मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो देखिनेजस्ता समस्या आउन सक्छन् । स्क्रिन हेर्दा हामी धेरै कमपटक आँखा झिम्क्याउने भएकाले आँखामा सुक्खापन पनि हुन सक्छ । एकोहोरो रूपमा लामो समय स्क्रिनमा हेरेमा, आँखाले आराम पाएन भने आँखामा चस्मा नै लगाउनुपर्ने अवस्था आउन सक्छ । दैनिक चार घण्टाभन्दा धेरै समय स्क्रिन हेर्नुपर्ने भएमा ब्लु कट लेन्स लगाएर हेर्नुपर्छ ।
आँखालाई मोबाइल, कम्प्युटर, ल्यापटप र टिभीको स्क्रिनबाट जोगाउन विभिन्न उपाय अपनाउन सकिन्छ । २० मिनेट स्क्रिनमा काम गरेपछि कम्तीमा २० फिट टाढा रहेको कुनै वस्तुलाई २० सेकेन्डसम्म हेर्नुपर्छ, यसले आँखाका मांसपेशीहरूलाई तुरुन्तै आराम दिन्छ । जाडो महिनामा दुई र गर्मी महिनामा चार लिटर पानी पिउनुपर्छ ।
यसले शरीरलाई ओसिलो राख्नुको साथै आँखालाई सुक्खा हुनबाट जोगाउँछ । स्क्रिनमा हेर्दा हामी परेला झिम्क्याउन बिर्सन्छौँ, जसले गर्दा आँखा सुक्खा हुन्छ, सामान्यतया मिनेटमा १२–१५ पटक परेला झिम्क्याउनुपर्छ । स्क्रिन र आँखाबिच कम्तीमा २० देखि २४ इन्च (कम्तीमा एक हातको दूरी)को अन्तर राख्नुपर्छ ।
स्क्रिनको माथिल्लो भाग आँखाको तहभन्दा अलि तल हुनुपर्छ । स्क्रिनको उज्यालो कोठाको उज्यालोअनुसार मिलाउनुपर्छ, कोठा अँध्यारो र स्क्रिन धेरै उज्यालो हुनुहुँदैन । फोन वा ल्यापटपमा डार्क मोड अन गरेर काम गर्नुपर्छ, यसले हानिकारक नीलो प्रकाश कम गर्छ ।
झ्याल वा बत्तीको उज्यालो सिधै स्क्रिनमा परेर टल्किने समस्या छ भने स्क्रिनको दिशा फेर्नुपर्छ वा स्क्रिन गार्ड प्रयोग गर्नुपर्छ । आँखा एकदमै सुक्खा भएमा वा पोलेमा डाक्टरको सल्लाहअनुसार (आँखाको थोपा) प्रयोग गर्न सकिन्छ ।
(डा. सञ्जीव भट्टराई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ हुन्)