टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको अधिकारीहरूले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्यांकअनुसार भूकम्पमा परेर ज्यान जानेको संख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।  

दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ । बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीको विपत् व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।  

भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।  

यसअघि टर्कीको विपत् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकालाई अस्पताल पुर्याइएको छ र अस्पतालमा नै मानिसहरूको निधन भएका समाचारहरू आइरहेका छन् ।

उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको संख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजारजनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७:७ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६:४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १:२४ मा ७:६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।

धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् । यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

उता अमेरिकी अधिकारीहरूले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएका छन् । संयुक्त राष्ट्रसंघले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ ।     

 

सुझावित समाचार