बाढीपहिरोको क्षतिबारे सदनलाई जानकारी

बेपत्ताको खोजी, घाइतेको उपचार, विस्थापितलाई राहत र पुनस्र्थापनामा ध्यान केन्द्रित रहेको गृहमन्त्रीको भनाइ

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी नेपालको पहाडी क्षेत्रमा बाढीपहिरोले भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभामा विशेष समय लिएर गृहमन्त्री श्रेष्ठले २ असारको रातिदेखि परेको अविरल वर्षाले पुर्याएको क्षतिबारे सदनलाई जानकारी गराएका हुन् । 

उनले बाढीपहिरो र डुबानबाट संखुवासभा, ताप्लेजुङ र पाँचथरमा सबैभन्दा बढी क्षति भएको बताए । उनका अनुसार हालसम्म दशजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका र २६ जना बेपत्ता रहेका छन् ।

५४ घर पूर्ण रूपमा क्षति भएको छ । सबै बेपत्ताको खोजी कार्यमा तीव्रता दिइएको र प्रभावितको उद्धार र राहत वितरण कार्यमा स्थानीय प्रशासन, सुरक्षा निकायहरू, सडक विभागलगायत सरोकारवाला संघीय, प्रदेश र स्थानीय तहका निकायहरूको समन्वयमा परिचालन भइरहेको मन्त्री श्रेष्ठले जनकारी दिए । 

बजेट पुस्तिकाको त्रुटि सच्याउन रुलिङ
सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयका शीर्षकमा प्रदेशहरूको नाम त्रुटिपूर्ण रहेको भन्दै प्रतिपक्षी एमालेले आपत्ति जनाएपछि सभामुखले रुलिङ गरेका हुन् । त्रुटिकै कारण मंगलबार प्रतिनिधिसभाको बैठक केही समय प्रभावितसमेत भएको थियो ।

पर्यटन मन्त्रालयले कोसीको ठाउँमा प्रदेश १ लेखेको र सहरीले लुम्बिनीको ठाउँमा प्रदेश ५ लेखेको भन्दै सांसदहरूले सच्याउन माग गरेका थिए । ‘सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिका उल्लेखित केही विषयहरू खासगरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । 

सुझावित समाचार