सानिमा बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बिच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
अली पेको नेटवर्कमा आबद्ध सदस्य वालेटमार्फत नेपाल पे मर्चेन्टका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्न यी दुई संस्थाबिच सम्झौता भएको हो । यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकाले नेपाल आउने पर्यटकलाई सहज हुने बैंकले जनाएको छ ।
नेपालमा रहेको नेपाल पे क्युआर मर्चेन्टमा अली पे नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ । चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपाल पे क्युआरमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।
एनसिएचएलले अली पेसँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रूपमा आबद्ध भई दुई नेटवर्कबिच भुक्तानी सुचारु गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ । यस पहलअनुरूप अब सानिमा बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्न सकिनेछ ।