पचुई सीमावर्ती क्षेत्रमा फेरि बाघ देखियो, स्थानीय त्रसित

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण
पचुई सीमावर्ती क्षेत्रमा फेरि बाघ देखियो, स्थानीय त्रसित

कञ्चनपुरको बेलौरी नपा ८ पचुई सीमावारी बाघ देखिन थालेपछि स्थानीय त्रसित भएर जम्मा हुँदै।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी पचुई सीमावर्ती गाँउमा फेरि बाघ देखिन थालेको छ। (नेपाल–भारत) बेलौरी नगरपालिका ८ पचुई सीमावर्ती गाँउमा बाघ देखिन थालेको हो।

८ वैशाख (शुक्रबार सोही क्षेत्रमा ४५ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेर मारेको थियो। गंगामाथि आक्रमण गर्ने पोथी बाघलाई नियन्त्रणमा लिएर चिडिखानामा पुर्याए पनि सो क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका छन्।

बाघको आक्रमणबाट घाँस काट्न खेतमा गएकी गंगाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि आइतबार दिउँसो पनि पचुई पारी भारतको राधापुरी गाँउमा घाँस काट्न गएका नेपाल महिलाले बाघ देखेपछि भागेका थिए। 

बेलौरी नगरपालिका ८ का वडाध्यक्ष विश्राम रानाले फेरि सीमावर्ती गाउँ भारततर्फ बाघ देखिन थालेको बताए। वडाध्यक्ष रानाका अनुसार पचुईकी मिच्चु रानासहितका तीन महिला घाँस काट्नका लागि भारतको राधापुरी गाँउमा गएका थिए।
 
घाँस काट्ने क्रममा बाघ देखेपछि उनीहरू भागेर भारतीय सीमा सुरक्षा बल(एसएसबी)को क्याम्पतिरै गएका थिए। 

नेपाल–भारत बेलौरी नगरपालिका ८ पचुई क्षेत्र ३८ नम्बर सीमा पिलरदेखि झन्डै १२ सय मिटर पूर्वी क्षेत्रको उत्तर दक्षिणमा बस्ती नभएको उखुबारी नाला छ। उक्त क्षेत्र दुवैतर्फ मानवबस्ती नभएकाले बाघले गतिविधि बढाइरहेको स्थानीयको भनाइ छ। 

स्थानीय एव बेलौरी नगरपालिका कर्मचारी अशोक पाण्डेले बाघले आक्रमण गरेपछि अर्को बाघ गाउँमा देखिन थालेपछि स्थानीय त्रसित भएको बताए।

‘३८ नम्बर पिलरदेखि कालापुलसम्म यात्रा गर्न हामीले डरै डरले गर्नुपरेको छ, ‘उनले भने, ‘बीच गाउँबस्तीमै बाघको त्रास छ।’ 
उक्त क्षेत्रमा सडक समेत कालोपत्रे नभएकाले बाघको त्रासले तीव्रगतिमा गुडाउनुपर्ने बाध्यताले सडक दुर्घटना जोखिमसमेत निम्त्याएको बताए। 

‘उक्त हुलाकी सडक भारतीय पक्षबाट कालोपत्रे गर्न दिएको छैन, ‘उनले भने, ‘त्यही सडकको उत्तर र दक्षिणमा बाघले मानिसमाथि आक्रमणदेखि देखिन थालेको छ।’ 

पाण्डेले नेपाल भारत दुवैतर्फबाट बाघ देखिने क्षेत्रमा बिहान र राति संयुक्त तथा एकल गस्ती गर्नुपर्नेमा जोड दिए। 

बेलौरी नगरपालिका ७ पहुलाहका स्थानीय दिनेश चौधरीले बाघले मानिसमाथि आक्रमण गरेपछि स्थानीय महिला खेतमा घाँस काट्न जान डराउने गरेको बताए। ‘बाघको आक्रमणपछि महिला त्रसित भएका छन, ‘उनले भने, ‘एक्लाएक्लै पनि खेतमा जाने महिला अहिले समूहमा मात्रै जाने गरेका छन्।’ 

बेलौरी नगरपालिका मेयर पोतिलाल  चौधरीले बाघको गतिविधि हुने स्थल क्षेत्रमा भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडक निर्माण हुनुपर्ने, विद्युतको पोल विस्तारदेखि थप बाघको नियन्त्रणका लागि आवश्यक पहल गरिदिन स्थानीय प्रशासनसँग अनुरोध गरेका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघ देखिन थालेका खबर खाएपछि वन कार्यालय, एनटिएनसीलाई खोजेर के गर्न सकिन्छ भन्ने विषयमा समन्वय भइरहेको बताए।

‘मानिसमाथि भौतिक आक्रमणबाट जोगिनका लागि सशस्त्र प्रहरी र प्रहरीलाई सो क्षेत्रमा गस्ती बढाउन निर्देशन दिएका छौँ, ‘प्रजिअ अर्यालले भने, ‘आवश्यक सबै सरोकारवाला पक्षसँग समन्वय गरेर बाघबाट हुने थप क्षति रोक्ने हामी उपायमा जुटेका छौँ।’ 
 

सुझावित समाचार