एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबार सुरु हुँदै छ । दुईदिने बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभारबारे छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पोलिटब्युरो बैठकको व्यवस्थापनको तयारीबारे शनिबार सचिवालय बैठकमा छलफल भएको उनले बताए । सचिवालय सदस्य रामचन्द्र झाका अनुसार अध्यक्ष माधवकुमार नेपालले बैठकमा वर्तमान परिस्थितिबारे संक्षिप्त संशोधन गरेका छन् । उनले गठबन्धन दलहरूबीच अविश्वास नरहेको बताए । यद्यपि, सानातिना असन्तुष्टि हुनु भनेको स्वाभाविक भएको नेपालको भनाइ थियो ।
‘गठबन्धनमा पनि खासै समस्या छैन । पार्टीमा पनि समस्या छैन । सानातिना असन्तुष्टि हुन सक्छन्, त्यसलाई पनि व्यवस्थापन गर्दै लानुपर्छ,’ नेपालको भनाइ थियो । नेपालले आइतबार समाजवादी मोर्चाको बैठक बस्ने पनि जानकारी दिए । ‘आइतबार बिहान ११ बजे हाम्रो पोलिटब्युरो बैठक सुरु हुन्छ । साँझ ६ बजे समाजवादी मोर्चाको बैठक बोलाइएको छ,’ नेपालले बैठकमा भने ।
पोलिटब्यूरो बैठकपछि ५, ६ र ७ भदौमा केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले महाधिवेशनबारे निर्णय लिने नेताहरूले बताएका छन् । महाधिवेशनले विचार, नीति, सिद्धान्तलाई स्पष्ट पार्ने र कार्यान्वयनका लागि नेतृत्व चयन गर्ने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘महाधिवेशनबाट विचार, नीति र सिद्धान्तलाई हामी सुस्पष्ट बनाउँछौँ । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोक्छ । विचार, नीति र सिद्धान्तलाई सुस्पष्ट बनाएर महाधिवेशनले नयाँ नेतृत्व निर्माण गर्छ,’ सचिवालय बैठकपछि खनालले भने ।