कीर्तिमानी हरितगृह ग्यास उत्सर्जन र घट्दो वायु प्रदूषणले विश्वव्यापी तापमानमा अतुलनीय तीव्रता निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । विश्वका ५० शीर्ष वैज्ञानिकले एक बृहत् जलवायु विज्ञान अपडेटमा उक्त चेतावनी दिएका हुन् । सन् २०१३ देखि सन् २०२२ सम्म ‘मानव सिर्जित तापक्रम प्रतिदशक ०.२ डिग्री सेल्सियसभन्दा बढीको अभूतपूर्व दरमा बढ्दै गएको छ,’ नीति निर्मातालाई लक्षित एक सहकर्मी–समीक्षा अध्ययनमा उनीहरूले भनेका छन् ।
अध्ययनअनुसार सोही अवधिमा औसत वार्षिक उत्सर्जन ५४ अर्ब टन कार्बनडाइअक्साइड (अहिलेसम्मकै उच्च) वा अन्य ग्यासमा यसको समतुल्य थियो, जुन प्रत्येक सेकेन्डमा करिब १७ सय टन उत्सर्जन हो ।विश्व नेताहरूले यस वर्षको अन्त्यमा दुबईमा कोप २८ जलवायु शिखर सम्मेलनमा नयाँ तथ्यांकको सामना गर्नेछन्, जहाँ संयुक्त राष्ट्रसंघीय वार्तामा ‘ग्लोबल स्टकटेक’ले सन् २०१५ को पेरिस सम्झौताको तापक्रम लक्ष्यमा भइरहेका प्रगतिको समीक्षा गर्नेछ ।
‘हामी अझै १.५ डिग्री सेल्सियसको तापक्रममा नभए पनि कार्बन बजेट’(१.५ डिग्री सेल्सियसको सीमा ननाघी मानिसले उत्सर्जन गर्ने हरितगृह ग्यासको मात्रा) ‘केही वर्षमा मात्रै समाप्त हुनेछ,’ प्रमुख लेखक तथा लिड्स विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक पियर्स फोर्सटरले भने ।
फोर्सटर र सहकर्मीअनुसार उक्त बजेट संयुक्त राष्ट्रको जलवायु विज्ञान सल्लाहकार निकाय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) ले सन् २०२१ मा आफ्नो हालको मानक प्रतिवेदनका लागि तथ्यांक संकलन गरेदेखि आधाले संकुचित भएको छ ।
अनपेक्षित परिणाम
१.५ सेन्टिग्रेड सीमामुनि रहने अवसर प्राप्त गर्नका लागि कार्बन डाइअक्साइड, मिथेन र जीवाश्म इन्धन जलाएर उत्पन्न हुने तापक्रममा अन्य कारकको उत्सर्जन २५० अर्ब टन (जिटी) भन्दा बढी हुन नहुने वैज्ञानिकहरूले सुझाब दिएका छन् । पेरिस सम्झौताको तापक्रम लक्ष्यलाई कार्यान्वयनका लागि सन् २०३० सम्म कार्बनडाइअक्साइड प्रदूषण कम्तीमा ४० प्रतिशत घटाउनुपर्नेछ र शताब्दीको मध्यसम्ममा यसलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक रहेको आइपिसिसीले गणना गरेको छ । विडम्बनाको विषय के छ भने पछिल्लो दशकको एउटा ठूलो जलवायु सफलताको कथाले अन्जानमा विश्वव्यापी तापमानको गतिलाई तीव्र पारेको एउटा नयाँ तथ्यांकले खुलासा गरेको छ ।
पेरिस सम्झौताको तापक्रम लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्म कार्बनडाइअक्साइड प्रदूषण कम्तीमा ४० प्रतिशत घटाउनुपर्नेछ
ऊर्जा उत्पादन गर्न कोइलाको प्रयोगमा आएको क्रमिक गिरावट (तेल वा ग्यासभन्दा उल्लेखनीय रूपमा अधिक कार्बन गहन)ले कार्बन उत्सर्जनको वृद्धिलाई सुस्त बनाएको छ । तर, यसले सूर्यको प्रकाशबाट पृथ्वीलाई जोगाउने वायु प्रदूषणलाई पनि कम गरेको छ ।
सम्पूर्ण स्रोतबाट आउने कण प्रदूषणले तापक्रमलाई लगभग आधा डिग्री सेल्सियसले ओसिलो बनाउँछ, जसको मतलब छोटो अवधिमा हावा सफा हुनेबित्तिकै धेरै ताप ग्रहको सतहमा पुग्छ । अर्थ सिस्टम साइन्स डाटा नामक जर्नलमा प्रकाशित उक्त अध्ययन आवधिक मूल्यांकनको शृंखलामा पहिलो हो, जसले सन् १९८८ देखि औसत हरेक ६ वर्षमा जारी गरिएको आइपिसिसीका प्रतिवेदनका अन्तरलाई भर्न मद्दत गर्नेछ ।
घातक ताप
‘विश्वव्यापी परिवर्तनका प्रमुख सूचकको वार्षिक अपडेटले अन्तर्राष्ट्रिय समुदाय र देशहरूलाई जलवायु परिवर्तनको संकटलाई सम्बोधन गर्ने अत्यावश्यकतालाई एजेन्डाको शीर्षमा राख्न मद्दत गर्न अपरिहार्य छ,’ चिलीका वातावरणमन्त्रीसमेत रहेका सहलेखक, वैज्ञानिक वाताव माइसा रोजास कोराडीले भनिन् ।
उनले अगाडि थपिन, ‘जलवायुजन्य जोखिमको तिब्रतालाई सीमित गर्न जलवायु कार्यको गति र मापनपर्याप्त छैन् ।’ अनुसन्धानकर्ताहरूले सन् २०००देखि समुद्री क्षेत्रबाहेक जमिन क्षेत्रमा चकित पार्ने तापक्रम वृद्धि भएको पनि रिपोर्ट गरेका छन् । ‘जमिनको औसत वार्षिक अधिकतम तापक्रम सहस्राब्दीको पहिलो दशकको तुलनामा (१.२२ डिग्री सेल्सियस) पछिल्ला दश वर्षमा (१.७२ डिग्री सेल्सियसभन्दा बढी) मा आधा डिग्री सेल्सियसले न्यानो भएको छ’ अध्ययनमा भनिएको छ ।