राष्ट्रिय जागृति क्लब इटहरीसँग टाइब्रेकरमा ४–२ ले चुक्दा भारतको जिटिए–११ दार्जिलिङ पहिलो झापा कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । डोमालाला राजवंशी रंगशालामा मंगलबार भएको खेलमा जागृतिका गोलरक्षक नीरज चौधरी नायक बनेका छन् । उनले जिटिएका दुई पेनाल्टी बचाएका थिए । जितसँगै जागृतिले सेमिफाइनलमा पुगेको छ । जागृतिका लागि टाइब्रेकरमा प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे । जागृतिका निसान लिम्बूको प्रहार क्रसबारमा ठोकिँदै फर्कियो ।
जिटिएका अंगद थापामगर र भाइचुङ राईको प्रहार जागृतिका गोलरक्षक चौधरीले उत्कृष्ट बचाए । आशिष देवान र प्रितम राईको प्रहार मात्र गोलमा परिणत भयो । झापा–११ फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा जागृति र दार्जिलिङबिचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो सीधै टाइब्रेकरबाट लिइएको हो । खेलमा सुरुवाती अग्रता जागृतिले लिएको थियो । जिटिएका डिफेन्सले विपक्षी जागृतिका प्रवेश बस्नेतलाई डिबक्समा मार्क गर्न नसक्दा उनले सुन्दर गोल गरेका थिए । उनले खेलको १७औँ मिनेटमा अग्रता गोल गरेका हुन् ।
६ मिनेटभित्र बराबरी गोल
जागृतिको अग्रता ६ मिनेट पनि टिक्न सकेन । खेलको २३औँ मिनेटमा दार्जिलिङका देवाशिष राईले मैदानको मध्य भागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै गोल गरे । उनको पहिलो प्रहार जागृतिका गोलरक्षक चौधरीले सुरुमा बचाए । चौधरीबाट रिबाउन्सलाई देवाशिषले दोस्रो प्रयासमा गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दार्जिलिङले सुन्दर पास खेल्दै बललाई नियन्त्रणमा राख्यो । दार्जिलिङसँग फिनिसरको अभाव देखियो । खेलको २६ औँ मिनेटमा कप्तान आशिष देवानको कर्नरमा ज्योति क्षेत्रीको हेडिङ गोल प्रयासलाई चौधरीले विफल पारे ।
खेलमा जागृतिले पनि गोल गर्ने अवसर सिर्जना गर्यो । खेलको पाँचौँ मिनेटमा डिबक्समा अनमार्क रहेका जागृतिका मिलन राईले विपक्षी गोलरक्षक निगम सिंहसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । जागृतिले खेलमा प्राप्त पेनाल्टीलाई समेत गोलमा परिणत गर्न सकेन । खेलको २०औँ मिनेटमा जिटिएका निवास रानाले बक्समा ह्यान्डबल गरेपछि जागृतिले पेनाल्टी पाएको थियो । जागृतिका मिलन राईको पेनाल्टी प्रहारलाई सिंहले उत्कृष्ट बचाउ गरे ।
१० खेलाडीमा सीमित जागृति
खेलको ६८औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित रह्यो । दार्जिलिङका गोलरक्षक सिंहलाई फल गरेपछि जागृतिका मिलन राईलाई रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिँदै मैदानबाहिर पठाए । १० जना खेलाडीमा सीमित रहेको जागृतिले जिटिएमाथि हाबी भएको थियो । प्रतियोगिताको मंगलबारको खेलमा जागृतिका गोलरक्षक चौधरी म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ पाए ।