प्रदेश १ मा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रमुख परशुराम खापुङले २४ पुस अपराह्न ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश १ मा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान भएको छ ।
संविधानको यो धारामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । ४ मंसिरमा भएको निर्वाचनबाट कुनै पनि दलले एकल बहुमत हासिल नगरेकाले प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
यससँगै दलहरू सरकार गठनको गृहकार्यमा जुटेका छन् । हालैका दिनमा केन्द्रमा बनेको नयाँ सत्तागठबन्धनकै निरन्तरता प्रदेशमा पनि हुने देखिएको छ । यहाँ एमाले, माओवादी, राप्रपा र जसपाको समर्थनमा नयाँ सरकार बन्ने करिब निश्चित छ । ९३ सदस्यीय प्रदेश सभामा यी चार दल मिल्दा सांसदको संख्या ६० पुग्छ । एमालेसँग ४०, माओवादीसँग १३, राप्रपासँग ६ र जसपासँग ६ सांसद छन् । यहाँ दोस्रो ठूला दल कांग्रेससँग २९ सांसद छन् ।
एक्लै झन्डै बहुमतनजिक रहेकाले मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको बलियो दाबी छ । १३ सांसद रहेको माओवादीको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । तर, आङ्बोको दाबी कार्कीको जति बलियो छैन । सरकारको नेतृत्व एमालेले गरे प्रदेश सभाको नेतृत्व अर्थात् सभामुख आफूले पाउनुपर्ने माओवादीको दाबी छ ।
एमालेका ४० मध्ये २५ प्रत्यक्ष र १५ समानुपातिकबाट निर्वाचित भएका हुन् । दोस्रो दल कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सांसद छन् । माओवादीका प्रत्यक्षमा नौ र समानुपातिकमा चार गरी १३, राप्रपाका प्रत्यक्षतर्फ दुई र समानुपातिकमा चार गरी ६, एकीकृत समाजवादीका प्रत्यक्ष तीन र समानुपातिक एक गरी चार तथा जनता समाजवादीको समानुपातिक एक सांसद छन् ।
एमाले सरकारको विकल्प छैन
हिक्मत कार्की, नेता, एमाले संसदीय दल
प्रदेश १ मा सबैभन्दा ठूलो भएकाले स्वाभाविक रूपमा सरकारको नेतृत्व एमालेले नै गर्छ । यसमा कुनै विकल्प छैन, कसैसँग अर्को कुनै सम्झौता हुँदैन । बरु हामी सरकारमा सहभागी दलहरूलाई मन्त्रालय बाँडफाँड कसरी गर्ने भन्नेबारे भने छलफलमा छौँ ।
प्रतिपक्षको भूमिका निभाउनेछौँ
उद्धव थापा, नेता, कांग्रेस संसदीय दल
केन्द्रमा अहिलेको सत्तागठबन्धन हेर्दा उहाँहरूको स्पष्ट बहुमत देखिन्छ । त्यसैले मुख्यमन्त्रीमा हाम्रो दाबी रहँदैन । संघीयताको विरोध गर्दै प्रश्न उठिरहेका छन् । प्रतिपक्षमा रहेर संघीयताको असल अभ्यासमा योगदान गर्नेछौँ ।
अधिवेशन सुरु
प्रदेश १ सभाको अधिवेशन आइतबारबाट सुरु भएको छ । नवनिर्वाचित सांसदहरूको ११ पुसमा शपथग्रहण सम्पन्न भएपछि आइतबारबाट अधिवेशन सुरु भएको हो । पहिलो बैठकको अध्यक्षता ७९ वर्षीय ज्येष्ठ सांसद गयानन्द मण्डल गन्गाईंले गरे ।
बैठकले प्रदेश सभा नियमावली, २०७४ लाई अंगीकार गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । प्रदेश १ सरकारले जारी गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७९ सभामा टेबुल भएको छ । दुवै अध्यादेश आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले टेबुल गरेका हुन् । सभाको अर्को बैठक २५ पुसमा बस्नेछ ।