प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताएका छन्। आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए।
त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बतउँदै उनले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए।
उनले भने, ‘एकपटक असफल भयो भन्दैमा विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहास विश्वभरकै समाजवादी आन्दोलनको इतिहास, एकता, संघर्ष, विभाजन, फेरि रुपान्तरण, फेरि एकता फेरि संघर्ष यस्तैमा गुज्रिँदै अघि बढेको छ। नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही नियमअनुसार नै अघि बढेको छ। आज हामीले फेरि एकपटक विचार गर्नुपरेको छ। सबैले चिन्तन गर्नुपर्छ। की हिजो के कारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन। अहिले कम्रेड माधवकुमार नेपाल, मलगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल सुरु गरेका छौँ। त्यतिबेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ।’