प्रदूषण जाँचमा फेल २१ वटा गाडी वातावरण विभागको कारबाहीमा

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

वातावरण विभागले प्रदूषण जाँचपास नभएका सवारीसाधनका धनी–चालकलाई कारबाही गर्न थालेको छ । यही क्रममा विभागले शुक्रबार पाँचवटा र आइतबार १६ गरी २१ वटा चारपांग्रे सवारीसाधनका धनी–चालकलाई जनही पाँच हजार जरिवाना गरेको हो । प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले आइतबार कोटेश्वरमा छड्के अनुगमन गरेका थिए ।

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आइतबार ३२ सवारीसाधन जाँच गर्दा १६ वटाले प्रदूषण जाँच पास गर्न सकेनन् । ती सबै चारपांग्रे (बस, ट्रक र माइक्रो) हुन् । ‘प्रदूषण जाँच गर्दा फेल भएका सवारीसाधनका कागजात जफत गरेका छौँ । पहिलोपटकका लागि जनही पाँच हजारका दरले जरिवाना गरिएको छ,’ महानिर्देशक घिमिरेले भने, ‘मर्मत गराएर पुनः परीक्षणका लागि आउन भनेका छौँ । फेल भए फेरि जरिवाना हुन्छ ।’

नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार ठूला तथा सार्वजनिक सवारीले ६–६ महिनामा तथा साना तथा मझौला साधनले एक वर्षमा एकपटक सवारीको प्राविधिक जाँच गराउँदा प्रदूषण जाँच पनि गराउनुपर्छ । 

नेपाल सवारी प्रदूषण मापदण्ड, ०६९ अनुसार ठूला तथा सार्वजनिक सवारीले ६–६ महिनामा तथा साना तथा मझौला साधनले एक वर्षमा एकपटक सवारीको प्राविधिक जाँच गराउँदा प्रदूषण जाँच पनि गराउनुपर्छ । परीक्षण पास नभए रुट इजाजत निलम्बन, सवारीसाधान गुडाउन नपाउने, आवश्यक मर्मत–सम्भारपश्चात् पुनः प्रदूषण चेकजाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने व्यवस्था छ  ।

पेट्रोल तथा ग्यासबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँको मात्रा ग्यास एनालाइजरमार्फत नापिन्छ, सवारीसाधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइडको मात्रा तीन प्रतिशत हुनुपर्ने मापदण्ड छ । डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँ जाँच ‘डिजेल स्मोक मिटर’मार्फत गरिन्छ, यसमा धुँवाको मात्रा २.४४ एचएसयू हुनुपर्ने मापदण्ड छ ।

मर्मत गर्ने भनिएका सवारीसाधन फेरि फेल
विभागले यसअघि छड्के जाँचका क्रममा मर्मत गर्न भनेकामध्ये ६ वटा सवारीसाधन फेरि फेल भएका छन् । विभागले १६ मंसिरदेखि मसान्तसम्म सवारीसाधनको छड्के जाँच गरेको थियो । यो क्रममा दुई सय सवारीसाधन प्रदूषण जाँचमा फेल भएका थिए ।

तर, आइतबार कोटेश्वरमा छड्के गर्दा फेला परेकामध्ये ६ वटा सवारीसाधनले प्रदूषण जाँच पास गर्न नसकेपछि कारबाही गरिएको विभागका महानिर्देशक घिमिरेले जनाए । ‘यसअघि जरिवाना गरेका थिएनौँ, पुसबाट जरिवाना हुन लागेको हो,’ उनले भने । वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने र सवारी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ । पहिलोपटक पाँच हजार जरिवाना भइरहे पनि पटके जाँचमा जरिवाना थपिँदै जानेछ । 

सुझावित समाचार