वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई दिइने राहत दोब्बर बनाउने तयारी

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु वा दुर्घटना हुँदा प्रदान गरिने आर्थिक सहयोग दोब्बर बनाइने भएको छ । वैदेशिक रोजगार बोर्डका अध्यक्षसमेत रहेका श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको २१ साउनको  बैठकले राहत रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

राहत रकम दोब्बर बढाउने सैद्धान्तिक सहमति भए पनि सोसम्बन्धी अध्ययन गर्न श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरिने निर्णय भएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए । सो कमिटीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, व्यवसायीका तर्फबाट एकजना, विज्ञ एकजना र मजदुर संगठनका एकजना प्रतिनिधि सदस्य हुनेछन् । साथै, कमिटीमा बोर्डका कार्यकारी निर्देशक पनि रहनेछन् । 

बोर्डले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकलाई प्रदान गरिने रकम, मृतक श्रमिकलाई छोराछोरीलाई दिने छात्रवृत्ति रकम, मृतकका आमाबुबालाई दिइने स्वास्थ्य सुरक्षा रकम र श्रमिक दुर्घटना भएर फर्कँदा दिइने रकममा पनि वृद्धि गर्ने निर्णय गरेको उनले बताए । तर, कति रकम बढाउने भन्ने अन्तिम निर्णय कमिटीले बुझाएको प्रतिवेदनका आधारमा हुने उनले बताए । ‘राहत रकम दोब्बरले वृद्धि हुने सम्भावना छ,’ उनले भने । 

 कल्याणकारी कोषको रकम पनि बढाइने
वैदेशिक रोजगार बोर्डले श्रमिकलाई प्रदान गर्ने राहत रकमको साथमा कल्याणकारी कोषमा जम्मा गरिने रकम पनि बढाउने भएको छ । वैदेशिक रोजगार बोर्डबाट श्रम स्वीकृति लिएर गएका श्रमिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ । खाडी र मलेसिया जाने श्रमिकले १५०० रुपैयाँ जम्मा गर्नुपर्छ भने जापान र कोरिया जाने श्रमिकले २५०० बुझाउनुपर्छ । 

राहत रकम दोब्बर बनाइने भएपछि कोषमा भुक्तानी गर्ने रकम पनि वृद्धि हुने बोर्डका कार्यकारी निर्देशक डा. उप्रेतीले बताए । उनका अनुसार खाडी र मलेसिया जाने श्रमिकबाट तीन हजार र जापान, कोरिया जाने श्रमिकबाट पाँच हजार रकम संकलन गरिनेछ । ‘राहत रकम बढाउने भएपछि कल्याणकारी कोषमा जम्मा गरिने रकम अनिवार्य रूपमा बढाउनुपर्छ । अन्यथा कोष खाली हुन सक्छ,’ उनले भने । 

वैदेशिक रोजगार ऐन २०६४ बमोजिम सो रकम श्रमिकको राहत, उद्धार कार्यमा खर्च गरिनुपर्ने व्यवस्था छ । हाल कल्याणकारी कोषमा पाँच अर्ब ३५ करोड जम्मा भएको बोर्डका कार्यकारी निर्देशक डा. उप्रेतीले बताए । अहिलेको व्यवस्थाअनुसार श्रम स्वीकृति अवधिभर श्रमिकको मृत्यु भएमा श्रमिकको परिवारलाई सात लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्छ । शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्‍याउन पनि बोर्डले नै सहयोग गर्छ । साथै, दाहसंस्कारका लागि परिवारलाई २५ हजार सहयोग दिन्छ । नियमावलीअनुसार बोर्डले मृतकका दुईवटा छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्छ ।

छात्रवृत्तिका लागि सामुदायिक विद्यालयतर्फ पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म र संस्थागत विद्यालयतर्फ नर्सरीदेखि १२ कक्षासम्ममा क्रमशः वार्षिक आठ हजार १२ हजार रुपैयाँ प्रदान गर्छ । त्यस्तै, बोर्डले मृतकका परिवारलाई स्वास्थ्य उपचारका लागि सहयोग गर्दै आएको रकम प्रदान गर्छ । कामदारलाई परिवारलाई क्यान्सर, मिर्गाैला प्रत्यारोपण, मुुटुको शल्यक्रिया, पार्किन्सन र अलजाइमर भएमा उपचारका लागि बढीमा ५० हजार दिने गरेको छ ।

इराकमा रहेका श्रमिकको पासपोर्ट नवीकरण गरिदिन एनआरएनको आग्रह
 गैरआवासीय नेपाली संघले इराकमा रहेको नेपाली श्रमिकहरूको पासपोर्ट नवीकरणको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन् । संघको एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर पासपोर्ट नवीकरण तथा पुनः श्रम स्वीकृतिको व्यवस्था गरिदिन ज्ञापनपत्र बुझाएका छन् ।

इराकमा रहेका नेपाली श्रमिकमध्ये करिब चार सयजनाको पासपोर्टको अवधि सकिएको छ । ती श्रमिकहरू जोखिममा परेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले बताए । त्यस्तै, संघले इराकमा लगाइएको प्रतिबन्धसमेत हटाउन मन्त्री साउदसँग आग्रह गरेका छन् ।

१९ वर्षअगाडिको घटनाका आधारमा सरकारले हालसम्म पनि इराकमा नेपाली श्रमिकलाई प्रतिबन्ध गरेको छ । तर, विभिन्न माध्यमबाट नेपाली श्रमिक इराक पुगेका छन् । कतिपय श्रमिक १९ वर्षअगाडिदेखि नै इराकमा बस्दै आएका छन् । अहिलेको अवस्थामा इराक सुरक्षित र नेपाली श्रमिकका लागि आकर्षण गन्तव्य भएकाले प्रतिबन्ध फुकाउनसमेत आग्रह गरिएको उनले बताए । उनले भने ‘इराकको अवस्था परिवर्तन भएको छ । अब सरकारले यसमा लगाइएको प्रतिबन्धका विषयमा सोच्नैपर्छ ।’ त्यस्तै, इराकलाई कतारस्थित नेपाली दूतावासअन्तर्गत राख्नसमेत संघले मन्त्री साउदसँग आग्रह गरेका छन् । अहिले कुवेतस्थित दूतावासले इराकलाई निगरानी गरिरहेको छ । 

सन् २००४ देखि नेपालले इराकमा रोजगारीका लागि जान नेपाली श्रमिकका लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो । तर, विभिन्न माध्यम हुँदै करिब २० हजारजना नेपाली इराक पुगेको गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए । सन् २००४ पछि इराकमा आप्रवासी श्रमिकलाई कुनै क्षति नभएको उनको भनाइ छ । 

इराकको कुर्दिस्तानमा १५ हजार र बगदादआसपासमा ६ हजार संख्यामा नेपाली श्रमिक छ । इराकका कतिपय सहर नेपालजस्तै शान्त रहेको बताउँदै नेपाली श्रमिकका लागि कुनै पनि जोखिम नभएको उनले स्पष्ट पारे । गैरआवासीय नेपाली संघले इराकमा रहेका श्रमिकलाई श्रम स्वीकृत प्रदान गर्नसमेत आग्रह गरेका छन् । इराकका श्रमिकले पनि नेपालमा नै रेमिट्यान्स पठाउँछन् । तर, श्रम स्वीकृति नहुँदा श्रमिकको मृत्यु भएमा शव ल्याउन कठिनाइ हुन्छ । दुर्घटना हुँदा उपचार गर्न पनि कठिनाइ हुने उनले बताए । 

 युरोपियन मुलुकमा दूतावास स्थापना गर्न आग्रह
नेपालीहरूका लागि नयाँ श्रम गन्तव्य बन्दै गएका युरोपियन मुलुकमा नेपाली दूतावास स्थापना गर्न गैरआवासीय नेपाली संघले माग गरेको छ । आप्रवासी श्रमिकको ठूलो माग रहेको युरोपेली मुलुकमा श्रम नियम राम्रो छ । तर, दूतावास नहुँदा त्यहाँ जाने नेपाली श्रमिक जोखिममा परेका छन् । ‘दूतावास नभएपछि व्यावसायिक रूपमा मागपत्र प्रमाणीकरण हुनसकेको छैन । यसले दलालले श्रमिक पठाउने गरेका छन्,’ उनले भने ।

सुझावित समाचार