प्रहरीको सुझबुझ निर्णयले गुमेको २७ लाख फिर्ता

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण

सस्तो मूल्यमा जग्गा मिलाइदिने भन्दै छोरालाई जग्गाधनी बनाएर नेपालीसँग रकम लिई फरार भारतीय नागरिक पक्राउ

सस्तोमा जग्गा खरिद गर्ने प्रलोभनमा २७ लाख गुमेपछि बाग्लुङ नगरपालिका– १४ का ४२ वर्षीय सूर्य सुवेदी छाँगाबाट खसेझैँ भएका थिए । तर, प्रहरीको चालाखीपूर्ण कदमले गुमेको सबै रकम फिर्ता पाएपछि सुवेदी दंग मात्रै परेनन्, प्रहरीप्रति नतमस्तक नै बने । भारत बिहार चैनपुर कुंपडवाका प्रमोद सिंहले बारास्थित निजगढमा सस्तो मूल्यमा जग्गा मिलाइदिने प्रलोभन दिएपछि सुवेदी गत फागुनको अन्तिम साता काठमाडौंबाट हान्निएर निजगढ पुगे । जग्गा चित्त बुझेपछि जग्गाको मूल्य ‘फिक्स’ भयो । ४४ लाख रुपैयाँ ठीक पार्न सिंहले भने । जब रकम बैंकबाट झिकियो, सुवेदीलाई अनेक बहाना देखाएर सिंहले रौतहट इसानाथ गाउँपालिकास्थित बन्जार पुर्याए । 

जग्गाधनीको आवरणमा सिंहले आफ्नै दुई छोरासँग परिचय गराए । केहीबेर द्विपक्षीय छलफल भयो । सिंहले जग्गाधनीलाई रकम दिन सुवेदीलाई भने । आलटाल भएपछि सिंह दबाबमा उत्रिए । केही सीप नचलेपछि सुवेदीले १० लाख रुपैयाँको चेकसहित २७ लाख रुपैयाँ सिंहले भनेको जग्गाधनीलाई दिए । रकम हात पर्नासाथ जग्गाधनी घटनास्थलबाट सुटुक्क हिँडे । 

अलमलिएका सुवेदीले जब जग्गा पास गर्ने विषय झिके, सिंहले अर्को दिनको भाका दिए । मनमा चिसो परेपछि सुवेदीले जग्गाधनीसँग तुरुन्तै टेलिफोन सम्पर्क गरे । सम्पर्क नभएपछि उनी सोधखोजमा जुटे । यही क्रममा जग्गाधनी नक्कली मात्र होइन, उनीहरू सिंहकै छोरा राजन र साजन रहेको खुल्यो । रकम हात पर्नेबित्तिकै उनीहरू भारतको बिहारतर्फ फरार भएको खुलेपछि सुवेदी छाँगाबाट खसेझैँ भए । 

उनी उजुरी लिएर जिल्ला प्रहरी कार्यालय रौतहट पुगे । सुरुमा प्रहरीले उजुरीप्रति चासो देखाएन । हारगुहार गर्दै उनी जिप्रकामा कार्यरत इन्सपेक्टर दिनेश कुँवरकहाँ पुगे । उनले घटनाको बेलिबिस्तार इन्सपेक्टर कुँवरलाई सुनाए । ठगीमा संलग्न अभियुक्त भारतीय नागरिक थिए । र, रकम लिएर उनीहरू भारततर्फ फरार भइसकेका थिए । त्यसो हुँदा उनीहरूलाई पक्राउ गरेर रकम फिर्ता गराउनु चुनौतीपूर्ण कदम थियो । 

तर, प्रहरी निरीक्षक कुँवर चुनौती मोल्न तयार भए । उनी भारतको बिहारतर्फ जान तत्काल तयार भए । घटनामा संलग्न अभियुक्तको नाम, हुलिया र ठेगाना लिए । टोली लिएर उनी भारतको बिहारतर्फ छिरे । नभन्दै ठगीमा संलग्न सिंहलाई पक्राउ गरेर नेपाल ल्याउन उनी सफल भए । र, गुमेको सबै रकम पीडितलाई फिर्ता दिलाए । रौतहट जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहको समूहले सुवेदीलाई गत १ चैतमा रौतहट इसानाथ गाउँपालिकास्थित बन्जराबाट लुटेका थिए । सिंहलाई प्रहरीले बिहारबाट ३ चैतमा पक्राउ गरेको थियो । उनले लुटेको रकम ४ चैतमा फिर्ता गरेका थिए ।

जिप्रका रौतहट प्रमुख एसपी वीरबहादुर बुढामगरले ठगी घटनामा भारतीय नागरिक प्रयोग भएको र उनीहरूलाई भारतबाटैै पक्राउ गरेर ल्याई पीडितको रकम फिर्ता गरिएको बताए । ‘सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा पीडितबाट २७ लाख रुपैयाँ लिएर भारतीय नागरिक फरार भएका रहेछन् । हामीले उनीहरू बस्ने ठाउँ पत्ता लगायौँ । घटनास्थलतर्फ सिभिल ड्रेसमा प्रहरी पठायौँ । ठगीमा संलग्न अभियुक्त पहिचान भएपछि अनेक उपाय लगाएर नेपालको बोर्डरसम्म ल्यायौँ र पक्राउ गर्यौँ । ठगीको रकम बरामद गरेर पीडितलाई फिर्ता गरिसकेका छौँ,’ उनले भने ।

गुमेको रकम फिर्ता पाउँदा पीडित सुवेदी दंग परेका छन् । नयाँ पत्रिकासँगको कुराकानीमा उनले भने, ‘सस्तोमा जग्गा खरिद गर्ने प्रलोभनमा मलाई रौतहट पुर्यायो । जालसाजीपूर्वक मसँग रहेको २७ लाख रुपैयाँ लिएर ठग भारततर्फ फरार भयो । रकम फिर्ता होला भनेर मैले त सोचेकै थिइनँ । प्रहरीको चलाखीपूर्ण कदमले गुमेको रकम फिर्ता भयो ।’

See More On

सुझावित समाचार