घर पक्की, शौच खुला स्थानमा

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण

जनता आवासले पक्की घर मात्रै बनाइदियो, आफ्नो जग्गा नभएका विपन्न परिवार खुला स्थानमा शौच गर्न बाध्य

जनता आवास योजनाअन्तर्गत विपन्नले पक्की घर पाए । तर, शौचालय बनाइदिने प्याकेज भने सरकारी योजनामा थिएन । विपन्नले आफ्नै खर्चमा शौचालय बनाउन सकेनन् । त्यसैले पक्की घरमा बस्ने उनीहरू शौच भने खुला स्थानमै गर्न बाध्य छन् । 

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित जनता आवासबाट पक्की घर पाएका रौतहटको चन्द्रपुर नगरपालिका– ५ मोतीपुरका विपन्न दलित समुदाय खुला स्थानमा शौच जान बाध्य भएका हुन् । सहरी विकास तथा भवन कार्यालय पर्साले उपभोक्ता समितिमार्फत पक्की घर बनाइदिएको हो । जब कि रौतहटलाई केही वर्षअघि नै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । 

घर भए पनि शौचालय नभएका कारण आफूहरू शौच गर्न खेतबारीमा जानुपर्ने बाध्यता रहेको मोतीपुरकी सुनरिया देवीले बताइन् । मोतीपुरमा ३६ परिवारका लागि घर निर्माण गरिएको छ । घर निर्माण उपभोक्ता समितिकी अध्यक्ष मञ्जु माझी मुसहरले झुपडीमा बस्दै आएकोमा अहिले जस्तापाताको घर पाएपछि खुसी लागेको, तर शौचालयको अभाव खड्किएको बताइन् । ‘घरसँगै शौचालय पनि बनाइदिएको भए राम्रो हुन्थ्यो,’ उनले भनिन् ।

मन्त्रालयले दुईकोठे पक्की भवन बनाउन बजेट विनियोजन गरे पनि शौचालय निर्माणका लागि बजेट विनियोजन नगरेको सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख मदन रायले बताए । आर्थिक वर्ष ०७६/७७ देखि सञ्चालनमा रहेको गरिब तथा दलित समुदायका लागि आवासको व्यवस्थापन गर्ने उद्देश्यले जनता आवास कार्यक्रम सुुरु भएको थियो । केही दिनअघि चन्द्रपुर नगरपालिका– ५ मोतीपुर पुगेका निमित्त कार्यालय प्रमुख रायसँग स्थानीयले शौचालय नभएको गुनासो गरेका थिए ।

स्थानीय युवा सरोज बछारका अनुसार कतिपयको आफ्नो जमिनसमेत नभएकाले शौचालय बनाउन सक्ने अवस्था छैन । जमिन भएकाले पनि आर्थिक अभावमा शौचालय बनाउन नसक्ने उनले बताए । सहरी विकास तथा भवन कार्यालयले दुईकोठे पक्की घर बनाएर दिए पनि शौचालय बनाउनेतिर ध्यान नदिएको उनको गुनासो छ । 

सरकारको योजनाअनुसार रौतहटमा दुई हजार तीन सय ५० परिवारलाई पक्की घर निर्माण गर्ने कार्य अघि बढेको छ । तर, शौचालय निर्माणका लागि रकम नभएको प्रमुख रायले बताए । विपन्न समुदायको घर बनाउन एक परिवारलाई सरकारले तीन लाख ३६ हजार रुपैयाँ उपलब्ध गराएको छ । छाना नराखेको घरको छाना राख्ने र रकम भुक्तानी दिन स्थलगत अनुगमन सुरु गरिए पनि स्थानीयले भने घरसँगै शौचालयसमेत हुनुपर्ने माग गरेका छन् । प्रमुख रायले रौतहटमा आव ०७६/७७ मा एक हजार घर र आव ०७७/७८ मा १३ सय ५० गरी जम्मा दुई हजार तीन सय ५० घर निर्माण भएको जानकारी दिए । 

त्यस्तै, कतिपयका घर निर्माणसमेत अधुरै छ । रौतहटको राजदेवी नगरपालिका– १ को पथरा, वडा नम्बर ६ को राजदेवी, गौर नगरपालिका– २, इशनाथ नगरपालिका– २ को औरैया, चन्द्रपुर नगरपालिका– ९ को डुमरियामा घरहरू अधुरो रहेकाले विपन्न दलित परिवार समस्यामा छन् । निमित्त कार्यालय प्रमुख मदन रायका अनुसार बारामा १९ सय ३९ मध्ये एक हजार ५० घर निर्माण भई हस्तान्तरण भएको छ भने तीन सय २७ घरको कार्य अन्तिम चरणमा छ । पर्सामा एक हजार सात सय १९ मध्ये एक हजार एक सय ९४ निर्माण कार्य सम्पन्न भइसकेको र सात सय ४६ घर निर्माण अन्तिम चरणमा छ । तर, कुनै पनि घरमा शौचालय भने छैन । 
 

सुझावित समाचार