ट्राफिक प्रहरी भन्छ– ठूलो संख्यामा फर्किसकेका छैनन्, भोलिदेखि वृद्धि होला
कंलकीमा सोमबार साँझ गाडीबाट झर्दै गरेका स्याङ्जाका मित्रबन्धुु भट्टराई भेटिए । मतदानका लागि स्याङ्जा पुुगेका उनी सोमबार सवारीसाधन चलेपछि हतारिँदै सपरिवार काठमाडौं फर्किएका हुन् । उनीसँग दुुईजना भतिजा र तीन छोरी पनि थिए । आफन्त नै प्रतिनिधिसभाका लागि उम्मेदवार भएकाले मतदानका बाध्यताले जानुपरेको बताए । ‘आफन्तले नै उम्मेदवारी दिएपछि भोट हाल्न जानैपर्यो । रोजिरोटीका लागि फेरि काठमाडौं नै नआई सुख छैन । त्यही भएर बिहानै गाडी चढ्यौँ,’ उनले भने । उम्मेदवार बनेका आफन्तले मतदानको दिन मात्रै भए पनि सहयोग गरिदिन भनेपछि गाउँ गएको उनी बताउँछन् । भन्छन्, ‘प्रचारका लागि पहिला जान मिलेन । मतदानमा त जानैपर्यो नि ।’
राजेन्द्रप्रसाद भट्ट प्रवक्ता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय
पछिल्लो २४ घन्टामा दुई हजार एक सय ९४ सवारीसाधनमार्फत आठ हजार दुई सय ९१ यात्रु उपत्यका भित्रिएका छन् । नोटिस नै हुने गरी उपत्यकाबाहिरबाट आउने बढेका छैनन् । आज बल्ल हिँडे होलान् । भोलिदेखि आउने क्रम वृद्धि होला ।
भट्टराईजस्तै धादिङ सिद्धलेकबाट फर्किएका असिम खनाललाई पनि सोमबार साँझ कंलकीमा भेटियो । उनी पनि शुक्रबार काठमाडौंबाट भोट हाल्न धादिङ पुगेका थिए । आइतबार भोट हालेर सोमबार काठमाडौं फर्किएका हुन् । भोट हाल्न गाउँ गएकाहरू सबै काठमाडौं फर्किन हतार गरेका कारण मुस्किलले गाडी भेटेको उनले बताए । बेलुकातिर मुस्किलले गाडी पाएको उनले बताए । उनले भने, ‘काठमाडौंबाट नजिकै भएर दिउँसोतिर गाडी चढे पनि बेलुुका आइपुगियो । नत्र बिहानतिर त सबैजसो गाडीमा पाइला राख्ने ठाउँ थिएन ।’
पछिल्लो २४ घन्टामा भित्रिए आठ हजार
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आ–आफ्नो जिल्ला गएका मतदाताहरू काठमाडौं उपत्यका फर्किन थालेका छन् । सोमबार पनि सार्वजनिक बिदा नै भएका कारण उपत्यका फर्किनेको संख्या भने न्यून रहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार पछिल्लो २४ घन्टामा जम्मा दुई हजार एक सय ९४ विभिन्न सवारीसाधनमा आठ हजार दुई सय ९१ यात्रु उपत्यका भित्रिएका छन् । ‘पछिल्लो २४ घन्टामा दुई हजार एक सय ९४ सवारीसाधनमार्फत आठ हजार दुई सय ९१ जना यात्रु उपत्यका भित्रिएका छन्,’ प्रवक्ता भट्टले भने, ‘नोटिस नै हुने गरी उपत्यकाबाहिरबाट आउने बढेका छैनन् । आज बल्ल हिँडे होलान् । भोलिदेखि आउने क्रम वृद्धि होला ।,’
उपत्यका भित्रिने न्यून
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका चारवटै नाकाबाट उपत्यका भित्रिनेको संख्या न्यून रहेको छ । बिहान तथा बेलुकी लामो दूरीका बस कोटेश्वर, बालाजु, कलंकी, गौशाला, नयाँ बसपार्क, भक्तपुर जगाती, बल्खुलगायत क्षेत्र हुँदै काठमाडौं फर्किने गर्छन् । सामान्य समयमा दैनिक ४० देखि ४५ हजार यात्रु भित्रिने र बाहिरिने गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार मतदानका लागि भन्दै गत साताको मंगलबार ४० हजार तीन सय ५९, बुधबार ५५ हजार तीन सय ४५, बिहीबार ६३ हजार तीन सय २४ र शुक्रबार दिउँसोसम्ममा ८० हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए । करिब पाँच यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको अनुमान छ ।
निर्वाचन आयोगले चुनावी सुरक्षालाई ध्यानमा राख्दै मतदानको अघिल्लो दिन अर्थात् शनिबार राति १२ बजेदेखि यातायातमा रोक लगाएको थियो । चुनावलाई लक्षित गर्दै सरकारले शैक्षिक संस्था बिहीबारदेखि नै बन्द गरेको थियो । यस्तै, चुनावसँग सम्बन्धितबाहेकका अन्य सरकारी तथा निजी कार्यालय बन्द भएपछि सर्वसाधारण मतदानका लागि आ–आफ्नो क्षेत्रतर्फ गएका थिए ।
पछिल्लो २४ घन्टामा दुई हजार एक सय ९४ सवारीसाधनमार्फत आठ हजार दुई सय ९१ यात्रु उपत्यका भित्रिएका छन् । नोटिस नै हुने गरी उपत्यकाबाहिरबाट आउने बढेका छैनन् । आज बल्ल हिँडे होलान् । भोलिदेखि आउने क्रम वृद्धि होला ।