व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुँगटा प्रकाउ नपरेको भन्दै आज चितवन बन्द गरिएको छ। शंकर कँडेल न्यायिक संघर्ष समितिद्धारा आयोजना गरिएको बन्दको प्रभाव जिल्लामा देखिएको छ।
मृतक ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका– ८ निवासी हुन्। उनी कांग्रेसका पूर्वकोषाध्यक्ष, वर्तमान महासमिति सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वकार्यसमिति सदस्य पनि हुन्। उनको नाम नेपालको उत्कृष्ट पोल्ट्री व्यवसायीमध्येमा आउने गर्थे ।
परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका व्यवसायी प्रदीप रुँगटा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल रहेको उल्लेख छ। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको सेयर रुँगटालाई बेचेका थिए। डेढ दशकदेखि उनले यो फिड्स चलाउँदै आएका थिए। वीरगन्ज र विराटनगरमा पोषक दाना उत्पादन प्रदीप रुंगटाले कँडेलको अनमोल फिड्सको सेयर किनेका थिए ।

कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइट नोट’मा पनि आर्थिक आत्महत्याको कारण आर्थिक विषय नै भएको लेखेको प्रहरीले बताएको छ । ७/८ पानाको सुसाइट नोट प्रहरीले अनुसन्धानलाई प्रभाव पार्ने भन्दै सार्वजनिक गरेको छैन। प्रहरीले उनको आत्महत्या दुरुत्साहन आरोप लागेकालाई लामो समय बित्दा पनि प्रक्राउ नगरेको भन्दै उनका परिवार, समर्थक, व्यवसायी र नेपाली कांग्रेस चितवनको सक्रियतामा चितवनमा निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् । भरतपुर महानगरपालिका– ८ का ३७ वर्षीय रावललाई भने प्रहरीले बाराको सिमराबाट पक्राउ गरे पनि प्रदीप रुँगटालाई भने प्रहरीले प्रक्राउ गर्न सकेको छैन।
कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत सेयर रुँगटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव पनि दिएको र पैसा पनि नदिएका कारण परिवारमा मनसिक तनाब भएको कुरा सुनाउने गरेको मृतक कँडेलकी श्रीमतीले बताएकी छिन् । परिवारले आत्महत्या दुरुत्साहनका आरोपी प्रक्राउ नपरेसम्म शवसमेत नबुझ्ने बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले अपराध महाशाखा, सिआइबी, सीमानाकालगायतमा खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय भएको बताएका छन्। उनले पीडितको न्याय र अपराधीलाई कारबाहीको पक्षमा प्रहरी रहेको भन्दै यो घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आफू प्रतिबद्ध भएको बताए । अनुसन्धानका प्रक्रियाहरू धेरै नजिक पुगेको छिट्टै रिजल्ट आउने बताए । उनले त्यसको लागि सहयोग गरिदिन अनुरोध गरेका छन् ।