गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको १६ दिनमा मन्त्रिमण्डलले पूर्णता पाएको छ। यसअघि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमाले, माओवादी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
सोही दिन अधिकारीसँगै माओवादी संसदीय दलका नेतासमेत रहेका तनहुँ १ (ख) बाट निर्वाचित हरिबहादुर चुमान, स्याङ्जा १ (ख) बाट निर्वाचित एमालेकी सीता सुन्दास र राप्रपाका समानुपातिक सांसद स्याङ्जाका पञ्चराम गुरुङ विना विभागीयमन्त्रीमा नियुक्त भएका थिए। २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले २९ पुसमा विश्वासको मतसमेत लिएका थिए।
गण्डकी प्रदेशमा यसअघि १२ मन्त्रालय रहेका थिए। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या १२ बाट घटाएर सात बनाएको थियो।
मन्त्रालय संख्या घटाउने निर्णयसँगै मुख्यमन्त्री अधिकारी सोमबारै काठमाडाैं पुगेका थिए। काठमाडाैं गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरी मंगलबार पोखरा आएलगत्तै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
मंगलबार तीन मन्त्री थपिएसँगै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। मंगलबार नियुक्त तीन मन्त्रीले प्रदेश प्रमुखबाट आफ्नो पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
मंगलबार नियुक्त भएका मन्त्रीहरूमा नवलपुर १ (ख) बाट बाट निर्वाचित एमालेका रोशनबहादुर गाहा थापा, कास्की १ (ख) बाट निर्वाचत एमालेका बेदबहादुर गुरुङ श्याम र म्याग्दी १ (ख) बाट निर्वाचत माओवादीका रेशम जुग्जाली छन्।
मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीहरूको कार्यविभाजनसमेत गरेका छन्।
यस्तो छ मन्त्रीहरूको कार्यविभाजन
१. मुख्यमन्त्री : खगराज अधिकारी (एमाले)
२. भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था : हरिबहादुर चुमान (माओवादी)
३. आर्थिक मामिला : सीताकुमारी सुन्दास (एमाले)
४. सामाजिक विकास तथा स्वास्थ्य : पञ्चराम गुरुङ (राप्रपा)
५. आन्तरिक मामिला तथा कानुन : रोशन बहादुर गाहा थापा (एमाले)
६. कृषि, उर्जा तथा जलस्रोत : बेदबहादुर गुरुङ श्याम (एमाले)
७. उद्योग, पर्यटन वन तथा वातावरण : रेशम बहादुर जुग्जाली (माओवादी)