मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

विभिन्न पार्टीनिकट किसान संघ–संगठनहरूले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले अनुदान फिर्ता गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारले फागुन २६ गते रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । अर्थमन्त्रालयले किसानलाई दिइँदै आएको करिब ८० प्रतिशतको अनुदानलाई घटाएर ५० प्रतिशतमा झार्न निर्देशन दिएको छ । पहिलो चरणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५९.०४ प्रतिशत अनुदान कायम गरेको छ ।

साे निर्णय अविलम्ब फिर्ता गराउन चैत ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति गठन गरी धर्ना, जुलुस, चक्काजामलगायतका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए ।

उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ ।

सुझावित समाचार