प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेन्डाको रूपमा अघि सारेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीचको एकीकृत कारोबार सुरु गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले सरकारका न्यूनतम साझा कार्यक्रममा सुशासन, प्रभावकारी भूमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तर्निहित निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्नेलगायतका कार्यक्रम समावेश गरिएको जानकारी दिए। उनले वित्तीय, मौद्रिक, पुँजीबजर, सहकारी, बिमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरक रूपमा घनीभूत गराउने निर्णय लिएका छौँ । अर्थतन्त्रका समस्या समाधानका लागि हामी छिटो, छिटो प्रभावकारी दिशामा अघि बढ्दै छौँ,’ उनले भने।