तुलसीपुर उपमहानगरपालिका– १० स्थित पातुबनगाउँ मावि ‘ग’ मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ। प्रतिनिधिसभाको नदिएर प्रदेश सभाको मात्रै पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो।
दाङ ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत नै बदर गरी पुनः मतदान कार्य सुचारु गरिएको छ।
अधिकृत न्यौपानेका अनुसार दोस्रोपटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि अहिले मतदान कार्य रोकिएको थियो।
कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ। सोही मतदान केन्द्रमा ७ सय ६८ मतदाता रहेका छन्। दिउँसो पौने १ बजेतिर पुनः मतदान सुरु भएको हो।