राष्ट्रिय समझदारीका लागि एमालेले अग्रसरता लिने

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी, लडाकु शिविरलगायत सबै घोटालाको निष्पक्ष छानबिन गर्न माग

प्रमुख विपक्षी दल एमालेले देशका प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारीका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा संकटउन्मुख भइरहेको, भ्रष्टाचार संक्रामक रोगजसरी फैलिरहँदा राष्ट्रिय हितको रक्षा चुनौतीपूर्ण बनिरहेको र अस्थिर तथा अराजक प्रवृत्ति झाँगिएकाले प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी आवश्यक रहेको निष्कर्ष निकाल्दै केन्द्रीय कमिटी बैठकले त्यसका लागि पहल लिने निर्णय गरेको हो । न्यूनतम समझदारीका लागि वार्ता, संवाद र छलफलको पहलका लागि शनिबार सम्पन्न बैठकबाट एमालेले विशेष महत्वको अलग्गै प्रस्ताव पारित गरेको छ । 

‘मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा संकटउन्मुख हुँदै गएको छ । भ्रष्टाचार संक्रामक रोगजसरी फैलिँदै छ । राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको छ । अस्थिरता र अराजकताका प्रवृत्ति झाँगिन खोज्दै छन्,’ एमालेको विशेष प्रस्तावमा भनिएको छ, ‘यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक क्षेत्रमा देखापरेको अस्थिरताका प्रवृत्तिहरूलाई नियन्त्रण गर्दै स्थायित्व र स्थिरता कायम गर्न र सामाजिक क्षेत्रमा हुर्किँदै गएको अराजकतालाई नियन्त्रण गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक छ । केन्द्रीय कमिटीको यो बैठक यिनै उद्देश्यका साथ राष्ट्रिय राजनीतिक दलहरूको बीचमा समझदारी निर्माणका लागि पहलकदमी लिने निर्णय गर्दछ ।’

बैठकले लडाकु शिविर घोटाला काण्डलगायत अहिलेसम्म चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गर्दै त्यसमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । ‘यो बैठक लडाकु शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ । यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ,’ बैठकले पारित गरेको १६ बुँदे प्रस्तावमा भनिएको छ । 

नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएकाले त्यस्ता घटनाको निष्पक्ष छानबिन र दोषीहरूलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरूमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको एमालेको निष्कर्ष छ । 

एमालेले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय हुनुपर्ने माग पनि गरेको छ । ‘विगत लामो समयदेखि भित्रभित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगीधन्दा हालै सतहमा आएको छ । सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति संगठित रूपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ,’ निर्णयमा भनिएको छ, ‘यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाबविना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ ।’

शरणार्थी काण्डमा हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउन सक्ने व्यक्तिसँग अवैध रूपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएजस्ता सूचना सार्वजनिक भएको भन्दै एमालेले त्यस्ता कार्य बन्द गराउन तथा राज्यका वैधानिक निकायबाट गरिने निष्पक्ष अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

बैठकले पार्टी अध्यक्ष केपी ओलीमाथि झापा, इलाम, पाँचथर र तेह्रथुममा गरिएको सांघातिक आक्रमणको प्रयासलाई अराजनीतिक आपराधिक दुष्प्रयास ठहर गर्दै एमालेले निन्दा र भत्र्सना गरेको छ । साथै, त्यस्तो आपत्तिजनक कार्य हुँदासमेत शान्तिसुरक्षाको न्यूनतम दायित्वबाट विमुख हुँदै मुकदर्शक बनेकोमा सरकारप्रति बैठकले खेद प्रकट गरेको छ ।

यस्ता छन् एमालेका वार्षिक कार्ययोजना

देशैभरि छोराछोरी अभियान, मतदाताबराबर तीन प्रतिशत पार्टी सदस्य
एमालेले अर्को आमनिर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, शुद्धीकरण र विस्तारको महत्वाकांक्षी योजना अगाडि सारेको छ । एकल बहुमतका लागि ५१ प्रतिशत मत पु¥याउने महत्वाकांक्षी लक्ष्य पूरा गर्न देशैभर छोराछोरी अभियान, पूर्वदेखि सुदूरपश्चिमसम्म आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गकेन्द्रित अभियान, युएमल–न्युएमल अभियान, कुल मतदाताको तीन प्रतिशत पार्टी सदस्यता विस्तार अभियान चलाउने भएको छ । पार्टी नेतादेखि कार्यकर्तासम्मका सबै छोराछोरीलाई पार्टी सदस्य बनाउन देशैभरि छोराछोरी अभियान चलाइने प्रचार विभागका उपप्रमुख रिजालले बताए । 

‘युवामाझ पार्टी कामलाई प्रभावकारी बनाउन केही निष्कर्ष निकालेर आफ्नै घरबाट देशैभरि छोराछोरी अभियान सुरु गर्ने निर्णय गरेका छौँ,’ रिजालले भने, ‘बाबु आमा पार्टीमा भए पनि नजिक नआउने स्थिति देखिएकाले परिवारलाई, नाता सम्बन्ध अनि समाजलाई प्रशिक्षित गर्न सकेनौँ कि आत्मसमीक्षा गर्दै यो अभियान अगाडि सारेका छौँ ।’ 

देशका ६ हजार सात सय ४३ वडामा वडाको कुल मतदाताको कम्तीमा तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने, स्थानीय सरकारको नेतृत्व भएका ठाउँमा विकास र सुशासनलगायतको काममा नेतृत्व गर्ने विपक्षी भएका स्थानमा दबाब दिने, नेता–कार्यकर्ताले अनिर्वाय रूपमा उत्पादन सम्बन्धसँग जोडिएर श्रमशक्ति विकास गर्ने, सबै तहका नेता अनिवार्य रूपमा पार्टी कार्यलयमा नियमित उपस्थित भएर भेटघाट, छलफल, संवाद चलाउने योजना पनि एमालेले पारित गरेको छ । आगामी भदौबाट क्रमशः प्रदेश, जिल्ला, पालिका र वडा तहको अधिवेशन सुरु गरेर सम्पन्न गर्नेजस्ता कार्ययोजना पनि एमालेले पारित गरेको छ ।

मुलुक आर्थिक मन्दीतर्फ गएको विषयमा चिन्ता
मुलुक आर्थिक मन्दीतर्फ गएको विषयमा चिन्ता जनाउँदै एमालेले व्यवसायी अत्यन्त हतोत्साहित र निराश बन्ने र व्यवसाय बन्द भएर पलायन हुने क्रम बढेकोमा सरकारको ध्यानाकर्षण गराएको छ । ‘यस्ता क्रियाकलापहरूले राष्ट्रलाई असफल दिशामा लैजाने खतरा बढेकाले हाम्रो पार्टी गम्भीर र चिन्तित छ । अतः यो बैठक मुलुकको बिग्रिँदो अर्थतन्त्रप्रति गहिरो चिन्ता प्रकट गर्दै यस्ता हर्कत बन्द गर्न चेतावनी दिँदै अर्थतन्त्रप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ,’ निर्णयमा भनिएको छ । लोकतान्त्रिक गणतन्त्र र संविधानविरोधी हर्कत बढिरहेकोतर्फ पार्टी सजग रहेको भन्दै एमालेले त्यसको भत्र्सना गरेको छ ।

‘संविधान र गणतन्त्रलाई थप समृद्ध र विकसित बनाउनुपर्नेमा अदालतको समेत दुरुपयोग गरी संविधानको अपव्याख्या गर्ने, मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गर्ने र गठबन्धन सरकारका गलत नीतिका कारण सिंगो प्रणालीलाई नै बदनाम बनाउनेजस्ता काम भइरहेको मौका छोपी कतिपय तत्वले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्ने कुचेष्टा गरिरहेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टीलाई यस्ता कुनै पनि कार्य स्वीकार्य नभएको स्पष्ट पार्दै यो बैठक संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरोधी हर्कत बन्द गर्न सम्बन्धित सबैलाई सजग गर्न चाहन्छ । 

संघीयताको सुधार या विकल्प खोज्ने हल्लालाई खारेज गर्छु : ओली 
एमाले अध्यक्ष केपी ओलीले प्रदेश संरचनाको सुधार वा खारेजका विषयमा केही केन्द्रीय सदस्यले दिएका सुझावलाई खारेज गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको सर्जक र अगुवा पार्टीको जिम्मेवारीलाई भुलेर कतिपय केन्द्रीय सदस्यले बैठकमा एजेन्डाकै रूपमा छलफल भएजसरी प्रचार गरेकोमा गम्भीर असन्तुष्टि प्रकट गर्दै ओलीले त्यस्ता सुझावलाई खारेज गरेका हुन् । उनले पार्टीको आधिकारिक निर्णय र निर्देशन बोकेर हिँड्नसमेत केन्द्रीय सदस्यहरूलाई सजग गराएका छन् ।

‘संघीयतामा सुधार आवश्यक छ, एमालेले संघीयतामा विकल्प खोज्दै छ भनेर बजारमा चलेको हल्लालाई अध्यक्षले सम्पूर्ण रूपमा खारेज गर्नुभएको छ । संघीयताको एजेन्डा छलफलको विषय थिएन । कहीँकतै छलफल पनि भएको छैन,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘कुनै साथीहरूले व्यक्तिगत ढंगले, दुई–तीनजना उभिँदा, समूहमा कुरा गर्दा पार्टीकै आधिकारिक निर्णय भएजसरी जुन ढंगले प्रचार गरिएको छ, त्यो गलत छ । अध्यक्ष कमरेडले त्यसको आलोचना गर्नुभएको छ । यो पार्टीको विधिका हिसाबले पनि गलत छ र पार्टीको मान्यताका हिसाबले पनि गलत छ ।’

रिजालले पार्टीको आधिकारिक निर्णयबाहेक अन्य कुरामा छलफल अघि नबढाउन कडाइका साथ निर्देशन दिएकोसमेत प्रस्ट्याए । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, अहिलेको संविधान निर्माण गर्ने अगुवा पार्टी, नेता सर्जक पार्टी एमाले हो । संविधान निर्माण भएबापत मुलुकले नाकाबन्दी सहनुपर्दा त्यसको दृढतापूर्वक नेतृत्व गर्दै सामना गर्ने पार्टी एमाले हो,’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले भने, ‘अहिलेलाई यो पार्टीले संविधानलाई हल्लाउने, विशृंखल गर्ने, यसका पिलर चलाउने कुनै पनि काम गर्न सक्दैन, त्यो काम सोच्न पनि सक्दैन । अध्यक्षले यो कुरालाई बहुत स्पष्ट ढंगले निर्देशनात्मक रूपमा राख्दै आधिकारिक निर्णय मात्र बोकेर जान निर्देशन गर्नुभएको छ ।’ शुक्रबारको समूहगत छलफलमा नेताहरू गोकुल बाँस्कोटा, महेश बस्नेत, देवी ज्ञवाली, निरुदेवी पाल, ऐन महरलगायतले प्रदेशको खारेजी, समानुपातिक निर्वाचन प्रणालीको खारेजी र प्रत्यक्ष कार्यकारी सरकार प्रमुखको पक्षमा सुझाव राखेका थिए ।

See More On

सुझावित समाचार