३७ वर्षदेखि सडकमा घिस्रिँदै माधव

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

जाे कहिल्यै दरिलो भएर उभिन सकेनन्

झुप्प दारी । नटेक्ने खुट्टा । धुलाम्य शरीर । नीलडाम भएका हात । काँधमा राधेराधे । टुट्दैन एकपाखे झोला । चर्किने घाम, दर्किने पानी र मुटु खाने चिसो थेगेको वर्षौँ भयो । बच्चोमा ताते गरेनन् । संगीहरूसँग दौड्न पाएनन् । आफू ठूलो बनेको कहिल्यै नापेनन् । बैंसको वेगमा पनि दरिलो गरेर उभिएनन् । घरको एक्लो छोरा भए पनि बुढेसकालका बाबा र आमालाई हिम्मत थप्न सकेनन् । जिन्दगीको दौडमा उनका कैयौँ सहयात्री छुटे । आँखाले देखेको ठाउँ आफ्नो भएन । जसका कारण कैयौँपटक मन टुटे । यो देशको परिवर्तनका लागि माधवले उभिएर नसके पनि स्वाभिमानका साथ भोट हाले । तर, घिस्रिनेहरूको जीवनस्तर त माथि उठेन नै । घिस्रिने बाटोसमेत स्तरीय बनेनन् ।

रेसुंगा नगरपालिका– ६ का ३७ वर्षीय माधव मरासिनीले सडकमा भेटिएका सबैसँग आफ्नो दु:ख पोख्दैनन् । किनकि उनीसँग खुसीले बाँड्ने सुख कहित्यै आएन । उनी बुधबार जिल्ला प्रशासन कार्यालय गुल्मीअगाडि नयाँ पत्रिकाकर्मीसँग भेटिए । तम्घास बजारमा पछिल्लो समय लगभग भेटिन्छन्, माधव । बजारका हतार बटुवाको भिडमा घिस्रिएर हिँड्ने माधवलाई थुप्रैले उछिन्छन् । कोखबाट कुद्ने गाडीको जोखिमसँगै कैयौँपटक हिँड्नेहरूका खुट्टा उनको हातमाथि परेका छन् । उनले कच्ची सडकमा घिस्रिँदा घोच्ने ढुंगाहरूबारे कसैलाई भनेका छैनन् । पक्की सडक तातेर कम्मर र हातका पञ्जा पोल्दा अरूले सुन्ने गरेर चिच्याएका छैनन्, उनी । हिलो र धुलोभित्रका हजारौँ पीडा मरासिनीभित्रै गुम्सिए । उनी तम्घास बजारमा घन्टाैँ घिस्रिएर हिँड्छन् । मन खानेले खाली झोलामा दुई–चार रुपैयाँ राख्नेबाहेक धेरैले कठै मात्रै भन्छन् । 

पुरानो शारीरिक समस्यासँगै थपिएका रोगका कारण माधव बाध्यताले सदरमुकाम आउँछन् । उनको घर तम्घासबाट सात किलोमिटर टाढा पर्छ । उनी महिनामा तीन–चारपटक तम्घास आउँछन् । घरबाट सार्वजनिक गाडीमा बजारनजिक आउँछन् । सधैँ गाडी अनुकूल पर्दैन । कोही मनकारी भेटिए चढाउँछन् । तर, सार्वजनिक गाडीहरूले कार्ड देखाएर पनि भाडा मागेपछि पैसाको कारण पनि हिँड्नुपर्ने अवस्था रहेको मरासिनीले बताए । उनका अनुसार भाडाका सवारीसाधनले घरबाट बजारसम्म आएको ५० देखि एक सयसम्म लिने गरेका छन् । 
 
छोरो पढाउने धोको

घरमा सात वर्षका छोरा छन् । श्रीमती मानसिक रूपमा तन्दुरुस्त छैनन् । वृद्ध बाबाआमा, आफ्नो र श्रीमतीको स्वास्थ्य अवस्थाको कारण छोराको पढाइको चिन्ता माधवलाई बढी छ । ‘मलाई भगवानले खुट्टा दिएनन् । जन्मअनुसारको कर्म स्विकारेँ,’ उनले भने, ‘छोरा राम्रो भएकाले राम्रो पढाउने धोको छ ।’ उनका अनुसार बुबा रुमाकान्त बुटवलमा भैँसी फर्ममा काम गर्छन् । 

आमा धनकलालाई छोरा–नातिको स्याहारमै वृद्धावस्थाले छोयो । माधव बिरामी परेपछि देशका विभिन्न स्थान र भारतमा पुर्‍याए पनि कुनै उपाय नभएपछि घरमै बसेको आमाले बताइन् । चार बहिनी छोरी र माधव एउटा छोरा हुन् । 

सानोमा बोकेर चार–पाँच वर्ष स्कुल पुर्‍याए पनि निरन्तरता दिन नसकिएको आमा धनकलाले गुनासो गरिन् । उनले हातले सञ्चालन हुने कुनै सामग्रीको आवश्यक भएको बताइन् । ‘कम्मर तल नचले पनि बाटो पिच भएर हातले सञ्चालन गर्ने साधन भए बाँचुन्जेल चार पाउ टेकेर घिस्रिन पर्दैनथ्याे,’ उनले भनिन्, ‘भोट माग्नेहरूले चोट देख्ने रहेनछन् ।’

See More On

सुझावित समाचार