प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

प्रदेश १ सभाको दोस्रो कार्यकालका लागि बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।  

प्रकाशित कार्यकालिकाअनुसार बिहीबार  सम्पन्न निर्वाचन प्रक्रियाअनुसार माओवादी केन्द्रका ओखलढुंगा जिल्लाबाट निर्वाचित सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका हुन्। 

एमाले, माओवादी, राप्रपा र जसपाको सत्तागठबन्धनमा भएको सहमतिअनुसार गौतमविरुद्ध सभामुख पदका लागि अरू कसैकाे पनि उम्मेदवारी परेन। तोकिएको समय २८ पुससम्म अरू कसैको उम्मेदवारी नपरेपछि बैठक सञ्चालन गर्दै आएका ज्येष्ठ सदस्य गयानन्द मण्डलले बिहीबार गौतम निर्विरोध सभामुख चयन भएको घोषणा सुनाए।

निर्वाचित सभामुख गौतम  सशस्त्र जनयुद्ध कालदेखिका होलटाइमर कार्यकर्ता हुन्। उनी लामो समय  माओवादी केन्द्रको मजदुर विभागमा काम गरेका  विज्ञ पनि  मानिन्छन्। 

उपसभामुख एमालेको भागमा, नाम टुंगो लगाउन बाँकी

प्रदेश १ सभाको उपसभामुखको निर्वाचन आगामी ३० माघमा हुने भएको छ। सहमतिअनुसार उपसभामुख एमालेले पाएको छ। उपसभामुख महिला सासदहरूमध्येबाट निर्वाचित हुनुपर्ने भए पनि अझै एमालेले कसैको नाम टुंगो लगाएको छैन। 

प्रदेश सभाको बैठक मर्यादाविपरीत भएको कांग्रेस सांसदको आपत्ति 

यता कांग्रेसका सांसद केदार कार्कीले प्रदेश सभा सचिवालयले मर्यादा उल्लंघन गरेर संसद् बैठक सञ्चालन गरेको आरोप लगाएका छन्। 

सांसद कार्कीले संसद् सचिवालयले नयाँ सरकारको मिलेमतोमा संसद्को मर्यादलाई समेत बेवास्ता गर्दै नियम मिचेर ज्येष्ठ सदस्यमार्फत बैठक सञ्चालन गराएको आरोप लगाएका हुन्। 

उनले आगामी दिनमा संसदको गरिमामा आँच पुर्याउने कार्य नरोकिएमा विपक्षी सांसदहरू एक भएर संसद्को मर्यादाका लागि प्रतिकारमा उत्रन बाध्य हुने बताए। 

संसद्को बैठकमा मर्यादाबारे  प्रक्षिपक्षी सांसदलाई बोल्न नदिएको र अंगीकार गरेको नियम निलम्बन नगरी संसद् अव्यवस्थित ढंगले सञ्चालन गराएको आरोप सांसद कार्कीको छ। यद्यपि, कार्की सहभागी भएको दल कांग्रेसले भने कुनै आपत्ति जनाएको छैन।  
 

सुझावित समाचार