दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमेरका बालवालिका छन् । भूगोलको दृष्टिले मधेशमा यो समस्या धेरै छ । युनिसेफका अनुसार विश्वमा बर्सेनि साढे सात लाख व्यक्तिको डढेर मृत्यृ हुन्छ, जसमा पटाका एक मुख्य जिम्मेवार कारण हो । पटाकामा एउटा आवाज र अर्को पड्काइ वा ब्लास्टको प्रभाव हो ।
तिखो आवाजले फिर्ता हुन नसक्ने गरी कानको भित्री नसा कमजोर हुन सक्छ । पड्काइले कानको जाली फुट्न सक्छ जुन आफैँ वा शल्यक्रियाद्वारा ठिक हुन्छ । त्यस्तै, कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ । ५० डेसिबलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिबल बढीले कानको पर्दालाई नोक्सान तथा श्रवणशक्ति गुम्न सक्छ । पटाकामा भएको नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियमलगायत हानिकारक प्रदूषकले ब्रोङकाइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछ । सास र दमको समस्या हुनेहरू धुवाँबाट बच्नुपर्छ जसका लागि घरभित्रै बस्ने, बाहिर निस्कँदा मास्क लगाउने तथा दमको औषधि साथमै राख्नुपर्छ ।
पटाकाका कारण जलिहाले जलेको भाग तुरुन्त चिसो सफा पानीमा डुबाउनुपर्छ, तेल वा घिउ लगाउनुहुँदैन । तिहारका वेला पटाका चलाउँदा, दियो बाल्दा तथा खाना बनाउँदा प्रायः दुर्घटना हुन्छ, तसर्थ प्राथमिक उपचारका लागि फर्स्ट एड बक्स घरमा राख्नुपर्छ । पटाकाका कारण आँखामा कुनै कण परे तुरुन्त सफा पानीले धुनुपर्छ । असजिलो महसुस भए चिकित्सकलाई देखाउनुपर्छ । पटाका पड्काउँदा बारुदका कण हावामा फैलिँदा बालबालिकामा केही समय सास फेर्न अप्ठ्यारो हुने, आँखा, नाक सुक्खा हुन थाल्ने हुन्छ ।
पटाकाको खराबीबाट बच्न बच्चालाई अभिभावकले प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । बढी शक्तिशाली, आगो वा प्रकाश निस्कने पटाका दिनुहुँदैन । आठ वर्षभन्दा कमका बालबालिकालाई आफैँ फुलझडी वा टर्च सल्काउन दिनुहुँदैन । बच्चालाई प्रकाशवाला पटाका मात्र प्रयोग गर्न दिनुपर्छ । खुकुला लुगा लगाउन दिनुहुँदैन । पटाका, फुलझडी, अनार, आतिसबाजीजस्ता पदार्थ पड्काउन अघि खुला ठाउँ रोज्नुपर्छ । वरपरमा पेट्रोल, डिजल, मट्टीतेल, ग्यास सिलिन्डरजस्ता प्रज्वलनसिल पदार्थ हुनुहुँदैन । पटाका गुणस्तरको, उमेर अनुकूलको तथा राम्रो ब्रान्डको हुनुपर्छ । आगो सल्काउन मैनबत्ती वा लामो सिन्का प्रयोग गर्नुपर्छ । पटाका आफूभन्दा टाढा राख्ने, एकपटकमा एउटा मात्र सल्काउने तथा पटाका जाने दिशाका बारेमा यकिन गर्नुपर्छ । एकपटक सल्काइसकेको पटाका नपड्के तुरुन्तै हातले छुने, पुन सल्काउने गर्नुहुँदैन । फर्स्ट एड बक्स घरमा राखी कुनै दुर्घटना भए प्राथमिक उपचार गर्नुपर्छ ।
विस्फोटक पदार्थ ऐनअनुसार पटाका आयात, बेचबिखन गर्न प्रतिबन्धित छ र नियमविपरीत पाइए दुई वर्ष कैद र २० हजार जरिवाना छ । एकातिर आयात, बेचबिखन तथा पड्काउने सबैखाले प्रवृत्ति निरुत्साहित गरिनुपर्छ भने अर्कोतिर थोरै असावधानीका कारण खुसी, उमंग लिएर आउने चाडपर्व क्षणभरमै दुःखद अवस्थामा परिणत हुन सक्छ । अभिभावक सावधान रहनुपर्छ ।
(डा. बुढाथोकी वीर अस्पतालमा कार्यरत छन् ।)