एसिसी पुरुष इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले रक्षा गरिसकेको छ । कोलम्बोमा आइतबार भएको फाइनल खेलसँगै इमर्जिङ कप समाप्त भएको हो । प्रतियोगितामा सहभागी नेपाल भने श्रीलंकामै थप प्रशिक्षण गर्न १५ दिन बस्ने भएको छ । इमर्जिङ कपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । पाकिस्तान र भारतका ‘ए’ टोलीसँग नेपाल पराजित भएको थियो । नेपालले युएईलाई मात्र हराएको थियो ।
नेपाली सिनियर खेलाडीले पाकिस्तान र भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्दै अनुभव बटुले । श्रीलंकामै आयोजना हुने एसिया कपको तयारी र खेलाडीलाई थप एक्सपोजर बनाउन १५ दिनको थप अभ्यास गराउन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । इमर्जिङ कपमा सहभागी नभएका तीन खेलाडीलाई समेत कोलम्बोमा पठाउने तयारी क्यानले गरेको छ । इमर्जिङ कपमा आराम दिइएका करण केसी, ज्ञानेन्द्र मल्ल र आरिफ शेखलाई कोलम्बो पठाउन लागेको हो ।
क्यानडामा ग्लोबल टी–२० लिगमा सहभागी जनाउनका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने इमर्जिङ टोलीमा थिएनन् । सन्दीप र दीपेन्द्रसिंह क्यानडामा प्रतिस्पर्धा गरिरहेका छन् । यी दुवै खेलाडी सीधै एसिया कपको टोलीमा समावेश हुनेछन् । क्यानले थप तीन खेलाडीको भिसा प्रक्रिया पूरा भइसकेको जनाएको छ । क्यानले केही दिनभित्र नै उनीहरूलाई कोलम्बोमा प्रशिक्षणका निमित्त पठाउनेछ । यसैगरी, क्यानले टी–२० एसिया कप छनोटका लागि ६ खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ ।
श्रीलंका र पाकिस्तानमा खेल
भारत र पाकिस्तानबीचको राजनीतिक तनावले एसिया कप दुई राष्ट्रमा हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग पाकिस्तानको मुल्तान सहरमा खेल्नेछ । पाकिस्तान र नेपालबीचको प्रतिस्पर्धा प्रतियोगिताकै उद्घाटन खेलका रूपमा रहेको छ । त्यसपछि नेपालले भारतसँग श्रीलंकामा प्रतिस्पर्धा गर्नेछ । भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि प्रतियोगिताको आयोजना श्रीलंकामा हुन लागेको हो । नेपालले दोस्रो खेल १८ भदौमा भारतविरुद्ध खेल्नेछ । प्रतियोगितामा दुई समूह छन् । प्रत्येक समूहमा समान तीन राष्ट्र छन् । समूहबाट शीर्ष दुई–दुई राष्ट्र सुपर फोरमा पुग्नेछन् ।