कांग्रेसबाट कञ्चनपुरको बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी पालिकामा निर्वाचित स्थानीय तहका जनप्रतिनिधि (वडाध्यक्षहरू)ले भत्ताबापत आउने रकमबाट हात्ती आक्रमणमा परेका र बाढीपीडितका परिवारलाई राहत वितरण गरेका छन् । बेलडाँडी– १ का वडाध्यक्ष जगबहादुर विष्टले गत २४ असारयता आएको बाढी र असोजयता हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम वितरण गरिएको बताए । कांग्रेसका वडाध्यक्षहरूले हरेक महिना आफ्नो भत्ताबापत पाउने एक–एक हजार रुपैयाँ जम्मा परेर विपत्मा परी पीडित भएका परिवारलाई राहत वितरण गरिएको उनको भनाइ छ ।
विष्टका अनुसार चौधर नदीको बाढीले मृत्यु भएका बेलडाँडी गाउँपालिका– ५ इमलियाका कन्यावती राना र बेलडाँडी– ३ का डम्बर चौधरी, तलाउमा डुबेर मृत्यु भएका पुनर्वास– ५ का सिर्जना बोगटी, लक्ष्मी बोगटी, आरती बोगटीको परिवारलाई राहत रकम दिइएको छ । जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका लालझाडी– ४ का रामदल राना र बेलौरी– ६ का उमेश चौधरीको परिवारलाई रकम वितरण गरिएको छ । हात्ती र बाढीबाट मृत्यु भएका परिवारलाई जनही ५५ सय रुपैयाँका दरले वितरण गरिएको उनले बताए । ‘कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले हरेक महिना एक–एक हजार रुपैयाँ संकलन गरेका छौँ,’ उनले भने, ‘ठुलो विपत्मा परेका जनतालाई सक्दो राहत वितरण गरेका छौँ, यो कार्यक्रम निरन्तर अघि बढाउँछौँ ।’
कांग्रेसबाटै निर्वाचित बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशन्द्रचन्द्र राना, वडा नम्बर १ का अध्यक्ष जगबहादुर विष्ट, २ का वडाध्यक्ष नारद उ¥याल, ३ का वडाध्यक्ष दुर्गाप्रसाद चौधरी, ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्का, बेलौरी– ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, बेलौरी– ९ का वडाध्यक्ष किसनसिंह राना, पुनर्वास– १ का वडाध्यक्ष मोहनलाल राना, ५ का वडाध्यक्ष पदमबहादुर रोकाया, ७ का वडाध्यक्ष मूलचन्द्र राना र लालझाडी– ६ का वडाध्यक्ष हर्कनारायण जोशीसहितले मृतकको घरमै पुगेर आश्रित परिवारलाई राहत सहयोग गरेका छन् ।