प्रस्तावित प्रधानन्यायाधीश कार्की दोहोरो दबाबमा

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण
प्रस्तावित प्रधानन्यायाधीश कार्की दोहोरो दबाबमा

सोमबार बसेको संसदीय विशेष सुनुवाइ समितिको बैठक

कार्यक्षमतामाथि प्रश्न उठाउँदै न्यायाधीशसम्मका २९ उजुरी, अनिवार्य अवकाशको समयसीमा तोक्दै न्यायपरिषद्को पत्र

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की एकैपटक दोहोरो दबाबमा परेका छन् । प्रधानन्यायाधीशमा नियुक्त हुन कार्कीले संसदीय सुनुवाइ समितिमा परेका २९ उजुरीमा बिहीबार उल्लेखित आरोप तथा सांसदको प्रश्नको सामना र चित्तबुझ्दो सफाइ पेस गर्नुपर्नेछ भने अर्कोतिर उनलाई अनिवार्य अवकाशको समयसीमा तोक्दै न्यायपरिषद्को पत्र काटेको छ । 

सोमबार प्राप्त उजुरीलाई अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको छ । सुनुवाइपूर्व समितिले बुधबार उजुरीकर्तासँग छलफल गर्ने सभापति पशुपतिशमशेर जबराले बताए । उनका अनुसार उजुरीकर्ताले कार्कीको सर्वाेच्च प्रवेशदेखि प्रधानन्यायाधीशमा सिफारिसको प्रक्रियामा प्रश्न उठाउँदै अवैध करार गरेका छन् । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई नै उजुरी लिएर संसदीय समितिमा पुगेका छन् । 

अवकाशको मुखमा रहेका कार्कीलाई प्रधानन्यायाधीश नबनाउन उजुरीकर्ताले आफ्नो उजुरीमा अयोग्यताका विभिन्न आधार जिकिर गरेका छन् । सेवा प्रवेश गरेदेखि विवादित, न्यायाधीश बन्नुपूर्व राजनीतिक दलको कार्यकर्ता भएको, निर्वाचित र नियुक्त कार्यकाल पूरा नगरी बीचैमा छाडी हिँड्ने व्यक्ति भएकाले नाम अस्वीकृत गर्न माग गरेका छन् । 

विभिन्न मुद्दामा कार्कीले दबाब र प्रभाव देखिने गरेर फैसला गरेको र त्यसले न्यायालयप्रति जनआस्था घटाउने काम गरेको जिकिर गरेका छन् । कानुनविपरीत निर्णय गरेको भनेर विभिन्न फैसला उजुरीका साथ उल्लेख गरेका छन् । न्यायाधीश हुनै अयोग्य, कार्यक्षमताको अभाव, अत्यन्त विवादित व्यक्ति भएकाले कार्की प्रधानन्यायाधीश पदमा हुँदा अदालत र प्रधानन्यायाधीश पदकै अवहेला हुने जिकिर गरिएको छ । त्यसैले कार्कीको नाममा सुनुवाइ होइन, महाभियोग लगाउन माग गरेका छन् । साथै, देश र न्यायपालिकाका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सक्षम र नैतिकवान व्यक्तिको खोजी गरेर सिफारिस गर्ने र अनुमोदन गर्नेतर्फ समितिको ध्यानाकर्षण गराइएको छ । 

सेवा प्रवेश गरेदेखि विवादित, न्यायाधीश बन्नुपूर्व राजनीतिक दलको कार्यकर्ता भएको, निर्वाचित र नियुक्त कार्यकाल पूरा नगरी बीचैमा छाडी हिँड्ने व्यक्ति भएकाले कार्कीको नाम अस्वीकृत गर्न उजुरीकर्ताको माग

अर्कोतर्फ, बिहीबार संसदीय सुनुवाइको तयारीमा रहेका कार्कीलाई न्यायपरिषद्ले ६५ वर्षे उमेरहदका कारण २० साउनमा अनिवार्य अवकाश पाउने जानकारी गराएको छ । अवकाश हुने ६० दिनअघि जानकारी गराउने न्यायपरिषद् ऐनको व्यवस्थाअनुसार परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आइतबार जानकारी व्यहोरासहितको पत्र पठाएका छन् । 

अवैध सिफारिस
उजुरीकर्ताले प्रधानन्यायाधीशमा कार्कीको सिफारिस अवैध रहेको जिकिर गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी ऐन अध्यादेशले निष्क्रिय रहेको र संशोधन विधेयक संसद्मा विचाराधीन रही कानुनी रिक्तताको अवस्थामा संवैधानिक परिषद्ले सर्वसहमतिका नाममा २५ वैशाखमा कार्कीको नाम प्रधानन्यायाधीशमा गरेको सिफारिस गैरकानुनी र अवैध रहेको जिकिर अधिकांश उजुरीकर्ताको छ । 

त्यसैले कार्कीको नाममा सुनुवाइ नै गर्न नमिल्ने जिकिर गरिएको छ । कानुनी रिक्तताको अवस्थामा गरेको अवैधानिक सिफारिसविरुद्ध सर्वाेच्चमै मुद्दा परेको, सुनुवाइको पालो नआएको अवस्थामा त्यही व्यक्तिलाई नियुक्त गर्न नहुने जिकिर छ ।

अवैध सुनुवाइ 
उजुरीकर्ताले संसदीय सुनुवाइ पनि अवैध हुने जिकिर गरेका छन् । सुनुवाइ समिति गठन हुनुभन्दा २० दिन पहिला नै कार्कीको सिफारिस भएको र सदनले संयुक्त समिति कार्यसञ्चालन नियमावली (कानुन) बनाएको २० दिनअघि नै भएको सिफारिसपछि वैधता दिन नमिल्ने उजुरीकर्ताको जिकिर छ । ‘२० दिन पहिला भएको कामकारबाहीलाई २० दिनपछि बन्ने कानुनले वैधता दिन मिल्दैन । त्यो कानुन त्यसमा लागू हुँदैन । त्यसपछि बनेको समितिले सुनुवाइ गर्न सक्दैन,’ न्यायाधीश भट्टराईको उजुरीमा भनिएको छ । 

कार्यक्षमता अभाव
न्यायाधीशका रूपमा उनको कार्य प्रगतिबाट कार्य क्षमताको अभाव पुष्टि भएको, सर्वाेच्चमा मुद्दा विचाराधीन भएका व्यक्तिलाई भेट्दै हिँडेकाले नाम अस्वीकृत गरी महाभियोगका लागि संसद्मा सिफारिस गर्न उजुरीकर्ता केदार दाहालले माग गरेका छन् । अर्का उजुरीकर्ता शरद खत्रीले न्यायालय सुधारमा बाधक बनेको, अदालतका भवन निर्माण अनियमितताको छानबिन रोकिएको, सेटिङमा कर्मचारी सरुवाले प्रशासन भद्रगोल बनाएको, आफ्नै नेतृत्वमा बनेको विकृतिविहीन न्यायापालिका र स्वचालित पेसी प्रणाली कार्यान्वयन नगरेको, न्यून शैक्षिक योग्यता रहेको, चोलेन्द्रशमशेर जबरालाई सहयोग गरेर भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै अस्वीकृत गर्न माग गरेका छन् । निष्पक्ष न्याय दिन चुकेको, प्रधानन्यायाधीश हुन न्यूनतम गुण तथा योग्यता नरहेको, स्वार्थ भएका मुद्दामा सेटिङ गर्ने, न्यायसम्पादनभन्दा पदको भोको रहेको आरोप उजुरीकर्ताको छ । 

आचरणमा पनि प्रश्न 
फैसलाबाटै अयोग्य रहेको, मोलमोलाइ गरी हेर्दाहेर्दैमा राखेर रकम असुल्ने र पछि निर्णय सुनाउने, अदालतको मर्यादा कायम राख्न नसकेको, संसद्ले महाभियोगबाट सफाइ पाएको पत्र दिँदा तत्कालीन प्रन्या चोलेन्द्रशमशेर जबरालाई हाजिर गर्न नदिएर रोकेर आफ्नै प्रमुखलाई न्याय गर्न नसकेकाले जनतालाई न्याय दिन नसक्ने जिकिर उजुरीकर्ता बरालले गरेका छन् । कार्कीको कामु नेतृत्वमा रिट दर्ता गर्नसमेत नपाउने न्यायिक अराजकता सिर्जना भएको, विभिन्न मुद्दामा पक्षधरता देखाएको, सुनुवाइ हुन नदिई अन्याय गर्ने काम गरेको, ओलीको महान्यायाधिवक्ता थिए भन्ने बिर्सिएर संसद् विघटनको मुद्दामा दुई दिन सुनुवाइ गरेर गम्भीर बदनियत देखिएको, प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय प्रक्रिया सुरु भएपछि साबिक पदमा काम गर्न नमिल्ने सिद्धान्तविपरीत न्यायपरिषद्को बैठक बोलाएर उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रयास गरेर अनैतिक काम गरेको, प्रमाण हुँदाहुँदै अन्यायपूर्ण फैसला गरेको, न्याय–निसाफमा विश्वासको संकट पैदा भएको जिकिर उजुरीकर्ताको छ । आचरणको प्रश्न रहेको, प्रधानमन्त्री, मन्त्रीसहित जोडिएका राजनीतिक मुद्दा पन्छाएर पेन्डिङमा राखेको, पेसी चढाए पनि सुनुवाइको पालो नआएको आरोप छ । कानुन व्यवसायीका रूपमा कार्कीले आर्थिक दबाब र प्रभावमा पारेर आफ्नो पक्षमा फैसला गर्न बाध्य पारिएका एक न्यायाधीशले पश्चात्तापमा आत्महत्यासमेत गर्नुपरेको आरोप उजुरीकर्ता शाहीले लगाएका छन् । न्यायाधीश हुन महान्यायाधिवक्ता र बार एसोसिएसन अध्यक्ष पद दुरुपयोग गरेको आरोप पनि छ । 

एमालेका कार्यकर्ता
उजुरीकर्ता केदार दाहालले कार्की एमालेको सक्रिय कार्यकर्ताकै अवस्थामा तत्कालीन कानुनमन्त्री एवं ल फर्म पार्टनर अग्नि खरेलले सर्वाेच्चको न्यायाधीश बनाएको कार्यकर्ता भएकाले देशको प्रधानन्यायाधीश बनाउन नहुने जिकिर गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता पद चलाउन नसकेर हटाएकाले कार्कीले प्रधानन्यायाधीश पद चलाउन नसक्ने दावी गर्दै करोडौँ करदाताको रकमबाट तलबभत्ता खाने गरी नियुक्त गर्न नहुने माग गरेका छन् । 

छोटो कार्यकाल, नाम मात्र लेखाउने 
उजुरीकर्ताले कार्कीको सक्रिय कार्यकाल १५ दिन मात्रै रहेकाले प्रधानन्यायाधीश नियुक्त गर्न नहुने जिकिर गरेका छन् । अवकाशको एक महिनाअघि बिदा बस्नुपर्ने प्रावधान स्मरण गराएका छन् । १९ साउनसम्म कार्यकाल भएका कार्की नियुक्त भएपछि १९ असारबाट अवकाश बिदामा बस्नुपर्छ । छोटो कार्यकालका लागि नियुक्त गरेर सेवा सुविधा र पेन्सन मात्र दिलाउने गरी देशको अर्थतन्त्रमा व्ययभार थप्न नहुने उनीहरूको जिकिर छ ।

‘नाम मात्र लेखाउन प्रधान न्यायाधीश हुने र काम गरे पनि आफूअनुकूल विवादास्पद काम गर्ने, छोटो अवधिका लागि प्रधानन्यायाधीश नियुक्ति गर्दा राज्यले करिब चार करोडको गाडी, मासिक १५० लिटर पेट्रोल, त्रैमासिक रूपमा मोबिल, सवारीचालक, कार्यालय सहयोगी, भान्से अधिकृतस्तरको सचिवालयको एकजना कर्मचारीको तलब, गाडी मर्मत, सुरक्षालगायत आजीवन सुविधा दिनुपर्ने भएकाले राज्यकोषको दुरुपयोग हुने,’ उजुरीमा भनिएको छ । 

उजुरीकर्ता तामाङले कार्कीमाथि मदन भण्डारीको हत्या प्रकरणको छानबिन प्रतिवेदन लुकाएको आरोप लगाएका छन् । कार्की हत्याकाण्डको प्रमुख योजनाकारको आरोप लगाउँदै पदमुक्त गरी अन्तर्राष्ट्रिय अदालत हेगमा मुद्दा दायर गर्न माग गरेका छन् । हत्याकाण्डको छानबिन समितिमा कार्की, अग्नि खरेल र निकट विश्वासपात्र रहेको, इसारामा आयोगले काम गरेको, प्रतिवेदन लुकाउनुले अपराधी समूहको नाइके भएको आरोप तामाङले लगाएका छन् ।

उजुरीकर्ता भन्छन्– सर्वसाधारणले सुन्ने र देख्न पाउने गरी प्रसारण गरौँ
उजुरी गर्नेमा पुण्यप्रसाद गौतम, चन्दन श्रेष्ठ, उज्ज्वलकृष्ण श्रेष्ठ, महादेव बराल, गणेशलाल अवाले, सुवास सिंह, (रितिक उप्रेती, गंगा खतिवडा, रामजी चौहान र विशाल लामा – संयुक्त), गोविन्दप्रसाद अधिकारी, निलम र मणिराम, डा. श्रीकृष्ण भट्टराई, गौरिका सिग्देल र गोमा आचार्य, टंकप्रसाद आचार्य, अधिवक्ता उत्तमबहादुर श्रेष्ठ, पुष्कर खत्री, महेश भट्ट, मणिराम पौडेल, अधिवक्ता गोकर्ण आचार्य, हरिबहादुर तामाङ, अधिवक्ता अमृत खरेल, अधिवक्ता ध्रुवलालश्रेष्ठ, रतन भण्डारी, हिमाल अर्याल, डिल्लीरत्न शाही, शरद खत्री, मदनशंकर अमात्य, केदार दाहाल र सुरेशकुमार कानू रहेका छन् । एउटा गोप्य उजुरी परेको संसद् सचिवालयले जनाएको छ । उजुरीकर्ताले सुनुवाइमा हरकोही सहभागी गराउन र कार्कीसँग सवाल–जवाफ गर्न दिन पनि अनुरोध गरेका छन् । ‘समितिको सुनुवाइ पारदर्शी र विश्वासिलो बनाउन सुनुवाइ कक्षमा उपस्थित हुने र प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका कार्कीसँग सवाल–जवाफ गर्ने अवसर दिई सर्वसाधारणले समेत सुन्ने र देख्न पाउने गरी विद्युतीय माध्यमद्वारा प्रसारण गरिनुपर्छ,’ वरिष्ठ अधिवक्ता उत्तमबहादुर श्रेष्ठले माग गरेका छन् ।

सुझावित समाचार