कांग्रेसका नेता प्रकाशमान सिंहले आफू आसन्न निर्वाचनमा विजयी भए काठमाडौंमा पानीको वैकल्पिक स्रोत पहिचान गरी पानीको समस्या समाधान गर्ने बताएका छन्।
सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरे।
सिंहले काठमाडौंवासीलाई आसन्न निर्वाचनमा काठमाडौं जिल्लाबाट विजयी हुने उम्मेदवारहरूले पानीको वैकल्पिक स्रोतको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए। उनले काठमाडौंमा पानीको समस्या समाधान गर्न सत्तागठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने भन्दै आसन्न निर्वाचनमा सत्तागठबन्धनमा उम्मेदवारहरूलाई जिताउन आग्रह गरे।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा विकास गर्नका लागि पर्याप्त ठाउँ र कामहरू रहेकाले सत्तागठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई विजय गराउनुपर्नेमा जोड दिए।
गठबन्धनले जितेको खण्डमा मात्रै निर्वाचन क्षेत्रका समस्या समाधान हुने पनि भन्दै उनले भने, ‘पानीको लागि अब काठमाडौंमा जित्नेहरूले वैकल्पिक पानीको स्रोत पहिचान गरी पूरापुर सदुपयोग गर्न काम गर्नुपर्छ। हामी त्यसका काम गर्नेछौँ। हामीले प्रविधिलाई प्रयोग गरी पानी संकलन गरेर काठमाडौंभर पानी दिन सक्ने क्षमता बनाउन वैकल्पिक पानीको केन्द्रहरू अघि बढाउँछौँ।’
नेता सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को पुरानो साँखु सहरको सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए। नेता सिंह सत्तागठबन्धनको साझा उम्मेदवारको रूपमा कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हुन्।