आइसिसी पुरुष विश्वकप लिग - २ : च्याम्पियन स्कटल्यान्डविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग २ मा च्याम्पियन स्कटल्यान्ड उत्कृष्ट फर्ममा छ । यसको विपरीत घरेलु टोली नेपाल बिस्तारै लयमा आउँदै छ । यस्तो अवस्थामा नेपालले दुई खेलअगाडि नै च्याम्पियन बनिसकेको स्कटल्यान्डको सामना शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्दै छ । विश्वकप छनोटमा पुग्ने आधार कमजोर भए पनि नेपालको लक्ष्य नै पाँचौँ स्थानमा रही एकदिवसीय मान्यता रक्षा गर्नु नै हो । यसै कारण लिग २ को अर्को महत्वपूर्ण खेलमा नेपालले स्कटल्यान्डलाई हराउनुपर्ने बाध्यता छ । 

स्कटल्यान्डले ब्याटिङ, फिल्डिङ र बलिङमा एकनासको प्रदर्शन गरिरहेको छ । क्रिकेटमा जितका लागि चाहिने यही तीनवटा मुख्य पक्षमा पकड बनाएको स्कटल्यान्डले नेपालमाथि दबाब राख्ने पक्का छ । लिग २ मा नेपालको प्रदर्शन एकनास हुन सकेन । कहिले ब्याटिङ राम्रो हुँदा बलिङ खराब हुने, बलिङ उत्कृष्ट रहँदा ब्याटिङ भने बिर्सनलायक हुने । 
स्कटल्यान्डजस्तो बलियो टोलीलाई हराउँदै दुई अंक जोड्ने लक्ष्य राखेको नेपालले कडा मिहिनेत गर्नुपर्छ ।

नामिबियासँगको खेलमा स्कटल्यान्डले १० विकेटको जित निकाल्दा ब्याटिङ क्षमता कस्तो भन्ने स्पष्ट भइरहेको छ । अझ यसमा लिगको तेस्रो स्थानमा रहेको नामिबियालाई सस्तै रनमा अलआउट गर्ने स्कटल्यान्डका बलर नेपालमाथि हावी हुन सक्छन् । 

यद्यपि, नेपालमा पहिलोपटक आए पनि स्कटल्यान्डले आफ्नो अनुभव प्रयोग गरिरहेको छ । एक किसिमले स्कटल्यान्डलाई टियूको पिच नौलोजस्तो देखिएन । मैदानको सबै क्षेत्रमा स्कटल्यान्ड अब्बल नै छ । आफ्नै घरेलु मैदान तथा समर्थकबीच नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई चुनौती दिने अपेक्षा गरिएको छ । नयाँ प्रशिक्षक मोन्टे देसाईको प्रशिक्षणको पहिलो एकदिवसीय खेलमै नेपालले आफ्नो विशाल लक्ष्य पार गरेको थियो । 

त्यही मनोबललाई निरन्तरता दिन नेपाली खेलाडी तयार छन् । तर, स्कटल्यान्डलाई कसरी रोक्ने भन्ने चिन्ता पनि सँगसँगै उब्जिएको छ । नामिबियाको खेलमा करण केसीले पाँच तथा सन्दीप लामिछानेले तीन विकेट लिए पनि खर्चिलो देखिए । करिअरकै पहिलो एकदिवसीय शतकीय इनिङ्स खेलेका कुशल भुर्तेलले दोस्रो खेलमा विपक्षी बलरलाई चुनौती दिने विश्वास छ । 

 मध्यक्रम चल्ने विश्वास
नामिबियासँगको पहिलो खेलमा नेपालका मध्यक्रम ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गर्न सकेनन् । प्रशिक्षक देसाईसमेत दोस्रो खेलमा मध्यक्रमसँगै महत्वपूर्ण ब्याट्सम्यान चल्नेमा विश्वस्त छन् । स्कटल्यान्डलाई बलियो चुनौती प्रस्तुत गर्ने वा लक्ष्य पछ्याउँदा मध्यक्रमको भूमिका महत्वपूर्ण मान्न सकिन्छ । स्कटल्यान्डका तीव्र गतिका बलरसामु नेपाली ब्याट्सम्यानले धैर्य अपनाउनुपर्ने देखिन्छ । पहिलो खेलमा ओपनर तथा विकेटकिपर आसिफ शेख डक आउट भए । मध्यक्रमका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले दोहोरो रन बनाउन सकेनन् । दोस्रो खेलमा कुशल बेन्चमा पर्न सक्छन् । यस्तोमा दीपेन्द्रले सुधारको मौका पाउने सम्भावना छ । लिग २ मा दीपेन्द्रको प्रदर्शन औसत मानिएको छ । 

 सन्दीप, करण र सोमपालकै भर
स्कटल्यान्डको बलियो ब्याटिङ लाइनअपविरुद्ध नेपालले पूर्वकप्तान सन्दीप, करण केसी तथा सोमपाल कामीमाथि नै बढी विश्वास गरेको छ । नेपालले ओपरन जर्ज मुन्सेलाई सुरुमै रोक्नुपर्छ । उनले नामिबियाविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै ६१ बलमा एक सय तीन रन बनाएका थिए ।

पहिलो खेलमा नामिबियाविरुद्ध करणले सर्वाधिक पाँच विकेट लिएका थिए । यसैगरी, लगभग ६ महिनापछि मैदान फर्किएका सन्दीप पनि बिस्तारै फर्ममा आइरहेका छन् । सन्दीपको आगमनले नेपालको स्पिन पक्ष बलियो देखिन्छ । सुरुवाती स्पेलमा फास्ट बलरले राम्रो प्रदर्शन गर्न सकेको अवस्थामा स्कटल्यान्ड दबाबमा आउन सक्छन् । त्यसपछि मध्यक्रममा स्पिनर हावी हुन मौका पाउनेछन् । 

सुझावित समाचार