प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् । केहीबेर अघि प्रचण्ड, घिमिरे र देउवा बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
विगत केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।
यसबीचमा तीन दिनयता ओलीको स्वास्थ्यमा समस्या भएपछि छलफल अवरुद्ध हुन पुगेकाले प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओलीनिवास बालकोट पुगी स्वास्थ्यलाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको सचिवालयको भनाइ छ ।
सभामुख घिमिरे अलि अगाडि एक्लै बालकोट पुगेका थिए भने प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवा एउटै गाडीमा पछाडि पुगेका थिए ।