- मानव स्वास्थ्यका लागि हानिकारक विषादीमध्ये १३ वटा विषादी बेमौसमी हरियो तरकारीमा भेटिएको विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा खाद्य तथा गुण नियन्त्रण विभागद्वारा गरिएको सर्भेमा देखिएको छ ।
दैनिक ताजा तरकारी र फलफूलको उपभोग गर्दा हुने फाइदाका बारेमा हामी सबै अनभिज्ञ छैनौँ, तर यिनमा मिलाइने विभिन्न रङ मानिसको मृत्युको कारक बन्दै छ । अक्सिटोसिनको एक सुई वा मात्राले एक किलोको तरबुजा २४ घण्टामै ५/६ किलोसम्म बढाइदिन्छ । पशुबाट बलजफ्ती दुध निकाल्छ, त्यसले पुरुषलाई पूर्ण नपुंसक बनाइदिन सक्छ । यस्ता नक्कली विषालु तेल, फलफूल र चियापत्तीले मिर्गौलालाई नोक्सान पुर्याउने, आँखाको ज्योति गुम्ने, प्यारालाइसिस हुने र क्यान्सरसम्म हुन सक्दछ । निरन्तर खाएमा गर्भ नष्ट हुने, अपांग बालबालिका जन्मने, अस्वाभाविक वृद्धि, समयपूर्व नै रजस्वला, महिलामा दाह्रीजुँगा निस्कन सक्छ । नेपालमा अक्सिटोसिन स्प्रेका रूपमा खुलमखुला उपलब्ध छ र किसानले प्रयोग गरिरहेका छन् ।
मानव स्वास्थ्यका लागि हानिकारक विषादीमध्ये १३ वटा विषादी बेमौसमी हरियो तरकारीमा भेटिएको विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा खाद्य तथा गुण नियन्त्रण विभागद्वारा गरिएको सर्भेमा देखिएको छ । देशका २० जिल्लाका विभिन्न स्थानबाट पकाएर खान ठिक्क पारिएका नमुना सन् २००९ र १० मा दुई वर्ष संकलन गरी भारतको हैदरावादको भिम्टा/मिग्दा ल्याबमा जाँच गरिएको थियो । दैनिक प्रयोगमा आउने आठ प्रकारका खाद्यपदार्थ आलु, काउली, भन्टा, परवर, गोलभेँडालगायतमा विश्व स्वास्थ्य संगठनले प्रयोगमा प्रतिबन्धित गरेको इन्डोसल्फेनसमेत पाइएको थियो, जसले मिर्गौला बेकम्मा बनाउन सक्छ र क्यान्सरसमेत बनाउन सक्छ ।
हरियो तरकारीमा मालाथिन, पाराथिन, मिथाइल, क्लोरोसाइरिफोस, इन्डोसल्फेन, प्रोफेनोफोस, साइपरमेथ्रिन, लाम्बडा साइक्लोथ्रिनलगायतका १३ वटा हानिकारक रसायन थिए । इन्डोसल्फोन सबैभन्दा बढी खतरनाक हो, जसले क्यान्सर, ट्युमर, श्वासप्रश्वासजन्य, स्नायुजन्य रोग, नपुंसकजस्ता २५ किसिमका रोग ल्याउँछ । यस्ता रासायनिक मल र कीटनाशक विषादीको बढी प्रयोग धेरै गम्भीर रोगको कारण बन्न सक्छ । माटोको उर्वरा घटाउँछ, कृषि उत्पादनमा ह्रास ल्याउँछ । तसर्थ यस्ता सागपात एवं तरकारी काँचै खानु स्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक त छँदै छ, पकाएरै खाँदा पनि विषादीका कारण असर गर्न सक्छ ।
तरकारी र बालीमा लाग्ने रोग र किराबाट जोगाउन किसानले अत्यधिक विषादी प्रयोग गर्छन् । औषधि छर्किसकेपछि तीनदेखि २१ दिनपश्चात् मात्र खानयोग्य हुन्छन् । तर, तरकारी, फलफूल बजारमा पुर्याउने मापदण्डबारे अज्ञानता र लापरबाही हुने गर्छ । कृषि प्राविधिज्ञको पहुँच छैन । विषादी प्रयोगको विकल्प दिइएको छैन । अर्गानिक खेतीको सचेतना छैन । छोटो समयमै सम्पन्न बन्न खोज्ने पनि प्रशस्त छन् । तसर्थ खतरनाक औषधि प्रयोग गर्ने र गरिएका फलफूल, तरकारी सेवन गर्नबाट रोक्न एकातिर कडा नियम कानुन, अनुगमन र नियन्त्रणका निम्ति सरकार नै अगाडि बढ्नुपर्छ भने अर्कातिर उपभोक्तामा सचेतना जगाउन जरुरी छ ।
(डा.बुढाथोकी वीर अस्पतालमा कार्यरत छन्)