जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकामा रहेका ६६ मतदान केन्द्रमध्य छायानाथ रारा नगरपालिकाका मतदान केन्द्रका मतपेटिका मात्रै आजै सदरमुकाम ल्याइने भएको छ।
खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगम कार्मारोङ गाउँपालिकाका मतपेटिका पैदलै सदरमुकाम लग्नु पर्ने बाध्यता छ।
सुरुमा हेलिकोप्टरको व्यवस्था गरिने भनिए पनि हेलिकोप्टरको व्यवस्थापन हुन नसक्ने भएपछि खत्याड, सोरु र मुगम कार्मारोङ गाउँपालिकाका मतपेटिका पैदलै ल्याउनुपरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए।
खत्याड गाउँपालिकाका धेरैजसो मतदान केन्द्रबाट सदरमुकाम पुग्न एकदेखि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ।
त्यस्तै मुगम कार्मारोङ गाउँपालिकामा रहेका सबैजसो मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम पुगाउन एकदेखि तीन दिनसम्म लाग्छ।
सोरु गाउँपालिकाका धेरै जसो मतदान केन्द्रबाट पनि मतपेटिका सदरमुकाम ल्याउन दुईदिन पैदल हिँड्नुपर्छ। गत असोजमा आएको बाढीले अत्याधिक ठाउँमा बाटो बिगारेको छ। पैदल यात्रा गर्न समेत निकै कष्ट र जोखिम हुने देखिएको छ।
जिल्लाको छायानाथ रारा नगरपालिकाका मतपेटिका आजै रातिसम्म सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए। अन्य तीन पालिकाको मतपेटिका भोलि बेलुकी तथा पर्सिसम्म सदरमुकाम आइपुग्ने उनले बताए।