दुवै छिमेकीसँग ‘कार्ड’ खेल्ने होइन : ओली

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

सत्तारूढ प्रमुख घटक एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन्।

राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि मुलुकमा हुन दिन नहुने उनको भनाइ थियो।

एमाले परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा सुरु गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले दुई छिमेकी मुलुक भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्याए। 

ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने चाहेकोसमेत स्पष्ट पारे। 

उनले भने, ‘हामीले पहिलो कुरा दुईवटा छिमेकीसँग कार्ड खेल्ने होइन भनेर भनेका छौँ। एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन । मिलिटेरिल्ली हामी कतै संलग्न हुँदैनौँ । हामी कसैको पनि मिलिटेरिल्ली बेसिस, कुनै पनि प्रकारका सैनिक गतिविधिहरू वा त्यस्ता अड्डाहरू हाम्रो देशमा राख्न दिँदैनौँ । कसैको पनि राख्यो भने हाम्रा निम्ति त्यो अहितकर हुन्छ । हाम्रा निम्ति त्यो सार्वभौमसत्तामाथिको अतिक्रमण हुन्छ । र, हामी कुनै पनि हिसाबले हाम्रो सार्वभौमसत्ता, हाम्रो स्वाधीनता, हाम्रो स्वतन्त्रता यस कुरामा कुनै कम्प्रमाइज गर्दैनौँ । र, हामी पारस्परिक लाभ र पारस्परिक सम्मानको आधारमा सम्बन्ध कायम गर्छौँ। सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुताको नीतिबाट अगाडि बढ्छौँ।’

उनले व्यापारलाई सन्तुलनतर्फ ल्याउन बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोहीअनुसारको परराष्ट्र नीति लिनुपर्नेसमेत बताए। रोजगारी प्रवर्द्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्नेजस्ता कुराका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

सुझावित समाचार