१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २९ सोमबार o९:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुर्घटना कम गर्न स्टल उडानमा कडाइ : क्यान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार o९:५६:oo

दुर्गम उडानमा जहाजलाई बादलभित्र लैजाँदा दुर्घटना बढेपछि भिज्युअल फ्लाइट रुल्स (भिएफआर) उडानमा कडाइ गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दाबी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी क्यानका महानिर्देशक प्रदीप अधिकारीले ९० प्रतिशतभन्दा बढी हवाई दुर्घटना जहाज बादलभित्र छिरेकै कारण भएको दाबी गरे ।

भिएफआर उडानमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको मापदण्डविपरीत पाइलटले इनरुटमा मौसम बिग्रिँदा पनि जोखिम मोलेर उडान गर्दा दुर्घटना बढेको क्यानको जिकिर छ । ‘मनसुनमा अधिकांश दुर्घटना जहाज बादलभित्र छिरेकै कारण भएको दुर्घटना अध्ययन प्रतिवेदनले देखाएको छ,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘हामीले भिएफआर उडानमा आइकाओको बेसिक नियम पालना गराउन खोजेका हौँ, जनतालाई दुःख दिन खोजेको पटक्कै होइन ।’

दिउँसोको समयमा दुर्गम क्षेत्रको उडान रोकेको भन्दै कर्णालीका व्यवसायीदेखि सांसदसम्म उडान खुलाउन लबिङ गरिरहेका छन् । मनसुनमा छिटो–छिटो मौसम परिवर्तन हुने हुँदा उडान सुरक्षामा सबै सचेत हुनुपर्ने क्यानको जिकिर छ । ‘भिएफआर उडानमा जहाज बादलबाट दायाँ–बायाँ, अगाडि–पछाडि कम्तीमा १५ सय मिटर टाढा हुनुपर्छ, बादलबाट जहाजको भर्टिकल दूरी कम्तीमा तीन सय मिटर हुनुपर्छ, भिएफआर उडानमा जहाज अवतरणका लागि पाँच किलोमिटर भिजिबिलिटी हुनुपर्छ,’ भुलले भने, ‘तर, वायुसेवा कम्पनीहरूले इनरुटमा एक्कासि बिग्रिने मौसमलाई बेवास्ता गर्दै जहाजलाई बादलभित्र छिराउँदा दुर्घटना निम्तिने गरेको छ ।’

स्थानीय मौसमको ‘प्याटर्न’ हेरेर आन्तरिक विमानस्थल सञ्चालन निर्देशिका २०८९ बमोजिम ‘अप्रेसन आवर’ तोकेको क्यानले जनाएको छ । ‘हामीले पूरै समय उडान रोकेको होइन, स्थानीय मौसमको अवस्था हेरीकन कमर्सियल फ्लाइट जोखिमयुक्त समयमा रोकेको हो,’ भुलले भने, ‘मनसुनमा उडानमा कडाइ गरेको पहिलोपटक पनि होइन, यसअघि पनि दुर्गमका धेरै विमानस्थलमा मनसुनमा उडान बन्द हुन्थे ।’

मनसुनमा पनि उद्धार उडान, इमर्जेन्सी उडान, ढुवानीलगायत विशेष प्रकृतिका उडानलाई मौसम राम्रो भएको खण्डमा समयसीमाको रेस्ट्रिक्सन नलगाएको क्यानको जिकिर छ । नेपालमा सामान्यतया १३ जुनदेखि २ अक्टोबरसम्म एक सय १२ दिन मनसुन हुने गर्छ । विगतमा जोमसोम, ताप्लेजुङ, सोलुखुम्बुलगायत ठाउँमा जहाज तथा हेलिकोप्टर दुर्घटनामा मुख्य कारण इनरुट मौसममा खराबी देखिएको छ । भुलले भने, ‘हेलिकोप्टर वा जहाजले उद्धार तथा इमर्जेन्सी उडान गर्न माग गरेमा मौसम राम्रो हुँदा कुनै पनि विमानस्थल कार्यालयले रोक्दैनन् ।’