मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक २८ सोमबार o६:४३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागीप्रति ठूला दलको रवैया : कोही कठोर, कोही उदार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार o६:४३:oo

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवारप्रति कोही दल कठोर देखिएका छन् भने कसैले उदारता देखाएका छन् । आफ्नो अनुकूलता हेरेर ठूला दलले बागीवारे निर्णय लिएका छन् । कांग्रेस र माओवादीले बागीलाई धमाधम कारबाही गरेका छन् भने एमाले र एकीकृत समाजवादीले अझै ‘मौका’ दिइरहेका छन् । पूर्वसांसद र केन्द्रीय सदस्यसहित ७७ बागीलाई कांग्रेसले निष्कासित गरेको छ । माओवादीले पनि केन्द्रीय सदस्यसहितका नेतामाथि कारबाही गरेको छ । 

कांग्रेसले दुईपटकसम्म मौका दिँदा पनि उम्मेदवारी कायम राख्नेहरूलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । यसरी कारबाहीमा पर्ने केन्द्रीय सदस्यमा दिनेश कोइराला, निवर्तमान सांसद अमरेशकुमार सिंह, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाहसहित ७७ उम्मेदवार छन् । कोइरालाले चितवन ३ मा माओवादी उम्मेदवार डा. भोजराज अधिकारीविरुद्ध, सिंहले सर्लाही ४ मा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायविरुद्ध, शाहले सल्यानबाट उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक आनन्द ढुंगानाका अनुसार दुईपटकसम्म मौका दिँदा पनि उम्मेदवारी कायम राख्नेलाई कारबाही गरिएको हो । कांग्रेसले ७७ जना यस्ता उम्मेदवारलाई कारबाही गरेको उनले जानकारी दिए । 

ढुंगानाले उम्मेदवारका प्रस्तावक र समर्थकको नाम भने संकलन भइरहेको बताए । ‘कांग्रेसले उम्मेदवारी फिर्ताको अवधिमा फिर्ता लिन र उम्मेदवारीको फिर्ताको अवधि सकिएपछि उम्मेदवारी निष्क्रिय गरेर पार्टीका आधिकारिक या गठबन्धनका साझा उम्मेदवारलाई समर्थन गर्ने समय दिएको थियो । ती उम्मेदवारका प्रस्तावक र समर्थकको नाम पनि जिल्लाबाट संकलन भइरहेको छ । संकलन भएपछि सार्वजनिक गर्छौँ,’ उनले भने ।  कांग्रेस विधानको धारा ३४ को उपधारा ४ (क) मा बागी उम्मेदवार, तिनका समर्थक र प्रस्तावकलाई पाँच वर्षका लागि साधारण सदस्यताबाट निष्कासनको कारबाही गर्ने स्पष्ट व्यवस्था रहेको छ । 

२३ असोजमा उम्मेदवारी दर्ताका क्रममा टिकट नपाएर असन्तुष्टि जनाउँदै कांग्रेसको निर्णयविपरीत उम्मेदवारी परेका थिए । २५ असोजमा कांग्रेसले २६ असोजमा उम्मेदवारी फिर्ताको अवधिमा फिर्ता गर्न र नगरे कारबाहीको चेतावनी दिएको थियो । सोही दिन सत्तागठबन्धनका शीर्ष नेताले संयुक्त विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ताको समयभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । फिर्ता नगरे सम्बन्धित पार्टीले निष्कासनको कारबाही गर्ने निर्णय गरेका थियो । 

२६ असोजमा उम्मेदवारी फिर्ताको अवधि सकिएपछि नाम र संख्या उल्लेख नगरी उम्मेदवार, समर्थक र प्रस्तावकलाई कारबाही गरिएको सूचना निकालेको थियो । तर, लगत्तै २७ असोजमा दोस्रो मौका दिँदै उम्मेदवारी निष्क्रिय पारे कारबाही नगर्ने जानकारी गराएको थियो । माओवादीले पनि अझै उम्मेदवारी निष्क्रिय पार्नेलाई कारबाहीको भागीदार नबनाउने बताएको छ । महासचिव देव गुरुङ गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय भएको बताउँछन् । यससँगै माओवादीले पनि कारबाहीको निर्णय गरेको उनको भनाइ छ ।

संख्याबारे जानकारी नभएको उनले जानकारी दिए । ‘पार्टी निर्णयविपरीत गठबन्धन र माओवादी केन्द्रविरुद्ध परेका बागी उम्मेदवार बनेकालाई गठबन्धनबाट सम्बन्धित दलले कारबाही गर्ने भन्ने विज्ञप्ति आइसकेको छ,’ उनी भन्छन्, ‘अझै उम्मेदवारी निष्क्रिय पारेर आधिकारिक उम्मेदवारलाई समर्थन नगरे कारबाही गर्छौँ ।’ 

एकीकृत समाजवादीले भने बागी उम्मेदवारले उम्मेदवारी निष्क्रिय गरे अझै अवस्था हेरेर कारबाही छुट गर्ने बताएको छ । उपमहासचिव बेदुराम भुसालले केही संख्यामा यस्ता उम्मेदवारी रहेको बताए । ‘केहीलाई कारबाही गरेका छौँ । करिब सात जनाको संख्यामा यस्ता उम्मेदवारी बाँकी छन् । उम्मेदवारी निष्क्रिय गरे अझै अवस्था हेरेर कारबाही छुट दिन्छौँ,’ उनले भने । 

एमालेले बागी उम्मेदवारी फिर्ता लिनका लागि समय बाँकी रहेको बताएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भएका केही स्थानमा फिर्ता गरेको र बाँकी भएकालाई उम्मेदवारी निष्क्रिय गर्ने समय दिने बताए । तर, एमालेमा बागीको समस्या ठूलो नरहेको उनको दाबी छ । उनले कति स्थानमा बागी उम्मेदवारी परेका छन् भन्नेबारे भने जानकारी नभएको बताए । 

‘एमालेमा आमरूपमा बागी उम्मेदवारको समस्या छैन । भएका केही स्थानमा सम्झाइबुझाई गरेर फिर्ता गराइसकेका छौँ । पार्टी नै छाडेर जानेलाई त कारबाही केही भन्नु छैन,’ रिजालले भने, ‘प्रभु साह र घनश्याम भुसाललाई कारबाही गरिसकेका छौँ । तर, अवस्था हेरेर पार्टीलाई समर्थन गर्नेलाई अझै ‘चान्स’ दिन्छौँ । कतै बाँकी भए उम्मेदवारी निष्क्रिय गर्न अझै समय छ ।’ 

एमालेमा रौतहट ३ मा एमालेको टिकट बुझेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै रौतहट ३ (ख) मा पनि एमालेबाट टिकट बुझेर कुन्दन कुसवाहले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देही १ बाट नेता घनश्याम भुसाल छविलाल विश्वकर्माविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका छन् । त्यस्तै, दाङ १ मा एमाले उम्मेदवार शान्ता चौधरीविरुद्ध एमाले नेतृ गंगा चौधरीको स्वतन्त्र उम्मेदवारी परेको छ । त्यस्तै, काठमाडौं ७ मा रामवीर मानन्धरले एमालेका श्यामकुमार घिमिरेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

सत्तागठबन्धनको निर्वाचन परिचालन समिति सचिवालय बैठकमा पनि बागी उम्मेदवारलाई कारबाही गर्नेबारे छलफल भएको थियो । बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा बागीलाई कारबाहीमा भएको ढिलाइ र निर्वाचनमा गठबन्धनलाई सक्रिय बनाउने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतका अनुसार कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गरिसकेकाले अन्य दलले पनि तत्काल कारबाही गर्नुपर्ने विषय उठेको थियो ।