दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र वर्षभरिको व्यस्तताबाट विश्राम लिने अवसर पनि हो दसैँ । दसैँमा लामो बिदा हुने भएकाले नयाँ गन्तव्यमा घुमफिर गर्ने चलन पनि बढ्दै गएको छ । तर, घुमफिरको बढ्दो आकर्षणसँगै यात्रा व्यवस्थापन, सडक सुरक्षा, पर्यावरण संरक्षणबारे पनि उत्तिकै सचेत बन्नुपर्छ । विशेषगरी बाढीपहिरोले सडक तथा पूर्वाधारमा क्षति पुर्याएको अवस्था छ । त्यसैले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिनु अनिवार्य छ ।
समयअनुसार गन्तव्य
घुमफिरको योजना बनाउँदा सबैभन्दा पहिले कति दिनको बिदा छ भन्ने निश्चित गर्नुपर्छ । लामो बिदा छ भन्दैमा धेरै ठाउँ समेट्नुभन्दा सीमित गन्तव्यमा पर्याप्त समय बिताउनु राम्रो हुन्छ ।
सडकको अवस्था
दसैँको समयमा सडकमा सवारीसाधनको चाप बढ्ने गर्छ । बाढीपहिरो, सडक भासिने समस्या, मर्मत तथा निर्माण कार्यले यात्रा प्रभावित हुन सक्छ । त्यसैले घरबाट निस्कनुअघि ट्राफिक प्रहरी, सडक डिभिजन वा स्थानीय प्रशासनबाट सडकको पछिल्लो अवस्था बुझ्नुहोस् । पुरानो मितिको सामाजिक सञ्जाल पोस्ट वा अपुष्ट सूचनाका आधारमा मात्र यात्रा तय नगर्नुहोस् ।
मौसमबारे जानकारी
पहाडी तथा हिमाली क्षेत्रमा मौसम छिटो परिवर्तन हुन सक्छ । वर्षा, कुहिरो, पहिरो वा नदीको बहाब बढ्ने सम्भावनाले यात्रामा असर पार्न सक्छ । यात्रामा निस्कनुअघि मौसम पूर्वानुमान हेर्नुहोस् र प्रतिकूल अवस्था देखिएमा योजना परिवर्तन गर्न तयार बन्नुस् ।
यथार्थपरक बजेट योजना
यात्राको खर्चमा यातायात, होटेल, खाना, प्रवेश शुल्क, स्थानीय यातायात र अन्य गतिविधिको लागत समेट्नुहोस् । आकस्मिक खर्चका लागि पनि केही रकम छुट्याउँदा झनै राम्रो । सामाजिक सञ्जालमा देखिएको सस्तो प्याकेजमा तुरुन्तै भुक्तानी गर्नुभन्दा सेवा प्रदायकको विश्वसनीयता, समावेश सुविधा र रद्द गर्ने सर्तबारे जानकारी लिनुस् ।
होटेल र यातायात अग्रिम बुकिङबारे बुझ्नुस्
दसैँमा धेरै मानिस घुमफिरमा निस्किने भएकाले लोकप्रिय गन्तव्यका होटेल र यातायातमा चाप बढ्न सक्छ । त्यसैले सम्भव भएसम्म अग्रिम बुकिङ गर्नुपर्छ । होटेलको वास्तविक स्थान, सुविधा, मूल्य, पार्किङ र रद्द गर्ने सर्त बुझ्नुस् । बुकिङको पुष्टि तथा भुक्तानीको प्रमाण सुरक्षित राख्नुहोस् ।
परिवारलाई प्राथमिकता
बालबालिका, ज्येष्ठ नागरिक वा विशेष सहायता आवश्यक पर्ने व्यक्तिसँग यात्रा गर्दा उनीहरूको सहजता र स्वास्थ्यलाई ध्यान दिनुहोस् । धेरै हिँड्नुपर्ने वा लामो समय सवारीसाधनमा बस्नुपर्ने कार्यक्रम कम गर्नुहोस् । पर्याप्त आराम, नियमित औषधि र आवश्यक सुविधाको व्यवस्था गर्नुहोस् ।
खाना र पानीमा सावधानी
यात्राका क्रममा सुरक्षित पिउने पानी प्रयोग गर्नुहोस् । सफा र स्वच्छ ठाउँमा तयार गरिएको खाना खानुहोस् । लामो समय खुला राखिएको वा अस्वच्छ देखिने खाना नखानुहोस् । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकको खानपानमा ध्यान दिनुहोस् ।
प्रकृतिको संरक्षण
घुमफिरमा निस्कँदा प्लास्टिक तथा अन्य फोहोर जथाभावी नफाल्नुहोस् । फोहोर छुट्याउने व्यवस्था भए पालना गर्नुहोस् । पानी र ऊर्जाको अनावश्यक प्रयोग नगर्नुहोस् । नदी, ताल, वन तथा पदमार्गको स्वच्छता कायम राख्नु प्रत्येक यात्रुको जिम्मेवारी हो ।
(ढुंगाना पथप्रदर्शक हुन्)
प्रस्तुति : मीनराज बसन्त