पपुवा न्युगिनी (पिएनजी)ले दिएको एक सय ८० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ धरासायी बनेको छ । पिएनजीका बलरसामु नेपाली ब्याटर निरिह देखिएका छन् । नेपालले लगातार विकेट गुमाइरहेको छ ।
२३ ओभरभित्र नेपालले ७६ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ । २२औँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरी आउट भए । १६ बलमा आठ रन बनाएका दीपेन्द्र सेसे बाओको शिकार बने ।
१८औँ ओभरको पहिलो र पाँचौँ बलमा नेपालले दुई महत्वपूर्ण विकेट गुमायो । पाँचौँ विकेटका रूपमा आरिस सेख डक आउट भएका छन् । तीन बल सामना गरेका सेखलाई असाद भालाले बोल्ड गरे ।
त्यसअघि कप्तान रोहितकुमार पौडेललाई पनि उनले नै पेभेलियन पठाएका थिए । कप्तानी पारीको आशा गरेका नेपाली समर्थक आज पनि निराश बन्न बाध्य भए । ८ बल सामना गरेका उनले एक रन बनाए । युएईसँगको खेलमा पनि रोहित चल्न सकेका थिएनन् ।
त्यसअघि १६औँ ओभरको खेल चलिरहँदा ४६ रनको अवस्थामा नेपालले तेस्रो विकेट पनि गुमाएको थियो । जारी शृंखलामा पहिलोपटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाएर आउट भए ।
सामान्य लक्ष्य पछ्याएको नेपालले आज पनि लगातार अन्तरमा विकेट गुमाइरहेको छ ।
ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए । उनलाई सेमो एलगोले एलबिडब्लु धरापमा पारेका थिए । त्यसपछि सम्हालिएर खेल्नुपर्ने आवश्यकता रहेकोमा पाँचौँ ओभरको पाँचौँ बलमा नेपालले सबैभन्दा अनुभवी खेलाडी टपअर्डर ब्याटर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
२० बलको सामना गरेका ज्ञानेन्द्रले ६ रन बनाए । उनी पनि सेमो एलगोको बलमा क्याटआउट भए । उनको ब्याटबाट लगातार सात म्याचमा रन बन्न सकेको छैन ।
आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पिएनजीले पहिले ब्याटिङ गरेको थियो ।
नेपाली बलरहरूले कसिलो बलिङ गरेपछि पिएनजी एक सय ७९ रनमा अलआउट गरेको थियो । ४९.२ ओभरमा अलआउट भएको पिएनजीका तीन ब्याटर रनआउट भएका थिए । पिएनजीका लागि टोनी उराले ३९ र हिरी हिरीले ३१ रनको इनिङ खेले ।
नेपालको तर्फबाट सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।