सन्दीप र भीमलाई ‘ए’ श्रेणीको सुविधा दिन छलफल

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

पछिल्लो समय देशका लागि अन्तर्राष्ट्रिय खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने र भीम सार्कीलाई आगामी असारमा हुने नयाँ वर्गीकरणमा समावेश गर्ने क्यानको तयारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लाबेल छनोट र एसिया कपमा स्थान बनाउँदा पूर्वकप्तान सन्दीप लामिछाने र भीम सार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले असारमा हुने खेलाडीको नयाँ वर्गीकरणमा सन्दीप र भीमलाई समावेश गर्ने छलफल थालेको छ । क्यानले दुवै खेलाडीलाई सम्भवतः ‘ए’ श्रेणीमा राखी सुविधा दिन छलफल सुरु गरेको क्यान स्रोतले नयाँ पत्रिकालाई जानकारी दिएको छ । 

‘गत माघमा भएको खेलाडी वर्गीकरणमा सन्दीप र भीम समावेश भएका थिएनन्, पछिल्ला प्रदर्शनका आधारमा दुवै खेलाडी माथिल्लो श्रेणीमै रहन सक्छन्,’ क्यान स्रोतले भन्यो । क्यानले गरेको पछिल्ला खेलाडी वर्गीकरणमा सन्दीप र भीम समावेश भएका थिएनन् । वर्गीकरणमा नपरेका सन्दीप र भीमले नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याच फ्री मात्र पाएका थिए । सन्दीप र भीमले आइसिसी विश्वकप लिग–२ र एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

क्यानले खेलाडीको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीका खेलाडीलाई तीन खण्डमा वर्गीकरण गरेको छ । वर्गीकरणमा परेका खेलाडीले क्यानबाट प्रतिमहिना पारिश्रमिक थाप्छन् । ‘सन्दीप र भीमलाई नयाँ केन्द्रीय सम्झौतामा राख्ने छलफल चलेको छ,’ स्रोतले भन्यो, ‘आउँदो खेलमा कस्तो प्रदर्शन हुन्छ, त्यसमा निर्भर पर्छ, तर ‘ए’ श्रेणीमा पर्न सक्ने सम्भावना छ ।’ 

सन्दीप एसिसी प्रिमियर कपमा अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ दी सिरिज घोषित भएका थिए । सन्दीपले १३ विकेट लिनुका साथै ब्याटिङमा ५५ रन बनाएका थिए । भीमले अन्तर्राष्ट्रिय मान्यताप्राप्त पछिल्ला तीन एकदिवसीय खेलमा अर्धशतक बनाए । एसिसी प्रिमियर कपको फाइनलमा उनले युएईविरुद्ध ७२ रनमा अविजित, ओमानविरुद्ध ५६ र युएईविरुद्ध नै ७६ रन जोडेका थिए । 

यसैगरी, लिस्ट ‘ए’मा समेत उनको प्रदर्शन उम्दा छ । एसिसी प्रिमियर कपको फाइनल रिजर्भ डेमा पुग्दा भीमको इनिङ्स सम्झनलायक रह्यो । उनले सो प्रतियोगितामा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको स्थान लिएका थिए । नेपाल टी–२० लिगबाट भीमको उदय राष्ट्रिय टोलीमा भएको थियो । 

असारमा नयाँ वर्गीकरण
क्यानले गत माघमा ६ महिनाका लागि खेलाडीसँग केन्द्रीय सम्झौता गरेको थियो । क्यानको केन्द्रीय सम्झौता सकिन लागेको छ । ६ महिना पूरा भएसँगै क्यानले नयाँ सम्झौता असारमा गर्नेछ । यही नयाँ वर्गीकरणमा प्रदर्शनका आधारमा खेलाडीहरूको नयाँ वर्गीकरण हुने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । यसमा पुराना बाहिरिन पनि सक्छन् । नयाँ खेलाडी नयाँ वर्गीकरणमा पर्न सक्छन् । ‘सम्झौता असारमा मात्रै सकिनेछ । त्यसपछि मात्रै नयाँ वर्गीकरण गर्नेछौँ,’ क्यानको स्रोतले भन्यो, ‘पछिल्लो एक वर्षको प्रदर्शन हेरेर वर्गीकरण हुनेछ,’ पाठकले भने । 

क्यानको पछिल्लो ‘ए’ श्रेणीमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख थिए । त्यसवेला सन्दीप ए श्रेणीबाट बाहिरिए । यसैगरी, ‘बी’ श्रेणीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् । ‘सी’ श्रेणीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन् । 

क्यानले पुरुषसँगै महिला खेलाडीको वर्गीकरण गत माघमा गरेको थियो । जसमा ‘ए’ श्रेणीमा कप्तान रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् । ‘बी’ श्रेणीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् । ‘सी’ श्रेणीमा कविता जोशी, बिन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन् । क्यानले महिलाातर्फ ‘ए’ श्रेणीमा परेका खेलाडीलाई प्रतिमहिना १५ हजार, दोस्रो श्रेणीकालाई १२ हजार र तेस्रो श्रेणीमा परेका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरेको छ । 

कसरी तयार पारिन्छ वर्गीकरण ?
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट प्राप्त हुने सहयोगकै आधारमा क्यानले खेलाडीलाई प्रतिमहिना तलब खुवाउने गर्छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार क्यानले ए, बी र सी श्रेणीका खेलाडीलाई वर्गीकरण गरेको हो । आइसिसीकै रोडम्यापअनुसार खेलाडीको वर्षभरिको प्रदर्शनअनुसार वर्गीकरण हुने गर्छ । अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी ‘ए’ श्रेणीमा रहन्छन् । त्यसपछि औसत प्रदर्शन गर्ने बी र टोलीका कम प्रभाव जमाएका खेलाडीलाई सी श्रेणीमा राखिन्छ । कुनै प्रतियोगितामा प्रशिक्षकको नजरबाट टोलीमा छानिएका खेलाडीले सम्बन्धित क्रिकेट संघबाट दैनिकी र खेल दौरानको भत्ता पाउँछन् । वर्गीकरणमा परेका साथै टोलीमा स्थान बनाएका खेलाडीले पारिश्रमिक र भत्ता दुवै हात पार्नेछन् । क्यानले पुरुषतर्फको ए श्रेणीलाई ६० हजार, बी श्रेणीलाई ५० हजार र सी श्रेणीकालाई ४० हजार मासिक तलब उपलब्ध गराउँदै आएको छ । यसैगरी, खेलाडीले दैनिकी खेलभत्ता १० हजार उपलब्ध गराउँछ । खेल नभएको अवस्थामा क्यानले मात्र एक हजार भत्ता दिने गरेको छ ।

See More On

सुझावित समाचार