१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Saturday, 10 May, 2025
२o८o श्रावण ३१ बुधबार १७:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमित उडान नहुँदा रिफर गरिएका चार बालकको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार १७:१o:oo

मुगुको सोरु गाउँपालिका– ११ धैनाकोटकी ७५ वर्षीय सुज्जा मल्लले नेपालगन्जबाट बाजुराका लागि जहाजको टिकट लिएको १२ दिन बित्यो। काठमाडौंबाट नेपालगन्ज आएको १४ दिन भइसकेको भन्दै उनी बिलौना गर्दै थिइन्।

नागरिक उड्डयन प्राधिकरणले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै जहाजको उडान भर्न पाउने नयाँ तालिका लागू गरेको छ। तर, हुम्लालगायत दुर्गम जिल्लामा प्रायः बिहान मौसम नखुल्ने हुँदा उडान भर्न समस्या हुन्छ, जसका कारण आमनागरिकले सास्ती पाएका छन्।

‘दिउँसो मौसम खुले पनि फ्लाइट हुँदैन। बिहान मौसम नै खुल्दैन,’ विमानस्थलमा भेटिएकी मल्लले नयाँ पत्रिकासँग भनिन्, ‘सुगमले दुर्गमका दुःख बुझेन। झन्डै दुई हप्ता होटेलमा बस्नुपर्दा साथमा भएको १६-१७ हजार रुपैयाँ सकिएको उनको भनाइ छ।

सिमकोट गाउँपालिका– ५ की बाँचु सुनारले पनि जहाजको टिकट लिएको पाँच दिन भयो। उनको पनि उस्तै दुखेसो छ। दिनदिनै एयरपोर्ट आउँदै फर्कनुपरेको सुनारले सुनाइन्। ‘छोरीलाई बाथरोगको उपचार गर्न ल्याएको हुँ। चेकजाँच गरेर हुम्ला जान टिकट लिएको पाँच दिन भयो,’ उनले भनिन्।

बाजुराको बुढीनन्दा नगरपालिका– २ कोल्टीकी सीता गिरिलाई पनि घर फर्कन हतार छ। तर, जहाजको ठेगान नहुँदा उनको पनि अवस्था उस्तै छ। ‘गाडी चढेर जान पनि पहिरोले बाटो अवरुद्ध छ। बाजुरा पुग्नै मुस्किल भयो,’ गिरीले भनिन्।

उडान नहुँदा रेफर गरिएका चार बालकको मृत्यु
प्राधिकरणले दिउँसोको उडान रोक्दा हुम्लाका नागरिकले जहाजको पर्खाइमै ज्यान गुमाइरहेका छन्। नियमित उडान नहुँदा पछिल्लो एक महिनाको अवधिमा चार बालकाले अकालमै ज्यान गुमाएका छन्। जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा उपचार अभावमा उनीहरूको ज्यान गएको हो।

सिमकोट गाउँपालिका– ६ माथिल्लो गाउँका ६ महिनाका इमरन सुनार, सिमकोट– ७ डाँडाफयाँका सात महिनाका रोहित शाही, खार्पुनाथ गाउँपालिका– १ लालीका १७ महिनाका आर्यन परियार र चंखेली गाउँपालिका– ४ का पाँच महिनाका सन्देश लुवारले उपचार अभावमा ज्यान गुमाएका जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहराले जानकारी दिइन्। हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीहरूलाई जिल्लाबाहिर लैजान सकिएको छैन।

प्राधिकरणले मनसुन अवधिभर दुर्गम उडानमा कडाइ गरेपछि कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका नागरिक मर्कामा परेका छन्।

निर्णय फिर्ता लिन माग गर्दै एमालेद्वारा प्रदेश सभा अवरोध
प्राधिकरणले निर्णय नसच्याएसम्म कर्णाली प्रदेश सभा चल्न नदिने नेकपा एमालेको अडान छ। दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय फिर्ता नलिएसम्म प्रदेश सभा चल्न नदिने एमालेले अडान लिएको हो।

सोमबारको बैठकमा एमाले प्रदेश संसदीय दलका नेता यमलाल कँडेलले बाढी पहिरो डुबान र हवाई सेवासम्बन्धी समस्या समाधानको ठोस योजनासहित मुख्यमन्त्री राजकुमार शर्मा संसदमा प्रस्तुत हुनुपर्ने माग राखेका थिए। माग पूरा नभएको भन्दै मंगलबार एमालेले प्रदेश सभा बैठक अवरोध गरेको थियो।