विज्ञहरू भन्छन्– सडक निर्माणसँगै विकासका अन्य पूर्वाधारले गति लिन्छन् । तर, नेपालमा सडक निर्माण नै गतिशून्य छ । दर्जनौँ परियोजना ठेकेदारको बेवास्ताले अलपत्र छन् । पटकपटक म्याद थपिँदा पनि सडक निर्माण सम्पन्न भएका छैनन् । नेपाललाई भारत र चीनसँग जोड्ने राष्ट्रिय गौरवको जोगवनी–किमाथांका सडक होस् या गुल्मी सदरमुकामलाई ग्रामीण भेगसँग जोड्ने सडक, वर्षौँदेखि अलपत्र छन् ।

खाँदबारी–नुम सडक : दुई वर्षमा सक्ने सम्झौता, १९ महिनामा १७ प्रतिशत काम

खाँदबारी–नुम सडकखण्डअन्तर्गत खाँदबारी नगरपालिका– ३ मंगलादेवीथान साइटमा काम गर्दै मजदुर । 

१९ महिनाअघि खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे हुने सम्झौता भएको सुनेपछि भोटखोलाका थुदोक लामा खुसी भए । भोटखोलादेखि नुमसम्मको ३९ किलोमिटर पार गर्न घन्टौँ लाछ । दुई वर्षभित्रै सडक कालोपत्रे हुने सम्झौता थियो । त्यसैले उनलाई अब सास्ती व्यहोर्दै यात्रा गर्ने दुई वर्ष मात्र त हो जस्तो लाग्यो । तर, १९ महिनापछि उनी भन्छन्, ‘यसैगरी सडक बन्ने हो भने वर्षौँसम्म उस्तै सास्ती व्यहोर्नुपर्ने निश्चित छ ।’ यस्तै, अनुभव नुमको विमन पराजुलीको पनि छ ।  

राष्ट्रिय गौरवको आयोजनाभित्र समेटिएको यो राजमार्गको खाँदबारी–नुमखण्डको ३९ किलोमिटर सडक निर्माण अत्यन्त सुस्त छ । भारत, नेपाल र चीन जोड्ने निर्माणाधीन राजमार्गमा जोगमुनीदेखि किमाथांका नाकाको लम्बाइ तीन सय ९० किलोमिटर छ । त्यसमध्ये खाँदबारीदेखि किमाथांकासम्मको दूरी एक सय ६२ किलोमिटर छ । नेपालको सबैभन्दा छोटो र बाह्रै महिना सञ्चालन हुन सक्ने मानवबस्तीसहितको राजमार्ग भए पनि यसको निर्माणमा भइरहेको बेवास्ता हल गर्न सरोकारवालाले खासै चासो देखाएका छैनन् । उक्त सडकखण्डको निर्माणको प्रगति उत्तर–दक्षिण कोसी सडक योजना कार्यालयले हेर्छ । ०६५ मा यो कार्यालय स्थापना हुँदा छिटोभन्दा छिटो किमाथांका नाका खोल्ने एक मात्र उद्देश्य रहेको बताइएको थियो । तर, त्यसैको खाँदबारी–नुम सडकखण्डको ३९ किमि सडक अलपत्र हुँदा कसैले वास्ता गरेको छैन । 

खाँदबारी–नुम सडकखण्डको ठेक्का शर्मा शिवशक्ति जेभीले पाएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी उसले १७ असार ०७८ मा सम्झौता गरेको हो । १९ महिनाको अवधिमा १७ प्रतिशत मात्रै प्रगति भएको उत्तर–दक्षिण कोसी सडक योजनाका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । चाँडो काम सक्न भनेर खाँदबारी–नुम सडकलाई तीन खण्डमा बाँडेर ठेक्का आह्वान भएको थियो । खाँदबारी–थामसेर्कु १४ किलोमिटर, थामसेर्कु–कप्ताने १२ किलोमिटर र कप्ताने–नुम सडक १३ किलोमिटरमा बेग्लाबेग्लै ठेक्का आह्वान भएको थियो । तीनवटै खण्डको ठेक्का शर्मा शिवशक्ति जेभीले पायो । अहिले तीनवटै खण्डमा उल्लेख्य प्रगति भएको छैन । आयोजना इन्जिनियर कोइरालाका अनुसार अहिले सडकको चौडाइ बढाउने, नाला काट्ने, ग्याबिन जाली र वाल लगाउनेलगायत काम भइरहेका छन् । जब कि यी काम धेरै अघि सम्पन्न भइसक्नुपर्ने थियो । 

लो बिडिङ गरेको कम्पनी भन्छ– निर्माण सामग्रीको मूल्य बढ्दा गाह्रो भयो
सम्झौता गरेको अवधिमा भन्दा अहिले निर्माण सामग्रीको मूल्य बढेको, बर्खाको समयमा काम गर्न बाधा परेकाले लक्ष्यअनुसार काम अघि बढ्न नसकेको ठेकेदार पक्षको दाबी छ । तर, यो त्यही ठेकेदार कम्पनी हो, जसले आह्वान भएभन्दा ४८ प्रतिशत घटेर ठेक्का प्रस्ताव गरेको थियो । दुई अर्ब ६० करोड रुपैयाँको ठेक्का आह्वान भएकोमा शर्मा शिवशक्तिले एक अर्ब २७ करोडमा प्रस्ताव गरेको थियो । सबैभन्दा कम मूल्यको प्रस्ताव भएकाले उसैलाई ठेक्का परेको थियो । तर, अहिले कम्पनीले निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले काममा बाधा परिरहेको बताइरहेको छ । 

यात्रा कष्टकर
३९ किलोमिटर सडक पक्की भए संखुवासभा सदरमुकाम बढीमा डेढ घन्टामा पुगिनेछ । अहिले यात्रा गर्दा चार घन्टाभन्दा बढी समय लागिरहेको छ । ठूला खाल्टाखुल्टी र धुलाम्मे सडकका कारण यात्रुले सास्ती व्यहोरिरहेका छन् । त्यति मात्र होइन, यस क्षेत्रका बासिन्दाले हरेक खाद्यवस्तुको मूल्य बढी तिर्नुपरिहेको स्थानीय रविन पराजुलीले बताए । खाँदबारी–नुम सडकखण्डको काम निकै सुस्त भएको गुनासोे पटक–पटक उठेको छ । केही साताअघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सदस्य दीपक खड्का र प्रदेश १ का सदस्य राजेन्द्र कार्कीले असन्तुष्ट व्यक्त गरेका थिए । उनीहरूले समयभित्र काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने बताएका थिए । कहिले–कहिले हुने सर्वदलीय बैठकमा यस्ता सन्दर्भ उठे पनि सुस्त गतिको सडक निर्माणलाई तीव्रता दिन वा निकास लिन अहिलेसम्म कसैले सार्थक पहले गरेका छैनन् । 

नेपालगन्ज–गौघाट सडक : दुई वर्षको ठेक्का, ११ महिनामा १० प्रतिशत काम

कालोपत्रे भत्काएर ग्राभेल गरी अलपत्र पारिएको नेपालगन्ज–गौघाट–मानखोला सडक ।

एक दशकदेखि जीर्ण नेपालगन्ज–गौघाट–मानखोला सडक समयमा निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ । ठाउँ–ठाउँ जीर्ण सडकलाई निर्माण कम्पनीले फोडेर ग्राभेल गरेपछि सर्वसाधारणले झनै सास्ती खेप्न परेको खजुरा गाउँपालिका– २ सिगाउँका ऋषि पोखरेलले गुनासो गरे । 

उक्त सडक निर्माणको जिम्मा कन्काई/गणपति जेभीले पाएको छ । कम्पनीले भ्याटसहित १३ करोड ४३ लाख २४ हजार पाँच सय ९१ रुपैयाँ ६९ पैसामा निर्माण गर्न २४ भदौ ०८१ मा निर्माण सक्ने गरी २५ वैशाख ०७९ मा सम्झौता गरेको थियो । सम्झौतालगत्तै ठाउँ–ठाउँ भत्किएको कालोपत्रे सडक खनेर ग्राभेल गरेपछि आउजाउमा समस्या भएको उनले बताए । नेपालगन्जस्थित गणेशमान चोकदेखि खजुरा गाउँपालिका– २ सिगाउँको दूरी सात किलोमिटर मात्र छ । तर, मोटरसाइलमा उक्त दूरी पार गर्न ३५–४० मिनेट लाग्ने खजुरा गाउँपालिका– २ का अनुराग सन्ज्यालले बताए । 

यो सडक खजुरा गाउँपालिकाको वडा नं. १, २, जानकी गाउँपालिकाको वडा नं. १, २, ३ र नेपालगन्ज उपमहानगरको १७ नंं. वडालाई जोडेको छ । त्यसैगरी बढैयाताल गाउँपालिकाको वडा नं. १, २ र ३ का सर्वसाधारण आउजाउ गर्ने सडक पनि यही हो । नेपालगन्ज–गुलरियाको प्रमुख वैकल्पिक सडकका रूपमा रहेको यो सडक खजुरा–गुलरिया सडकभन्दा छोटो पनि छ । उक्त सडकमा साना–ठूला गरी दैनिक करिब १६ सय गाडी गुड्ने गरेको स्थानीय बताउँछन् ।  

सडक निर्माणको जिम्मा पाएको कन्काई/गणपति जेभीले काममा ढिलाई गर्दा सास्ती खेप्नुपरेको जानकी गाउँपालिका– ३ बन्जाडेका नन्कौ यादवले बताए । उनले सडकमा उड्ने धुलोबाट पकाएको खाना जोगाउन गाह्रो भएको गुनासो गरे । धुलोबाट जोगाउन निर्माण कम्पनीले सडकमा पानी छम्किने सहमति गरे पनि कार्यान्वयन नगरेको जानकी गाउँपालिका– १ बढैयाका रामकुमार धोबीले बताए । धुलोले बालबालिका र वृद्धवृद्धा तथा बिरामीलाई झनै बिरामी बनाएको बताए । 
तर, निर्माण कम्पनीले सम्झौताअनुसार काम भइरहेको जिकिर गरेको छ । कन्काई/गणपति जेभीका तुलसीराम भण्डारीले संघ र प्रदेशको निर्वाचनपछि निर्माणको काम सुरु भएको बताए । उनले अहिलेसम्म १० प्रतिशत काम भइसकेको दाबी गरे । उनले नाली निर्माणको काम भइरहेको बताए । ‘सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले भने । 

पाथीभरा सडक  ठेक्का लागेको एक वर्षसम्म छैन प्रगति

वार्षिक लाखौँ तीर्थयात्रीले आवतजावत गर्ने ताप्लेजुङको पाथीभरा सडकको सुकेटारदेखि काफ्लेपाटीसम्मको कालोपत्रे अझै सुरु भएको छैन । ठेक्का लागेको एक वर्ष बितिसक्दा कामको प्रगति आशाजनक छैन । दुई वर्ष ६ महिनामा सक्ने गरी काठमाडौंको कन्टेक प्रालिले कालोपत्रे गर्ने कामको ठेक्का लिएको थियो । कन्टेकसँग ११ पुस ०७८ मा सुकेटारदेखि काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । ९५ करोडको ठेक्का खुलेकोमा कन्टेकले ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको हो । ०८१ जेठ मसान्तसम्ममा सम्पन्न ठेक्का सम्झौताअनुसार हालसम्ममा करिब ४० प्रतिशत काम हुनुपर्ने थियो । तर, आठ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर–दक्षिण ओलाङचुङगोला सडकका प्रमुख अमिन्द्र खड्काले बताए ।

सोही ठेकेदार कम्पनीले ठेक्का पारेको सुकेपोखरी–छातेढुंगा–ह्वाकु–चोकपुर–हाङपाङ–ढुंगेसाँघु सडकको निगुरादिन–हाङपाङ खण्डमा पनि काम शून्य छ । यहाँ पनि ११ पुस ०७८ मा कन्टेक प्रालिले नै कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो । दुई लेनको बाटो कालोपत्रेका लागि ८० करोडको ठेक्का खुलेकोमा सो कम्पनीले ३६ करोड ६४ लाख ७१ हजारमा ठेक्का पारेको हो । पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको सडक आयोजना प्रमुख खड्काले बताए । ‘पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले टेरेको छैन । दुईवटै सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून देखिएको छ,’ उनले भने ।

गुल्मी सदरमुकाम जोड्ने सडक :  आठ वर्षमा ६ पटक म्याद थप, अझै भएन कालोपत्रे
आठ वर्षदेखि अलपत्र तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक । तस्बिर : नयाँ पत्रिका

गुल्मीका गाउँलाई सदरमुकामसँग जोड्न आठ वर्षअघि सुरु गरिएको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक आयोजना अहिलेसम्म सम्पन्न भएको छैन । यो आयोजनाअन्तर्गत एक वर्षमा सक्ने सम्झौता गरी सम्झौता भएको तम्घास–खाम्सेपानी साढे दुई किलोमिटर खण्ड पटक–पटक गरी ६ पटकसम्म म्याद थप्दा पनि कालोपत्रे हुन सकेको छैन । 

३१ असार ०७१ मा लोहोनी एन्ड ब्रदर्स प्रालि चितवनले यो खण्ड कालोपत्रे सम्पन्न गर्न सात करोड १९ लाख ८७ हजार ७० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ३० चैत ०७२ मा सम्पन्न गर्नुपथ्र्यो । तर, आठ वर्ष हुन लाग्दा पनि सडक कालोपत्रे भएको छैन । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक आयोजना ३२ किलोमिटर लामो छ । त्यसमा सदरमुकामसँग नजिकै रहेको पहिलो खण्डको दूरावस्थाले पूरै सडक आयोजनालाई प्रभावित बनाएको छ । सदरमुकाम तम्घासदेखि सुपाखोलासम्मको खण्ड कालोपत्रे नहुँदा ग्राभेल उप्किएर बिजोग छ । यो आयोजनाका अन्य खण्डमा ग्राभेल भइसकेका सडकको अवस्था पनि बिग्रँदै गएको छ । कालोपत्रे गर्ने बजेट नहुँदा ग्राभेल सडक जीर्ण बन्दै गएका छन् । यद्यपि, केही खण्डमा स्तरोन्नतिको काम चलिरहेको छ । सम्झौता थप्ने, काम नगर्ने, फेरि सम्झौता अवधि बढाउने काम नगर्ने प्रवृत्ति यो सडकमा वर्षौँदेखि चलिरहेको हो । तर, सरोकारवालाले कुनै वास्ता गरेका छैनन् । अख्तियारको प्रतिनिधि जिल्ला प्रशासन, समग्र जिल्लाको विकास निर्माणको अनुगमन गर्ने जिल्ला समन्वय समिति, स्थानीय तह, नागरिक समाज र मिडियाको पहुँच भएकै ठाउँमा साढे दुई किलोमिटर सडक आठ वर्षमा पनि बन्दैन भने योभन्दा टिठलाग्दो अवस्था अरू हुँदैन,’ रेसुंगा नगरपालिका– ७ का विष्णु पन्थीले निराशा व्यक्त गरे । 

सुरुमा तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक पाल्पा सडक डिभिजन कार्यालयले ठेक्का गर्‍यो । त्यसपछि तम्घास–सिमलटारी प्युठान सडक, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीसँग दायित्व हस्तान्तरण भएको छ । सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचितानन्द चौधरीले चिसो मौसम भएकाले तत्काल काम गर्न नसकिएको बताए । निर्माण व्यवसायीसँगै फिल्ड भिजिट भएकाले फागुन पहिलो साताबाट काम सुरु गर्ने चौधरीले बताए । ‘धेरै वर्षमा धेरै कार्यालय घुम्दै सडक पूर्वाधार विकास कार्यालयमा ठेक्का हस्तान्तरण भएको छ । अब तत्काल काम गर्ने योजनामा छौँ,’ उनले भने, ‘कालोपत्रेका पूर्वाधार र आवश्यक सामग्री तयार छ ।’ निर्माण व्यवसायीले अन्तिमपटक जेठ ०८० सम्मका लागि म्याद पाएको छ । 

See More On

सुझावित समाचार