स्मार्ट सडकबत्ती जडान गर्दै काठमाडौं महानगर

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

चार महिनाभित्र जडान सुरु, ४० प्रतिशत लगानी प्राधिकरणको

काठमाडौं महानगरका विभिन्न स्थानमा एक वर्षभित्रै स्मार्ट सडकबत्ती जडान हुने भएको छ । यसका लागि महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता भई बत्ती जडानका लागि सर्भे सुरु भएको छ । महानगरपालिकाले ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत लागत हुने गरी सडकबत्ती राख्न लागेको हो । 

ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागअन्तर्गत राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाका अनुसार तीनदेखि चार महिनाभित्र बत्ती जडान सुरु हुनेछ । ‘बत्ती जडानका लागि टेन्डर प्रक्रिया पूरा गरे सम्झौता गरिसकेका छौँ,’ आयोजना प्रमुख प्रमोद रिजालले भने, ‘बत्ती जडान सुरु गर्नुअघि प्रि–कन्स्ट्रक्सन सर्भेको गर्नुपर्ने हुन्छ । निर्माण कम्पनीले फिल्डमा सोही काम गरिरहेको छ ।’ उनका अनुसार सर्भे सकिएछि कतिवटा सडकबत्ती किन्ने भन्ने निक्र्योल हुनेछ । त्यसपछि मात्रै सडकबत्ती जडान सुरु हुन्छ । यो योजना एक वर्षमा सम्पन्न हुनेछ । सडकबत्ती राख्न महानगर र विद्युत् प्राधिकरणबीच २४ माघमा सम्झौता भएको थियो । सडकबत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९ सय २५ रुपैयाँ लाग्नेछ । 

कहाँ–कहाँ राखिँदै छ सडकबत्ती ?
महानगर र प्राधिकरणबीच भएको सम्झौताअनुसार लैनचौर–महाराजगन्ज, माइतीघर मण्डला–बागबजार, बागबजार–शीतलनिवास, सिनामंगल–अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला–कमलपोखरीसम्म, चाबहिल–जोरपाटीसम्म महानगरको लगानीमा बत्ती जडान हुनेछ । यस्तै, सिनामंगल विमानस्थल–तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वर–लैनचौरसम्म र टुँडिखेलवरिपरि प्राधिकरणको लगानीमा बत्ती जडान हुनेछ । 

सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरलाई
बत्ती जडानपछि यसको सञ्चालन र व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण गरिनेछ । २५ मंसिर ०७७ मा पनि काठमाडौं महानगरपालिका, सडक विभाग र विद्युत् प्राधिकरणबीच सडकबत्ती राख्ने सम्झौता भएको थियो । त्यसवेला तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सम्झौता गरेका थिए । तर, काम भने भएका थिए ।महानगरले राख्ने स्मार्ट सडकबत्ती बाल्न र निभाउन मानिसको आवश्यकता पर्दैन ।

सडकको चहलपहलअनुसार बत्ती बल्ने–निभ्ने हुन्छ । सडकबत्तीलाई केन्द्रबाट कन्ट्रोलसमेत गर्न सकिनेछ । स्मार्ट बत्तीले सवारीसाधनको इम्बोस्ड नम्बर पनि सफा देखिन्छ । सडकबत्ती जडानपछि महानगर क्षेमा हुने सवारी दुर्घटनामा कमी आउने महानगरको अपेक्षा छ । यसअघि, ललितपुरले पनि यस्तै स्मार्ट सडकबत्ती जडान सुरु गरेको थियो । पहिलो चरणमा ६ सय र दोस्रो चरणअन्र्तगत १४ सय स्मार्ट सडकबत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । 

सुझावित समाचार