प्रधानमन्त्री र राष्ट्रपतिमा कांग्रेस र माओवादी, राष्ट्रपति वा सभामुखमा एकीकृत समाजवादीको दाबी
निर्वाचन आयोगले चुनावी परिणामको प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रमुख दलहरू सरकार गठनका लागि औपचारिक संवादमा जुटेका छैनन् । यद्यपि, सत्तागठबन्धनका नेताहरूले गठबन्धनकै सरकारले निरन्तरता पाउने दाबी गरेका छन् ।
सत्तागठबन्धनमा आबद्ध दल शक्ति बाँडफाँडमा छलफल प्रवेश नगरेको र एमालेले समेत अग्रसरता देखाएकाले सरकारको समीकरण टुंगो लागिसकेको छैन । कांग्रेस र माओवादी दुवैले अनौपचारिक रूपमा पहिले आफूले सरकारको नेतृत्व गर्नुपर्ने दाबी गरेका छन् । सत्तागठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेशका सभामुख र उपसभामुखमा भागबन्डा मिलाउनुपर्नेछ ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेको छ । शक्ति बाँडफाँडको टुंगो नलाग्दै कांगे्रसमा प्रधानमन्त्रीका ६ आकांक्षी देखापरेका छन् । जसमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला र प्रकाशमान सिंह आकांक्षी छन् । पुस पहिलो साता कांग्रेसले दलको नेता छान्ने तयारी गरेको छ । सबैजना दलको नेता बन्न खोजेका छन् ।
शक्ति बाँडफाँड टुंगो लाग्दा कांग्रेसले राष्ट्रपति पाउने अवस्थामा नेता पौडेलको नाम पनि चर्चामा छ । यसबाहेक कांग्रेसमा दलित र जनजातिबाट राष्ट्रपति बनाउनुपर्ने माग पनि छ । जनजातिबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङको नाम कांग्रेस वृत्तमा चर्चामा छ । ‘अब जनजातिबाट राष्ट्रपति बन्नुपर्छ । त्यसका लागि मेरो योगदान र अनुभव पर्याप्त छ,’ श्रेष्ठले भने । राष्ट्रपतिमा गैरराजनीतिक व्यक्ति आउन नसक्ने उनले दाबी गरे । ‘गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने त्यो हल्ला मात्र हो । राजनीतिबाहिरको व्यक्ति राष्ट्रपति बन्ने कुनै सम्भावना छैन,’ श्रेष्ठले भने ।
दलित समुदायबाट राष्ट्रपतिका लागि नेता मानबहादुर विश्वकर्मा लबिङमा लागेका छन् । उनले आफूलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव बोकेर बिहीबार प्रधानमन्त्री देउवालाई भेटेका थिए । विश्वकर्माले राष्ट्रपति नपाए उपराष्ट्रपतिमा भए पनि समेट्न आग्रह गरेका छन् ।
त्यस्तै, सभामुख बन्ने आकांक्षा बोकेर नेता अर्जुननरसिंह केसीले दौडधुप गरिरहेका छन् । केसीले आइतबार एमाले अध्यक्ष केपी ओली, सोमबार माओवादी अध्यक्ष प्रचण्ड, बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका थिए । केसीले सभामुख कांग्रेसले पाउने अवस्थामा आफूले पाउनुपर्ने भन्दै भेटघाटलाई तीव्रता दिइरहेका छन् । ‘सभामुख संवेदनशील पद हो । म सबै रूपमा योग्य छु । हिजो पनि संसद्मा एक्लो उभिनेमा म थिएँ । साथीहरूको सदासयता रहेको अवस्थामा जिम्मेवारी पाउने अवस्थामा तयार छु,’ उनले भने ।
प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना
माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख गठबन्धनका प्रमुख तीन दलले लिनुपर्ने मत समाजवादीको छ ।
समीक्षा, कार्यविभाजन र साझा नीति तथा कार्यक्रम टुंग्याउने तयारी गठबन्धनको छ । स्रोतका अनुसार सत्तागठबन्धनका प्रमुख दलहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति निर्वाचनअघि नै भइसकेको छ ।
माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका एक्ला दाबेदार छन् । राष्ट्रपतिमा भने वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान सभामुख अग्नि सापकोटा र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा दाबेदार छन् । उपमहासचिव शक्ति बस्नेतले शक्ति बाँडफाँडको विषय टुंगिन बाँकी रहेको बताए । ‘गठबन्धनबाट सरकार बनाउँदा ठूलो–सानो भन्ने कुरा हुँदैन । कर्णाली प्रदेशमा कांग्रेस तेस्रो पार्टी थियो, तर कर्णालीमा गठबन्धनका कारण कर्णालीको मुख्यमन्त्री बन्न सम्भव भयो । गठबन्धनबाट बन्ने हो,’ उनले भने ।
माओवादी महासचिव देव गुरुङले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दुईमध्ये एक प्रचण्ड रहेकाले देशको नेतृत्वमा दाबी रहनु स्वाभाविक रहेको बताए । ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । अर्का एक हस्ताक्षरकर्ताको नाताले हाम्रो पार्टीको अध्यक्षको दाबी स्वाभाविक हो । त्रिशंकु संसद् भएकाले गठबन्धनमा छलफलको आधारमा टुंगो लाग्छ,’ उनले भने ।
सरकार बनाउने तयारीस्वरूप दलहरूबीच भेटघाट र छलफल भइराखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् । माओवादी महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग मंगलबार बेलुका छलफल गरेका छन् । उनले सामान्य छलफल भएको र सत्ता समीकरणबारे कुराकानी नभएको दाबी गरे ।
एकीकृत समाजवादीबाट राष्ट्रपतिमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दाबेदार छन् । अध्यक्ष नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ । तर, नेपाल स्वयंले राष्ट्रपतिमा आफ्नो दाबी प्रस्तुत गरेका छैनन् । सभामुखमा उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । स्थायी कमिटी सदस्य भानुभक्त जोशी पनि दाबेदार छन् । ‘दलहरूबीचको छलफलबाट सबै विषय टुंगो लाग्छ । गठबन्धनका मुख्य तीन दलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिँदा स्वाभाविक हुन्छ भन्ने हाम्रो धारणा छ,’ एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भने ।