मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार o९:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतले विद्युत् नदिएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार o९:२१:oo

चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् कटौती गरिएको छ । 

हिउँदमा नदीहरूको पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एकतिहाइ घट्ने गर्छ । यही वेला भारतबाट विद्युत् आयात गरेर माग धान्ने गरिन्छ । तर, यसपालि पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

विद्युत् आयात नहुँदा अहिले औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि नौ बजेसम्म विद्युत् कटौटी गरिएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयको चार घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

‘पिक समयमा आयात अनुमति पाएका छैनौँ, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ,’ उनले भने । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर चार सय केभी क्रसबोर्डर प्रसारणलाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी प्रसारणलाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६ सय ५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।

तर, पिक समय साँझ पाँचदेखि रातको नौ बजेसम्म भने विद्युत् आयात गर्न स्वीकृति दिएको छैन । त्यसपछि ३ चैत ०८१ देखि १६ असार ०८२ (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ । 

सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठुलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पारे । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्‍याएको थियो ।

आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत–सम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी पिक समयको चार घण्टा चलाउन सकिन्छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्– 
माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयको चार घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था छैन ।