कर्णालीको हवाई अवरोध तीन दिनभित्र खुलाउने मन्त्री किराँतीको प्रतिबद्धता

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कर्णालीलगायत दुर्गम क्षेत्रमा देखिएको हवाई उडानको समस्या तीन दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको अवस्थालाई देखाउँदै दिउँसो साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय गरेका कारण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छ। यो अवधिमा अस्पतालले रिफर गरेर पनि हवाई जहाज र हेलिकोप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु भएको छ।

विमान उडान नखुल्दा सर्वसाधारणले थप समस्या भोग्नुपरेको भन्दै बुधबार मन्त्रालय पुगेर जुम्लाकी सांसद छिरिङ लामा, प्रदेश सांसद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानियाँ, छक्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायालगायतले ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा पूर्वमन्त्री बानियाँले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। ‘सडक यातायातसमेत नपुगेको कर्णालीमा जहाज र हेलिकोप्टरले जनतालाई सेवा दिइरहेका छन्, अहिले त्यसैलाई हतोत्साही गर्ने गरी नियम ल्याइएको छ,’ बानियाँले भने, ‘यदि यो नियम सच्चिएन भने हामी जस्तोसुकै कठोर आन्दोलन गर्न बाध्य हुनेछौँ।’

माओवादी केन्द्रकी नेतृ भीमा केसी बन्जाराले प्राधिकरणसमक्ष पटक-पटक अनुरोध गर्दा पनि उडान सुचारु गर्ने कुरामा ध्यान नदिएको गुनासो गरिन्। सरकारले जनताको हितलाई केन्द्रमा राखेर समस्याको तुरुन्त समाधान गर्नुपर्ने उनको भनाइ थियो।

सुझावित समाचार