१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Saturday, 28 September, 2024
२o७९ कार्तिक २८ सोमबार १५:५o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

एमाले-माओवादी भिडन्तमा बागीको प्रवेश, कसको पल्ला भारी ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १५:५o:oo

बैतडीमा एउटै जिल्लावासी एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी र माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नरेन्द्रबहादुर कुँवरको संसदीय राजनीति रोचक छ । यी दुई नेता संसदीय चुनावमा कहिले प्रतिस्पर्धी बनेका छन् त कहिले सहकर्मी बनेर जिताएका छन्  । 

राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन भनेझैँ यी दुई नेतालाई भिडाउने वा मिलाउने टुंगो पनि केन्द्रीय राजनीतिको समीकरणले लगाउँदै आएको छ ।

भण्डारी र कुँवर ०६४ यता दुईपटक भिडेका छन् भने एकपटक सहयात्रा गरे । दुई प्रतिस्पर्धामा एक–एकपटक जितेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता बैतडीबाट उम्मेदवार छन्, फरकफरक दलबाट ।

पुरचौडी नगरपालिका– ५ का कुँवरले संविधानसभा निर्वाचन ०६४ मा तत्कालीन बैतडी– १ बाट भण्डारीलाई झन्डै तेब्बर मतान्तरले पराजित गरे । कुँवर २७ हजार एक सय ३० मतसहित विजयी हुँदा भण्डारी नाै हजार ५९ मतमा खुम्चिए । 

यी दुई नेताबीच दोस्रो संविधानसभा निर्वाचन ०७० मा पनि प्रतिस्पर्धा भयो । भण्डारीले कुँवरसँग बदला लिए । भण्डारी ११ हजार ६ सय ७२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज अवस्थीले १० हजार तीन सय १४ मत ल्याए । कुँवर नाै हजार तीन सय ६ मतसहित तेस्रोमा झरे ।

०७० सम्म दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा ७४ मा एउटा मात्र क्षेत्र कायम गरियो  ।  ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने भण्डारी र कुँवरले सहयात्रा गरे । केन्द्रीय राजनीतिमा एमाले र माओवादी गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा जाँदा बैतडीमा एमालेका भण्डारीले टिकट पाए । कुँवर भण्डारीलाई भोट माग्दै हिँडे  । र, भण्डारी ११ हजार दुई सय ३३ को मतान्तरले विजयी भए । भण्डारीले ३९ हजार पाँच सय २४ मत पाउँदा कांग्रेसका नरबहादुर चन्द २८ हजार दुई सय ९१ मतमा सीमित बने । 

अहिले परिस्थिति ठ्याक्कै उल्टिएको छ । सत्तारूढ गठबन्धन बनेपछि माओवादी नेता कुँवर कांग्रेस र एकीकृत समाजवादीको सहयोगमा चुनावी मैदानमा छन्  । भण्डारी एमालेबाट चुनावी प्रतिस्पर्धामा छन्  । भण्डारी एमालेको विद्यार्थी संगठन हुँदै राजनीतिमा उदाएका हुन् भने कुँवर माओवादी विद्रोहको जगबाट उठेका नेता हुन् ।

भर र डर : कांग्रेसका बागी
०६४ यताका तीन निर्वाचन हेर्दा बैतडीमा एमाले, कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी हुन् । पछिल्लोपटक ०७४ को चुनावमा एमाले र माओवादी मिल्दा कांग्रेस मुख्य प्रतिस्पर्धी थियो । 

बैतडीमा यसपटक गठबन्धनबाट कांग्रेसले टिकट पाउने अपेक्षा जिल्ला नेताहरूको थियो । तर, माओवादीका कुँवरले टिकट पाउँदा कांग्रेसका असन्तुष्ट पक्षधरका केशवबहादुर चन्द बागी उम्मेदवार बनेका छन् ।

पाटन नगरपालिकाका पूर्वमेयर तथा पूर्वसहायकमन्त्रीसमेत रहेका चन्दको उम्मेदवारीले कुँवरमाथि चुनौती थपिएको छ  । चन्दले मत काट्दा त्यसको फाइदा एमालेले लिन सक्ने भय गठबन्धनमा छ ।  महिला तथा समाज कल्याण सहायकमन्त्री समेत रहेका चन्दलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाट निष्कासित गरिसकेको छ । 

कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दसहित कांग्रेसको पूरै संगठन र माओवादी चुनावी अभियानमा होमिएकाले आफू जित्ने आधार बलियो भएको कुँवरको दाबी छ ।  ‘सिंगो कांग्रेस पंक्ति मेरो साथमा छ, बागीको खासै प्रभाव छैन,’ जित्ने आधार देखाउँदै कुँवर भन्छन् ‘गठबन्धन एक ढिक्का छ, यही जितको आधार हो ।’

कुँवरले झुलाघाँटमा पक्की पुल बनाउने, पाटनलाई नमुना सहर, महाकाली करिडोर स्तरोन्नति गर्नेलगायत योजनाका साथ भोट मागिरहेका छन् । 

एमालेका प्रदेश अध्यक्ष भण्डारी कांग्रेसभित्रको आन्तरिक मनमुटाव नै चुनाव जित्ने आधार भएको दाबी गर्छन् । १० वर्षमा जिल्लामा गरेका काम, एक ढिक्का भएर खटिएका एमालेका नाै हजार सक्रिय कार्यकर्ता र मतदातासँगको निकटता जितको अर्को आधार भएको भण्डारीको भनाइ छ । 

‘एमाले आफैँमा राष्ट्रवादी शक्तिको रूपमा चिनिएको पार्टी हो,’ एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा चुच्चे नक्सालगायतका कामबारे बताउँदै नेता भण्डारी भन्छन्, ‘वितेको १० वर्षमा बैतडीवासीसँग निकट भएर देखिने काम गरेको छु, त्यसैले म जित्छु ।’ 

भण्डारीले बितेको दशकमा पाटन विमानस्थल, पाटन–पञ्चेश्वर सडक, महाकाली करिडोरलगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइको क्षेत्रमा काम भएको दाबी गरेका छन् ।  

कांग्रेसका बागी उम्मेदवार चन्द भने पार्टीको मत आफूले पाउने दाबी गर्छन् । ‘टिकट वितरणमा अन्याय भएको छ, रुष्ट कार्यकर्ताको भोट माओवादीलाई होइन, कांग्रेसकै नेतालाई आउँछ, म जित्छु,’ उनले भने ।

कसको पल्ला भारी ?
बैतडीका एक लाख ५० हजार एक सय ५६ मतदाता माझ एमाले र कांग्रेसको जनआधार करिब बराबरी अवस्थामा देखिन्छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले १० मध्ये ६ पालिका जितेको थियो । ३० वैशाख ०७९ को चुनावमा पाटन र पुर्चाैडी नगरपालिका तथा शिवनाथ र सिगास गाउँपालिका गरी चार पालिकामा झरेको छ । 

पाँच वर्षअघि तीन गाउँपालिका मात्र जितेको एमालेले यसपल्ट दशरथचन्द नगरपालिकासहित पञ्चेश्वर, दोगडाकेदार र सुर्नयाँ गाउँपालिकामा जित हात पारेको छ । 

मेलौली नगरपालिका माओवादी केन्द्र र डिलासैनी गाउँपालिकामा एमालेबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार विजयी बने  । 

जिल्लाका ८४ वडामध्ये एमालेले ३५, कांग्रेसले ३३ र माओवादी केन्द्रले १२ तथा स्वतन्त्रले तीन वडा र राप्रपाले एक वडामा जित हात पारेका छन् । 

वडाध्यक्षले पाएको मत हेर्दा एमालेको ३५ हजार ४४ र कांग्रेसको ३३ हजार तीन सय ४२ छ । माओवादी केन्द्रसँग १४ हजार नाे सय ४७ मत रहेको देखिन्छ भने समाजवादीको एक हजार आठ सय नाै मत छ ।