गाह्रो हुने ।
- कतिपय बच्चा बेडमा जान नमान्ने, टिभी हेरेर मात्रै बस्ने ।
- राति सुत्दा मुखले सास फेर्ने, घुर्ने, घोप्टो परेर सुत्ने ।
- दैनिक सुत्ने समय तालिका परिवर्तन भइरहनु । कहिले आठ घन्टा सुत्ने, कहिले चार घन्टा सुत्ने, कहिले ९ बजे सुत्ने, कहिले ११ बजे सुत्ने, समय पनि नमिल्ने हुन्छ ।
अनिद्राले निम्त्याउन सक्छ
- कतिपय बालबालिका राम्ररी निदाउन नसक्ने हुन्छ । पर्याप्त निद्रा नपुग्दा बच्चामा स्वास्थ्य समस्या आउन सक्छ ।
- निद्रा नपुग्दा बच्चामा झिजोपन आउने,
- झगडा गर्ने,
- खाना नखाने,
- स्कुल जान नमान्ने,
- पढ्न नसक्ने,
- स्मरणशक्ति कमजोर हुन्छ ।
- साना बालबालिकाको हकमा पिसाब पटक–पटक आइरहने अदि समस्या देखिन्छ ।
बच्चालाई राम्ररी सुताउन के गर्ने ?
- बुबाआमाले बच्चालाई पर्याप्त सुत्ने वातावरण निर्माण गर्नुपर्छ । बच्चाको दिनभर खेल्ने कोठा र सुत्ने कोठा एउटै हुनुहुँदैन । बेडरुममा निद्रा लागेपछि मात्रै लैजाने । कतिपय बच्चा आफैँ पनि बेडरुममा जाने गर्छन् ।
- निश्चित समय तालिका बनाइदिने । कहिले ९ बजे, ११ बजे, १२ बजे सुत्छ भनेर अभिभावकले बेवास्ता गर्नुहुँदैन । एउटा समय तालिका बनाउने ।
- दूध खुवाउने, तातो पानी खुवाउने अर्थात् अरू क्रियाकलाप गराउने गर्नुपर्छ ।
- सुत्ने कोठा हल्लाखल्ला वा धेरै लाइट हुनुहुँदैन । यस्तो वातावरण सिर्जना गर्यो भने बच्चाको निद्रामा समस्या आउँदैन ।
- बेडरुममा टिभी नराख्ने । सुत्ने रुममा उज्यालो लाइट राख्नुहुँदैन ।
- ठूला बच्चाले कोल्ड ड्रिंक्स खाने गर्छन् । जसले गर्दा बच्चाहरू राम्ररी सुत्दैनन् । चकलेट पनि खान दिनुहुँदैन । साँझ खान दियो भने क्याफिन हुन्छ । जसले राति गाह्रो हुन सक्छ ।
- दिनभरि सुत्ने बच्चा राति सुत्न मान्दैनन् । त्यसैले दिउँसो सुत्ने समय घटाउँदै जानुपर्छ ।