कांग्रेस युवा नेताहरूले कांग्रेस सुदृढीकरण अभियान सुरु गरेका छन्। अहिलेकै अवस्थाले पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै पार्टीको संरचनागत परिवर्तनका लागि भन्दै युवाले अभियान सुरु गरेका हुन्।
युवा नेता भूपेन्द्रजंग शाहीले जनताले विकल्प खोज्न थालिसकेको अवस्थामा कांग्रेसको रूपान्तरणका लागि दबाब दिन अभियान सुरु गरिएको बताए।
‘कांग्रेसलाई ब्युँझाउन सकिन्छ, आसलाग्दो नम्बर एक पार्टी बनाउन सकिन्छ। कांग्रेसले सत्ताको स्वाद लिएकालाई लाग्न सक्छ कांग्रेस सही रूपमा चलिरहेको छ। आज कांग्रेसमा युवाहरूको भविष्य कहा पुगेको छ ? कांग्रेसमाथि बादल मडारिइरहेको छ। उपचुनावले पनि चेत ल्याइदियो। जनताले विकल्प खोज्न थालिसके, अब कांग्रेसमा रुपान्तरण आवश्यक छ भनेर हामीले अभियान थालेका हौँ,’ उनले भने।
अभियानको सुरुवात बिहीबार गौशालामा युवाभेला गरेर सुरु गरिएको उनले जानकारी दिए। यसअन्तर्गत देशभर विभिन्न दबाबमूलक कार्यक्रम गरिने उनले बताए।
युवा भेलामा नेताहरूले कांग्रेसमा आमूल रूपान्तरण र सुधारका लागि नेतृत्वमा कमी–कमजोरी सच्याएर अघि बढ्ने प्रवृत्तिको अभाव देखिएको भन्दै नेतृत्वको आलोचना गरेका थिए।